६ प्रदेशका १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

बारा । विभिन्न ६ प्रदेशका १५ वटा जिल्लामा भोलि (बिहीबार) देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु हुँदैछ । फागुन ११ देखि २५ गतेसम्म ती जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन हुने भएको हो । सोही क्रममा बारा जिल्लामा पनि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम छ । यसका लागि आवश्यक तयारी पूरा भएको जिल्ला स्वस्थ्य कार्यालय बाराले जनाएको छ ।
यसअघिका अभियानमा धेरैले औषधि नखाइदिने समस्या देखिएकाले यसपटक स्वास्थ्यकर्मीकै अगाडि औषधि खानुपर्ने व्यवस्था गरिएकोे स्वास्थ्य कार्यालयकी कर्मचारी सुजिता फुयालले बताइन् । हात्तीपाइले शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।
रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख रवि भाष्करले जनाए । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि सेवन गर्नु नहुने उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
विगतका वर्षहरुमा कतिपयले औषधि नखाइदिने गरेका कारण हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुन नसकेको जनस्वास्थ्य शाखा प्रमुख भाष्करले जनाए । दश वर्ष लगातार औषधि खुवाएपछि ‘प्रि टास्क सर्भे’ गरेर अर्को वर्ष औषधि खुवाएर रोग निवारण गर्ने रणनीति असफल भएकाले ११ औँ पटक जिल्लामा औषधि खुवाउन लागिएको हो ।
सरकारले बारासँगै ६ वटा प्रदेशका १५ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । मेयर, उपमेयर, वडा अध्यक्ष र प्रभावशाली व्यक्तित्वहरुलाई औषधि खुवाएर अभियान सुरु गर्ने जनाइएको छ । भोलिदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुँदैछ । हात्तीपाइले रोगलाई सन् २०३० सम्ममा निवारण गर्ने संकल्पका साथ अभियान संचालन गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत जितन ठाकुरले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा