शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सहमतिमा राष्ट्रपति निर्वाचित भए देशको स्वाधिनता रक्षा हुन्छ : महासचिव गुरुङ

बिहीबार, ११ फागुन २०७९, २० : ४३
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउन सके देशको स्वाधिनताको रक्षा हुने बताएका छन् । बिहीवार रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधिनताको रक्षा हुने बताएका हुन् ।

उनले देशको स्वाधिनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने बताए । नेपाल शक्तिकेन्द्रहरुको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थमा दलहरुका बीचमा आपसी सहमति सहकार्य हुनुपर्नेमा जोड दिए । राष्ट्रपतिलाई साझा बनाउन सकेमा राष्ट्रियताको संवद्र्धन हुने उनको भनाई छ । 

उनले भने– ‘राष्ट्रपतिको सन्दर्भमा सबैको बीचमा आवश्यक सहमतिको आधारमा अगाडि बढौँ । संविधानको संरक्षण पनि हुनुपर्यो । गणतन्त्रको रक्षा पनि हुनुपर्यो । राष्ट्रिय स्वाधिनताको रक्षा पनि हुनुपर्यो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै दलले मान्ने प्रकारको, सबै दलले समर्थन गर्ने खालको पात्र हुनुपर्यो । त्यसो भयो भने बल्ल एकताको प्रतिक हुनसक्छ । राष्ट्रिय एकताको प्रवद्र्धक बन्नसक्छ । यो मोडेलमा जानुपर्छ ।’ 

उनले भने, ‘अहिले शान्ति प्रक्रियाको मुद्दा अड्किइराखेको छ । दलहरुका बीचमा सहमति र सहकार्य हुन नसकेको कारणले गर्दा यो प्रक्रिया अड्किएको छ । अबका दिनमा झन ठूला चुनौती आउँदैछन् । शक्ति केन्द्रहरुको इपिसेन्टरको रुपमा नेपाल बन्दैछ । यो अवस्थामा दलहरु बीचमा सहमति र सहकार्यबाट बन्न सक्यो भने नेपालको रक्षा हुन्छ । नेपालको स्वाधिनताको रक्षा हुन्छ । दलहरुका बीचमा सहमति र सहकार्य बन्न सकेन, एकले अर्कोलाई निषेध गर्ने, एकले अर्कोलाई समाप्त गर्ने, एकले अर्कोलाई बिस्थापित गर्ने, एकले अर्कोलाई भित्तामै पुर्याउने खालको अस्वस्थ प्रतिष्पर्धामा जान थाल्यो भने बाहिरी शक्तिकेन्द्रहरु त्यसैमा खेल्छन् । राष्ट्रपति सबैको साझा बनाउने प्रयास गरौँ । साझा मान्यता स्थापित गर्ने प्रयास गरौँ । त्यसो हुनसक्यो भने नै राष्ट्रियताको संवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह हुनेछ ।’

उनले राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने बताए । महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलहरुका बीचमा निरन्तर छलफल भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप