शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र सुधारोन्मुख छ, धेरै निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल

आइतबार, १४ फागुन २०७९, ११ : ५२
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूलाई धेरै निराश नहुन आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको २१औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरू सुधारोन्मुख रहेको र अहिलेको भन्दा परिस्थिति नबिग्रने बताउँदै व्यवसायीहरूलाई निराश नहुन आग्रह गरेका हुन् ।

‘अर्थतन्त्रका धेरै सूचकहरू बिस्तारै बिस्तारै सकारात्मक हुँदै आएका छन् । हामी व्यवसायीहरू जस्तोसुकै असजिलो आउँदा पनि हडबडाउनु हुँदैन । नैराश्ययताले हामी आफैलाई हानी गर्छ,’ उनले भने ।

छिमेकी राष्ट्र श्रीलङ्काको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालको नियामक निकाय तथा सरकारको तर्फबाट केही कसिलो नीतिहरू अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको बताउँदै त्यो कुरालाई मध्यनजर गर्दै सरकार तथा नियामक निकायले तुरुन्तै कोर्स करेक्सन गरेकोले अर्थतन्त्रमा बिस्तारै सहज स्थिति आउने बताए ।

आफू उपस्थित हुने हरेक कार्यक्रममा बैङ्कको ब्याजसम्बन्धी कुराहरू उठ्ने गरेको बताउँदै उनले कुनै एक वैंक वा वित्तीय संस्थाको सञ्चालकले मात्र ब्याजदर परिवर्तन गर्न असम्भव रहेको बताए । ‘म जुन कार्यक्रमहरूमा सहभागी हुन्छु त्यहाँ बैङ्कको ब्याजदर सम्बन्धी विषयहरू उठ्ने गरेको छ । धेरै साथीहरूले बैङ्कको सञ्चालक भएकै कारण मैले चाहेको खण्डमा ब्याजदर घटाउन सक्ने र बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान हुने खालको अभिव्यक्तिहरू दिने गर्नुभएको छ,’ ढकालले भने, ‘म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैङ्कको सञ्चालक वा लगानीकर्ताले निर्धारण गर्ने वा चाहनाले परिवर्तन गर्ने कुरा होइन ।’

अबको केही समयपछि महासङ्घको नेतृत्व सम्हाल्न गइरहेका ढकालले महासङ्घले निजी क्षेत्रको शिर उँचो बनाउने गरी काम गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप