बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

शनिबार, १३ फागुन २०७९, १७ : ५१
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । शुक्रबार राती र शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । प्रहरीको दैनिक समाचार बुलेटिनअनुसार मोरङ, पर्सा, नवलपरासी (पश्चिम) सुनसरी लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मोरङमा ट्रकको ठक्करबाट साइकल यात्री ३५ वर्षीय शिवनारायण राजवंशीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा शुक्रबार राती मृत्यु भएको हो ।

ठक्कर दिने युपी २१ बीएन १६१९ नम्बरको ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै पर्सामा पनि मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । शुक्रबार  पोखरिया नगरपालिका–३ बसन्तपुरमा ना १५ प ५०३६ नम्बरको मोटरसाइकललाई बिआर २२ एन ३७९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बिआर २२ एन ३७९६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय कैयफली चुरीहारको मृत्यु भएको  हो ।  

उनी भारत विहार वेतिया पश्चिम चम्पारणका वासिन्दा हुन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ना.१५ प ५०३६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, नवलपरासी (पश्चिम) मा पनि मोटरसाइकल दुर्घटनामा परेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–३ गिद्दाहा टोलमा लु ८६ प ३३३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय करण चौधरीको मृत्यु भएको हो । शुक्रबार भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

त्यस्तै सुनसरीमा पनि मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।  ईटहरी उपमहानगरपालिका–४ स्थित सडकमा धरानबाट ईटहरीतर्फ जाँदै गरेको को ३८ प ९१०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक मोरङ बेलबारी नगरपालिका–५ कसेनी बस्ने २६ वर्षीय राजेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यता, मकवानपुरमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा २३ वर्षीय युवतीको मृत्यु भएको छ ।  जिल्लाको ईन्द्रसरोबर गाउँपालिका–२ हेभिस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा ७३ प ९०६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दाङ घर भएकी आसिका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप