शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

ओलीले चेतावनी दिँदै भने–...नत्र भोलि नै सरकारबाट बाहिरिन्छौँ

शुक्रबार, १२ फागुन २०७९, २० : ३९
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार दिउँसो बालुवाटारमा भएको बैठक तिक्ततामा अन्त्य भएको छ ।  राष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने  दाबी लिएर प्रधानमन्त्री निवास पुगेका ओली सकारात्मक जवाफ नपाएपछि रित्तो हात फर्कन बाध्य भएका हुन् ।

शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले दिउँसो अध्यक्ष ओलीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डले आफूले अध्यक्ष ओलीलाई राष्ट्रिय सहमतिका लागि मनाउन नसकेको जानकारी नेताहरूलाई दिएको लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले रातोपाटीलाई जानकारी दिए ।

महतोका अनुसार अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेटमा पुस १० मा भएको सहमति स्मरण गराउँदै एमलेले राष्ट्रपति पाउनुपर्ने अडान दोहोर्‍याएका थिए । यता प्रधानमन्त्री प्रचण्डले भने सबै दलले एक–एक वटा महत्त्वपूर्ण पद लिएको र राष्ट्रिय सहमति गर्ने हो भने कांग्रेसलाई राष्ट्रपति पद दिन उपयुक्त हुने कुरा ओलीसमक्ष राखेका थिए । तर, ओलीले  पूर्व सहमति अनुसार एमालेले राष्ट्रपति पद नपाए भोलि नै सरकारबाट बाहिरिने चेतावनी प्रधानमन्त्रीलाई दिएका थिए ।

‘मैले एमालेलाई मनाउन सकिनँ,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै महतोले भने, ‘त्यसपछि ओलीजी रिसाएर बैठकबाट बाहिरिनुभयो ।’

आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने प्रस्ताव दोहोर्‍याएका थिए । ‘३२ सिट भएको माओवादीले प्रधानमन्त्री लिएको छ, एमालेले सभामुख पाएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको छ । राष्ट्रिय सहमति गर्ने हो भने संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति पाउनुपर्ने उपयुक्त देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डको भनाई थियो । आठ दलको बैठकले  प्रधानमन्त्रीको प्रस्तावलाई समर्थन जनाएको थियो । यसअघि राष्ट्रपति पदमा दाबी गर्दै आएको एकीकृत समाजवादी समेतले प्रधानमन्त्रीको प्रस्तावमा स्वीकृति जनाएको महतोले बताए ।

सबै दलले आफ्नो प्रस्तावमा समर्थन जनाएपछि प्रधानमन्त्री प्रचण्डले अब पुस १० को कोर्स करेक्सन भएको घोषणा गरेका थिए । कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको प्रधानमन्त्रीको भनाई थियो । उनले यसलाई अघि बढाउन, समृद्धि ल्याउन र एकताबद्ध भएर जान सबैलाई आग्रह गरेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका  प्रकाश ज्वालाले जानकारी दिए ।

ओलीसँग प्रचण्डको गुनासो

बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगबारे गुनासो समेत पोखेका थिए । ‘ओलीजीसँग सहकार्यका लागि धेरै प्रयास गरेँ । तर, सत्तारुढ गठबन्धनभित्र रास्वपा र राप्रपासँग छुट्टै साँठगाँठ गरेर ममाथि अनावश्यक दबाब  दिने काम भयो,’ बैठकमा सहभागी एक नेताले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘मलाई काम गर्नै दिएनन् । उहाँले फेरि एउटा अवसर गुमाउनुभयो । उहाँको दम्भले गर्दा नै कोर्स करेक्सन गर्न बाध्य भएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप