अरुणका कालजयी गीत गुन्जिँदा...
पाेखरा । गायक अरूण थापामगर अल्पआयु बाँचे । तर, उनी आफ्ना गीतहरूमा सधैँ अमर छन् । नेपाली सुगम सङ्गीतका मूर्धन्य प्रतिभा थापामगरको मङ्गलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उनको सम्झना गरियो । नेपाल मगर विद्यार्थी सङ्घ, बागलुङले ‘अरूण स्मृति साँझ’ आयोजना गर्यो । जहाँ अरुणका कालजयी गीतहरू गुन्जिए ।
कलाकारहरूले ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’बाट सुरु गरी ‘यो मनको के भर हुन्छ’ मा पुगेर आफ्नो प्रस्तुति टुङ्ग्याए । पहिलो गीत सूर्य घताने, किशोर थापा, मीना हमाल ठकुरीलगायतले सुनाए । दोस्रो लहरमा प्रस्तुत भयो, गायक थापामगरले आफ्नो जीवनकालमा गाएको एउटा मात्र भजन ‘तिमी राम राम भजी बाँच’ । जसलाई गायक सूर्य घतानेले गाए । उनले अरुणका चर्चित गीत ‘चोट के हो व्यथा के हो’, ‘यो मनको के भर हुन्छ’, ‘आँखाको निद खोसी’ लानेलगायत प्रस्तुत गरे ।
प्रेम पुनले ‘साँझको जूनसँगै आउँछ्यौ कि भनेर’, किशोर थापाले ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’ र ‘तिमी हेर्छौ भने’ गाए । प्रेम बुढामगरले ‘जति माया लाए पनि’ र ‘म रोए पनि तिमी हाँसिदिनु’, प्रस्तुत गरे । प्रकाश थापामगरले ‘भुलुँभुलुँ लाग्यो मलाई’ र मन्जुल शाक्यले ‘अनौठो व्यथा भएछ’ गाए ।
स्मृति साँझमा उनका दर्जन बढी चर्चित गीत प्रस्तुत गरिएको थियो । वाद्यवादनमा कलाकार सूर्य घताने, मन्जुल शाक्य, गौतम नाइसा मगर, अभय छन्त्याललगायतले साथ दिए ।
आफ्ना प्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध बने । राति अबेरसम्म सङ्गीतमा झुमिरहे । अरूणका गीत गुन्जिरहँदा दर्शकदीर्घामा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो । उनका गीत युवा पुस्तामाझ बढी लोकप्रिय छन् । अरूणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ ।
प्रेम र वैवाहिक सम्बन्धको दुःखान्त अन्त्यपछि गायक थापाले ‘जति माया लाए पनि’, ‘चोट के हो व्यथा के हो’जस्ता लोकप्रिय गीत गाएका थिए । अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौँ’ बीबीसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो । नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ । अरुणले आफ्नो जीवनकालमा झण्डै ५० गीत गाएका छन् ।
कार्यक्रममा नेपाल मगर सङ्घका जिल्ला सचिवालय सदस्य सङ्गम घर्तीलेमगरले अरुणको व्यक्तित्वबारे चर्चा गरेका थिए । उनले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रूपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गरे । “सुरुको कालखण्ड सुखद् रहे पनि अरुण थापाको जीवन वियोगान्त ढङ्गले टुङ्गिन पुग्यो”, उनले भने, “उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपर्थ्याे तर आज मगर समुदायले मात्र सम्झनुपर्ने विडम्बनापूर्ण अवस्था छ ।”
कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य रेनुका काउचा मगरले अरणका गीत सधैँ अमर भएर रहने बताए । “उनका गीत सदावहार छन्, भौतिक रूपमा हामीबीच नरहे पनि अरुण थापा हाम्रो स्मृतिमा सधैँ जीवित हुनुहुन्छ”, उनले भने । कार्यक्रममा ख्याली, झ्याउरे, सोरठी, थाली, सालैजो, कौराहालगायत मौलिक गीत तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा कलाकारहरूलाई सम्मानसमेत गरिएको थियो ।
विसं २००९ माघ ११ गते भारतको कोलकातामा जन्मनुभएका अरुणको २०५६ साल साउन ५ गते काठमाडौँको एक होटलमा देहान्त भएको थियो । जीवनको आखिरीतिर गम्भीर रूपमा अस्वस्थ भई उनले मुत्युवरण गर्नुपरेको थियो । उनले नेपाली सुगम सङ्गीतलाई थोरै तर कालजयी गीतहरू छोडेर गएका छन् । अरुणले २०३२ सालमा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराएका थिए ।
यही गीतबाट अरुणको साङ्गीतिकयात्रा सुरु भएको थियो । उनको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरूमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । गायक थापाको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी सङ्घका अध्यक्ष कृष्ण अठारे मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण