शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कोर्स करेक्सन गर्न बाध्य बनाइयो : प्रधानमन्त्री

शुक्रबार, १२ फागुन २०७९, २१ : ३१
शुक्रबार, १२ फागुन २०७९

 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोर्स करेक्सन गर्न बाध्य बनाइएको बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर काम गर्न नसकिएको बताएका हुन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठकमा सहमति हुन नसहिएपछि पाँच दलीय गठबन्धन भत्किएको छ । त्यसपछि साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएसँगै राजनीति नयाँ कोर्समा अघि बढेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले ओलीको अनावश्यक दबाबका कारण कोर्स करेक्सन गर्नुपरेको बताएका थिए । कोर्स करेक्सन भएसँगै  पाँच दलीय गठबन्धन भत्काएर एमालेसहितको सात दलीय गठबन्धन बनाउन सक्रिय भूमिका खेलेका   माओवादी केन्द्रका शीर्ष नेताहरू यतिबेला निराश देखिएका छन् । 

‘किन भत्कियो त गठबन्धन ?’ वाम एकता पक्षधर माओवादीका एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘नेकपा एमालेका अध्यक्ष केपी ओलीजीले फेरि एकपटक अवसर गुमाउनुभयो । अध्यक्ष प्रचण्डले ओलीजीसँग मिलेर काम गर्न नसकिने बताउनुभयो ।’

‘यति छोटो समयमा नै किन प्रधानमन्त्री प्रचण्ड यस्तो निर्णयमा पुग्नुभयो त ?,’ रातोपाटीको प्रश्नपछि ती नेताले प्रचण्डले गरेको गुनासो बेलिबिस्तार सुनाए । उनका अनुसार आफूमाथि  ओलीले सरकारभित्र नै घेराबन्दीमा पारेर दबाब सिर्जना गरेको गुनासो प्रचण्ड  थियो ।

‘राजनीतिक संयन्त्रको अध्यक्ष पनि उहाँ हुनुहुन्छ । तर, सरकार सञ्चालनको विषयमा औपचारिक माध्यममा छलफल नगरेर खाली राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्र खुसुखुसु छलफल गर्ने काम भयो,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘बालकोटमा गोप्य छलफल गर्ने अनि यता मलाई आएर दबाब दिने ।’ रास्वपा अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री दिने विषय होस् या सरकार सञ्चालनका अन्य विषय होस्, आफूमाथि निरन्तर दबाब दिने काम भएको प्रधानमन्त्री प्रचण्डले नेताहरुलाई सुनाएका थिए । 

राष्ट्रपति पनि एमालेलाई नै दिने हो भने आफू झन् कर्नरमा पर्न सक्ने निष्कर्षमा अध्यक्ष प्रचण्ड पुगेको भन्ने देखिएको ती नेताको भनाई छ । ‘सत्ता समीकरणमा सन्तुलन र चेक एन्ड ब्यालेन्सकै लागि प्रधानमन्त्रीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिन चाहनुभएको देखिन्छ,’ उनको भनाई छ ।

आठ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति बनेसँगै प्रधानमन्त्री प्रचण्डले पुस १० को कोर्स करेक्सन भएको घोषणा गरे । उनले अब राजनीतिक यात्रा नयाँ ढंगले अघि बढ्ने बताउँदै बैठकमा उपस्थित सबै दल मिलेर अघि बढ्नुपर्ने बताए । 

बैठकमा जसपालाई उपराष्ट्रपति पद लिने सैद्धान्तिक सहमति भएको छ । त्यस्तै बैठकमा उपस्थित दलहरुलाई समेत सरकारमा सहभागी गराउने प्रधानमन्त्रीले बताएका छन् । राप्रपा र रास्वपाको हकमा भने प्रधानमन्त्रीले भोलि छलफल गर्ने जानकारी दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप