सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनयमा म कमेडीमार्फत भित्रिएकी हुँ : प्रियंका कार्की

‘चरित्र हत्या गर्ने प्रवृत्तिलाई हास्यव्यङ्य भनिन्न’
शनिबार, १३ फागुन २०७९, १२ : ४८
शनिबार, १३ फागुन २०७९

हास्य कलाकार जितु नेपाल होस्ट रहेको रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि चैत २ गतेबाट सुरु हुँदैछ । पहिले नेपाल टेलिभिजनबाट प्रसार भएको र दर्शकले रुचाएको शो अब भने कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउन लागेको छ । केही कलाकार बाहिरिएको र निर्माण टिमबीच अन्तरिक मनमुटावका कारण केही समय रोकिएको शो अब नयाँ कलाकार र फम्र्याटका साथ फेरि आउन लागेको हो । उक्त शोका अध्यक्षसमेत परिवर्तन गरिएको छ । यसअगाडि पहिले दीपाश्री निरौला र त्यसपछि अभिनेत्री करिश्मा मानन्धर अध्यक्ष रहेको शोमा अबको  सिजनबाट अध्यक्षमा अभिनेत्री प्रियङ्का कार्की भित्रिएकी छन् । प्रियङ्का प्रत्यक्ष रूपमा सानो पर्दाको कमेडीमा देखिन लागेको यो पहिलो पटक हो । ठूलो पर्दाको फिल्ममा मुख्य भूमिकामा राम्रो जमिरहेको समय प्रियङ्काले कमेडी शो किन रोजिन् ? प्रियङ्कासँँग ‘मुन्द्रेको कमेडी क्लब’को विषयमा रातोपाटीले राखेको केही प्रश्न ।

–‘मुन्द्रे कमेडी क्लब’को अध्यक्षका रूपमा देखिँदै हुनुहुन्छ, मनमा कस्ता कुरा खेलिरहेका छन् ?
मेरा लागि ‘मुन्द्रे कमेडी क्लब’ एउटा अवसर र नयाँ अनुभव हो । त्यसैले एकदमै रमाइलो फिल भएको छ । यो टिमसँग चिनजान पहिलेदेखिकै हो । अहिले काम गर्न पाउँदा बेग्लै किसिमको ऊर्जा मिलेको छ । शोको निर्देशकमा दिनेश डीसी दाइ जोडिनुभएको छ । सो नेपाली टेलिभिजनको लोकप्रिय,  मानिसले रुचाएको र रमाएको कार्यक्रम हो । शोमा यो सिजनबाट पहिलेभन्दा अध्यक्षको जिम्मेवारी अझ परिष्कृत रूपमा अगाडि बढ्छ । शोका लागि म मात्र होइन, पूरै टिम र दर्शकसमेत एक्साइटेट छन् ।

शोका लागि अफर मिल्ने बित्तिक्कै हाम फालिहाल्नु भयो हैन त ?
–हैन, हैन । अफर आएपछि निर्माण टिमसँग केही चरणको छलफल भए । छलफलमा शो नयाँ रूपमा अगाडि बढ्ने विषयमा कुरो भयो । निर्देशकमा दिनेश दाइ पनि जोडिनुभयो । सभ्य ढङ्गले कमेडी बेच्ने कुरामा सबै सचेत देखिए । कन्टेन्ट बलियो बनाउने, सभ्य तरिकाले हसाउनेलगायत कुरामा सहमति भएपछि र शो हुने धारणामा आफू विश्वस्त भएपछि जोडिएँ । पहिलेको भन्दा अझै राम्रो शो हुन्छ, यो कुरामा म ढुक्क छु ।

–‘मुन्द्रे कमेडी क्लब’ तपाईंको अभिनेत्रीको करियरमा जोखिममा पर्छ कि ?
मलाई त्यस्तो लाग्दैन । किनभने मैले धेरै कमेडी फिल्म अभिनय गरिसकेकी छु । मेरो सबैभन्दा व्यावसायिक फिल्म ‘छक्का पञ्जा’ कमेडी नै थियो । म पहिलेदेखि नै हास्यव्याङ्ग्य क्षेत्रका मानिसहरूसँग नजिक छु । म अभिनयमा कमेडीमार्फत भित्रिएकी हुँ । फिल्म अभिनयपूर्व ‘हिजोआजको कुरा’मा अभिनय गरेकी थिएँ । मेरो विचारका जुनै क्षेत्रमा पनि आफ्नो काम इमानदारीपूर्वक गरियो भने करियर जोखिममा पर्दैन । अहिले अडियन्सका लागि धेरै जनराको हेर्न अप्सन छ । यो जनरा राम्रो, यो नराम्रो भन्ने हुँदैन । कन्टेन राम्रो भयो भने जनराले खासै फरक पर्दैन । यो मेरो बुझाइ हो ।

कमेडीमा आफैँलाई उडाउनुपर्छ । तपाईंमा त्यो सहने बानी छैन । विगतका केही घटनाले त्यो देखाउँछ नि ?
त्यो धेरै पहिलेको कुरो हो । करिब दस वर्षअगाडि म जुनै कुरोका पनि प्रतिक्रिया जनाउँथे । अहिले मलाई कुनै पनि कुरोको त्यति मतलब लाग्दैन । समयले मानिसलाई परिवर्तन गर्छ । यो फिल्ड पनि त्यस्तै छ । हामी कतिपय अवस्थामा रमाइलोको नाममा व्यक्तिगत कुरामा छिरेर प्रहार गर्छाैं । त्यो सध्रिनु पर्यो । बिस्तारै सुधिँ्रदै पनि छ । मेरो विचारमा जोक त्यो हो । जुन व्यक्तिमाथि जोक गरिन्छ, त्यो व्यक्ति पनि सुनेर हास्नुपर्छ । कसैलाई व्यक्तिगत रूपमा प्रहार गरेर चरित्र हत्या गर्ने प्रवृत्तिलाई जोक भनिन्न । यस कुरामा म पहिलेदेखि नै सचेत छु । शोका टिमसँग पनि कसैलाई बोलाएर बेइज्जत गर्ने काम गर्नुहँुदैन भनेर राखे ।

–दीपाश्री निरौलापछि शोको अध्यक्षमा करिश्मा मानन्धर आउँदा केही विवाद निम्तिएको थियो । अहिले तपाईं भित्रिँदा फेरि विवादित भयो भने ? 
कहिलेकाहीँ विवादमा जे गरे पनि परिँदोरहेछ । मलाई लाग्दैन, कोही मानिसले जानीजानी विवादमा पर्छु भनेर काम गर्छ । अर्काे कुरा मेरो आफ्नो खेदो खनोस् भनेर कोही हिन्दैन । कहिलेकाहीँ त्यस्तै माहोल सिर्जना हुन्छ र विवाद निम्तिन्छ । विवादले केही कुरो सिकाउँछ पनि । यदि मेरो अगाडि पनि विवाद निम्तिने परिस्थिति कुनै पनि बेला आयो भने शोका लागि मैले नाइँ भन्नुपर्ने हुन्छ । म होमा हो मिलाएर बस्दिनँ । कहिलेकाहीँ सचेत रहँदा पनि फसिन्छ ।

अहिले कमेडी सिरियलको पनि बाढी नै छ । शो गर्दा सिरियलको अफर भित्रियो भने ?
म कलाकार हुँ । कुनै पनि प्रोजेक्टमा जोडिनु भनेको आर्ट र कल्चरलाई योगदान दिनु पनि हो । त्यसैैले कुनै पनि माध्यमबाट कलाकारितालाई अगाडि लैजान, दर्शकमाझ पुग्न, मेरो कलाकारिता र उद्योग राम्रो हुन्छ भने म निश्चिय पनि जोडिन्छु । दर्शकले यो क्षेत्रमा कति राम्रो कार्यक्रम आएको छ, म पनि भोलि छोराछोरी पठाउँछु भन्ने किसिमको माहोल बनाउने र बनेको हेर्न मेरो भित्री इच्छा हो । हामीले आगामी पिढीका लागि सजिलो बनाउनुपर्छ । यो क्षेत्रलाई हेर्दा कहिले नराम्रो नदेख्ने र नभन्ने बनाउनुपर्छ । आफू थपअगाडि बढ्ने र आफूले इन्जोय गर्न सक्ने कलाक्षेत्रका साना ठूला जुनै प्रोजेक्टमा गर्न तयार छु ।

कमेडी शोले प्रियङ्काको अभिनय करियरलाई असर गर्छ भनेर पनि अनुमान गरिएको छ नि ?
कमेडी शोले मेरो अभिनय करियरलाई असर गर्दैन, अझ निखार्छ, निखार्छ । यो मेरा लागि भिन्न खालको अनुभव हुनेछ । शोको अध्यक्ष जज मात्र होइन, आफू पनि सहभागी भएर टिम वर्कका रूपमा काम गर्ने पनि हो । शोबाट मैले अहिलेसम्म नपाएको धेरै नलेज पाउँछु । समसामयिक कुरामा शोमा व्यङ्ग्य हुन्छ । त्यो हिसाबले करेन्ट विषयमा म पूरै अपडेट हुन्छ । कमेडीको पाटो पनि मेरो निखारिँदै जान्छ । 

–पछिल्लो समय ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केकेमा व्यस्त हुनुहुन्छ ?
मसँग अहिले तीन रियालटी शो छन् । जसमा ‘मुन्द्रे कमेडी क्लब’, ‘मेरो डान्स युनिभर्स’ र ‘रोडिज’ । फिल्महरू पनि केही अभिनय गर्ने तरखरमा छु । जसको घोषणा हुन बाँकी छ । केही फिल्मका कुरा भइरहेका छन् । यो समय म एकदमै बिजी फेजमा छु । समय नभएका कारण आएका केही काम छोड्नु परिरहेको छ ।

–एकसाथ तीन रियालटी शो, प्लानिङ नै हो कि संयोग ?
प्लानिङ होइन, फरक फरक समयमा कुरा भएका रियालटी शोको अहिले आएर फ्लोरमा जाने समयमा सँगसँगै परेको हो ।

–‘मुन्द्रे कमेडी क्लब’ घोषणा कार्यक्रममा शो आफ्ना लागि स्कुल किन भन्नुभयो ?
‘मुन्द्रे कमेडी क्लब’का दुवै सिजनमा म फिल्मका कारणले अतिथिका रूपमा सहभागी थिएँ । ती समय शो निर्देशकविहीन थियो । सबै जना जे मनलाग्यो त्यही गर्थे । अहिले निर्देशकको रूपमा दिनेश डीसी भित्रिनुभएको छ । उहाँ भित्रिएपछि एउटा पूरै ध्यान दिने मानिस शोले भेट्टाएको छ । शोले निर्देशक पाएपछि निर्देशक शिक्षक र आफू विद्यार्थी भएजस्तो फिल भएको छ । अहिले शो सुटिङअगाडि स्क्रिप्टमा बस्ने, रिहल्सन गर्ने गर्छौं । निर्देशकले टिजरले गाइड गरेजस्तो गर्नुहुन्छ । मैले त्यही फिलिङ सेयर गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप