सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रेलरमा यस्तो देखियो सुरक्षाको ‘बहाव’

मङ्गलबार, १६ फागुन २०७९, ०७ : २६
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनीत फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी २४ चैतबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा अभिनेत्री सुरक्षा प्रेमी, विद्रोही र पागलपनको भावमा देखिएकी छन् । काम र विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच सुरक्षामा देखाइएको छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय फिल्मले बनाएको अनुमान गर्न सकिन्छ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा अभिनेत्री सुरक्षाले फिल्ममा जोडिनु आफैँका लागि सुखद क्षण भएको बताइन् । ‘कुनै फिल्म आउँछन्, जान्छन्, तर यो फिल्मका लागि मेरो बुझाई फरक छ । किनकि यस्तो फिल्म दर्शकमाझ आउनुपर्छ’, सुरक्षाले भनिन्, ‘बहाव परिवार भित्रको विद्रोहको कथा हो । यसले नेपालको अधिकांश परिवारको कथा भन्छ ।’ 

लेखक तथा निर्देशक कँडेलले लकडाउनको बेलामा ‘बहाव’ लेखिएको बताए । ‘यो फिल्मसँग जोडिएका घटना, किस्सा धेरै छन् । तर जुन कथा मैले लेखेँ, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा लागि ठुलो उपलब्धि थियो’ कँडेलले थपे ।

निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफूले लगानी गरेको सुनाए ।अभिनेता पवन श्रेष्ठले आफ्ना लागि ‘बहाव’ मार्फत व्यावसायिक कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको बताए ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउन्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप