क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
सारांश
- क्ल्याक्टन उपनिर्वाचनमा नाइजल फराजले सांसद पदबाट राजीनामा दिएर पुनः चुनाव लड्ने निर्णय गरेका छन्, जसलाई समर्थकले जनताको अदालतमा वैधता प्रमाणित गर्ने कदम मानेका छन् भने आलोचकले राजनीतिक रणनीति भनेका छन्।
- बेलायतमा सांसदले पद त्याग्नका लागि ऐतिहासिक पद स्वीकार्नुपर्ने कानुनी व्यवस्था छ, जसले गर्दा उपनिर्वाचन हुने गर्छ र पूर्वसांसद पुनः उम्मेदवार बन्न सक्छन्।
- यो उपनिर्वाचनले बेलायती राजनीतिमा नयाँ शक्तिहरूको उदय, स्थापित दलहरूको प्रभाव र लोकतन्त्रमा जनताको निर्णयको शक्तिलाई परीक्षामा पार्नेछ।
लोकतन्त्रमा कुनै पनि जनप्रतिनिधिको वास्तविक शक्ति भनेकै जनताको भरोसा हो। कुनै नेता पद, प्रतिष्ठा वा शक्तिको बलमा होइन, बरु जनताले दिएको समर्थनका आधारमा मात्र बलियो हुन्छ।
कहिलेकाहीँ राजनीतिमा यस्तो मोड आउँछ, जहाँ निर्वाचित प्रतिनिधिले आफ्नो पद छोडेर फेरि जनताकै बीचमा जानुपर्ने अवस्था सिर्जना हुन्छ। बेलायतको क्ल्याक्टन उपनिर्वाचन अहिले ठ्याक्कै त्यस्तै एउटा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा चर्चामा छ।
यो केवल एउटा नयाँ सांसद छान्ने प्रक्रिया मात्र होइन, बरु बेलायती राजनीतिमा नयाँ शक्तिहरूको उदय, जनताको बदलिँदो सोच, स्थापित दलहरूको प्रभाव र लोकतन्त्रमा जनताको निर्णय कति शक्तिशाली हुन्छ भन्ने कुराको एउटा ठूलो परीक्षा पनि हो।
यस उपनिर्वाचनको मुख्य पात्र नाइजल फराज हुन्। उनले क्ल्याक्टन क्षेत्रको सांसद पदबाट राजीनामा दिएर फेरि त्यहीँबाट चुनाव लड्ने निर्णय गरेका छन्। उनका समर्थकहरूका लागि यो जनताको अदालतमा गएर आफ्नो राजनीतिक वैधता पुनः प्रमाणित गर्ने एउटा साहसी कदम हो। उनीहरूको तर्क छ कि यदि कुनै नेतामाथि प्रश्न उठ्छ भने उसले मतदातासामु गएर प्रत्यक्ष रूपमा आफ्नो समर्थन माग्नु नै लोकतन्त्रको वास्तविक अभ्यास हो।तर आलोचकहरूले भने आर्थिक पारदर्शिता, राजनीतिक चन्दा र संसदीय आचारसंहितासँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको बीचमा उनको यो कदमलाई एउटा राजनीतिक रणनीतिका रूपमा हेरेका छन्।
नाइजल फराजले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन्। उनको तर्क छ कि आफ्नो राजनीतिक भविष्यको अन्तिम फैसला गर्ने अधिकार जनतालाई नै छ। त्यसैले संसदभित्रका बहस र विवादमा अल्झिनुभन्दा उनले प्रत्यक्ष रूपमा मतदाताको निर्णय खोज्ने बाटो रोजेका छन्। अब क्ल्याक्टनका मतदाताले नै उनलाई फेरि विश्वास गर्ने कि नयाँ राजनीतिक सन्देश दिने भन्ने कुराको टुङ्गो लगाउनेछन्।
बेलायतको संसदीय प्रणालीमा सांसदले पद छाड्ने प्रक्रिया निकै रोचक र ऐतिहासिक छ। नेपाल लगायत धेरै देशहरूमा सांसदले सभामुख वा सम्बन्धित निकायसमक्ष राजीनामा बुझाएपछि पद खाली हुन्छ। तर बेलायतमा भने सांसदले सिधै “म राजीनामा दिन्छु” भनेर पद त्याग गर्न मिल्दैन।यो व्यवस्था बेलायती इतिहाससँग जोडिएको छ। सन् १६२४ को एउटा कानुनी प्रावधानअनुसार, यदि कुनै सांसदले राजसंस्था (क्राउन) अन्तर्गतको कुनै पद स्वीकार गरेमा उसको सांसद पद स्वतः समाप्त हुने व्यवस्था थियो। त्यस समयमा राजाले सांसदहरूलाई सरकारी पद दिएर आफ्नो प्रभावमा पार्न सक्ने डर थियो। त्यसैले संसदको स्वतन्त्रता जोगाउन यस्तो नियम बनाइएको थियो।
समय बित्दै जाँदा यही व्यवस्था सांसदहरूले स्वेच्छाले पद त्याग गर्ने माध्यम बन्यो। अहिले कुनै सांसदले पद छोड्न चाहेमा उसले “स्टुअर्ड एण्ड बेलिफ अफ द चिल्टर्न हन्ड्रेड्स” वा “क्राउन स्टुअर्ड एण्ड बेलिफ अफ द म्यानर अफ नर्थस्टिड” जस्ता ऐतिहासिक पदहरू स्वीकार गर्छ।यी पदहरूको अहिले कुनै खास प्रशासनिक काम छैन, तर कानुनी रूपमा सांसद पद खाली गराउन यिनैको प्रयोग गरिन्छ। त्यसपछि सम्बन्धित क्षेत्रमा उपनिर्वाचन हुन्छ। तर पद त्याग गर्नु भनेको राजनीतिबाट सधैँका लागि बाहिरिनु होइन। पूर्वसांसद फेरि उम्मेदवार बन्न सक्छन् र जनताले पुनः विश्वास गरे भने उनीहरू फेरि संसदमा फर्कन सक्छन्।
क्ल्याक्टन क्षेत्रले बेलायती राजनीतिमा सधैँ विशेष स्थान राख्दै आएको छ। सन् २०१४ मा डगलस कार्सवेलले कन्जरभेटिभ पार्टी छोडेर UKIP (युके इन्डिपेन्डेन्स पार्टी) मा प्रवेश गरेपछि सांसद पद त्याग गरेका थिए। त्यसपछि उनले पुनः क्ल्याक्टनबाट चुनाव जितेर बेलायती संसदमा UKIP लाई एउटा ऐतिहासिक सफलता दिलाएका थिए।त्यस घटनापछि क्ल्याक्टनलाई परम्परागत दलहरूभन्दा बाहिरका राजनीतिक शक्तिहरूको प्रभाव परीक्षण गर्ने क्षेत्रका रूपमा हेर्न थालियो। अहिले नाइजल फराज र रिफर्म युकेका लागि पनि क्ल्याक्टन त्यस्तै एउटा राजनीतिक परीक्षास्थल बनेको छ।
यस उपनिर्वाचनको अर्को चाखलाग्दो पक्ष भनेको प्रमुख राजनीतिक दलहरूको निर्णय हो। लेबर पार्टी, कन्जरभेटिभ पार्टी, लिबरल डेमोक्र्याट्स र ग्रीन पार्टीले यस चुनावमा उम्मेदवार नउठाउने निर्णय गरेका छन्।उनीहरूको भनाइ छ कि यो चुनाव सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा बढी नाइजल फराजको व्यक्तिगत अभियान जस्तो देखिएको छ। फराजले सांसद पदबाट राजीनामा दिएर फेरि चुनाव लड्ने निर्णय गर्दा उनीमाथि आर्थिक विवरण, चन्दा र संसदीय आचारसंहितासम्बन्धी प्रश्नहरू उठिरहेका थिए। त्यसैले यो चुनावले स्थानीय मुद्दाभन्दा फराजकै राजनीतिक विवादलाई बढी केन्द्रमा ल्याउने उनीहरूको धारणा छ।
तर ठूला दलहरूले उम्मेदवार नउठाउने निर्णय गर्नु बेलायती राजनीतिमा असामान्य घटना हो। यसले बेलायती राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ। आलोचकहरूले , यदि कुनै पार्टीले लोकतन्त्रमा विश्वास गर्छ भने उसले चुनावी प्रतिस्पर्धाबाट किन टाढा रहने? भन्ने प्रश्न उठाएका छन।तर मुख्य दलहरुले भने यो निर्वाचनमा सहभागी भएर फराजले खोजेको राजनीतिक मञ्च उपलब्ध गराउन उनीहरू चाहँदैनन्।
यस निर्वाचनमा कुल ३४ जना उम्मेदवार मैदानमा छन्, जसले यसलाई बेलायती संसदीय इतिहासमा सबैभन्दा धेरै उम्मेदवार भएको निर्वाचनमध्ये एक बनाएको छ। यसअघि सन् २००८ को हाल्टेमप्राइस र हाउडेन उपनिर्वाचनमा २६ जना उम्मेदवार थिए।
यद्यपि उम्मेदवारको संख्या धेरै भए पनि वास्तविक राजनीतिक प्रतिस्पर्धा भने केही सीमित उम्मेदवारबीच केन्द्रित देखिन्छ। मुख्य उम्मेदवार नाइजल फराज भए पनि अन्य चर्चित उम्मेदवारहरूमा लरेन्स फक्स (द रिक्लेम पार्टी) र काउन्ट बिनफेस (काउन्ट बिनफेस पार्टी) रहेका छन्।त्यस्तै अफिसियल मोन्स्टर रेभिङ लूनी पार्टी, सोसल डेमोक्रेटिक पार्टी, ब्रिटिस डेमोक्रेट्स, रिजोइन ईयू (युरोपेली संघमा पुनः सामेल हुने अभियान) र यूके भ्वाइसले पनि उम्मेदवारी दिएका छन्। यसबाहेक धेरै स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा छन्।
यदि नाइजल फराजले चुनाव जिते भने के उनीमाथि लागेका सबै आरोपहरू स्वतः गलत साबित हुन्छन्? यो एउटा गम्भीर प्रश्न हो र यसको उत्तर त्यति सरल छैन।चुनाव जित्नु भनेको जनताले दिएको राजनीतिक समर्थनको बलियो प्रमाण हो, तर कुनै आरोप सही छ वा छैन भन्ने कुरा केवल अनुसन्धान, ठोस प्रमाण र कानुनी प्रक्रियाबाट मात्र तय हुन्छ।तर राजनीतिक रूपमा भने फराजका लागि चुनाव जित्नु ठूलो उपलब्धि हुनेछ। उनले यसलाई जनताले आफूमाथि पुनः भरोसा गरेको आधारका रूपमा प्रस्तुत गर्न सक्नेछन्। अर्कोतर्फ आलोचकहरूले चुनावी सफलता र कानुनी निष्कर्ष फरक फरक कुरा हुन् भन्ने तर्क गर्नेछन्।लोकतन्त्रमा जनताको मतको ठूलो महत्त्व हुन्छ, तर सत्यतथ्य र न्यायिक प्रक्रियाको मूल्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
यस घटनालाई रवि लामिछानेको चितवन २ उपनिर्वाचनसँग केही हदसम्म जोडेर हेर्न सकिन्छ। नागरिकता विवादका कारण रवि लामिछानेले सांसद पद गुमाएपछि उनी पुनः उपनिर्वाचनमार्फत जनताको समर्थन खोज्न मैदानमा आएका थिए।दुवै घटनामा एउटा समानता देखिन्छ, नेताहरूले आफ्नो राजनीतिक वैधता फेरि जनताबाटै प्राप्त गर्ने प्रयास गरिरहेका छन्। तर दुवैबीच आधारभूत फरक पनि छन्। रवि लामिछानेको हकमा अदालतको फैसलापछि उनी पदबाट अलग भएका थिए भने नाइजल फराजले आर्थिक अनियमितताका आरोपबीच आफ्नै निर्णयले पद त्यागेर नयाँ जनादेश खोजेका हुन्।
लेबर पार्टीले नयाँ नेतृत्व चयन गरेर प्रधानमन्त्री परिवर्तन गरिसकेको अवस्थामा नाइजल फराजले भने पुराना दलहरूको प्रभाव घटिसकेको र नयाँ राजनीतिक शक्तिलाई जनताको नयाँ जनादेश आवश्यक रहेको तर्क गर्दै आएका छन्।त्यसैले क्ल्याक्टन उपनिर्वाचन एउटा सांसद छान्ने सामान्य प्रक्रिया मात्र होइन। यो बेलायतको पुरानो संसदीय परम्परा, उदय हुँदै गरेको नयाँ राजनीतिक शक्ति, राजनीतिक जवाफदेहिता र लोकतन्त्रमा जनताको सर्वोच्च भूमिकाको एउटा ठूलो परीक्षा पनि हो।अब सबैको नजर क्ल्याक्टनका मतदातामा छ। उनीहरूले नाइजल फराजलाई पुनः विश्वास गर्छन् कि गर्दैनन् भन्ने निर्णय अगस्ट १३ गते त्यहाँका जनताले मतपेटिकामार्फत गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण