बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले बगाएको ठिन्के र माझकुलो नेपाली सेनाले निर्माण गर्दै

बुधबार, १७ फागुन २०७९, ०८ : १४
बुधबार, १७ फागुन २०७९

जुम्ला । गत असोजमा परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको सिँचाइ कुलो नेपाली सेनाले बनाउन लागेको छ। जुम्लाको चन्दननाथ नगरपालिका-१ मा अवस्थित ठिन्के र माझकुलो सेनाले बनाउन सुरु गरेको हो ।

यो कुलो मार्फत चन्दननाथ १ देखि ५ वडासम्मका सयौं किसानको खेत सिँचाइ गर्दै आएका थिए । मंगलबार बिहानदेखि नन्दाबक्स गणका गणपति रविन थापाको नेतृत्वमा सेनाको टोली बाढीले बगाएको कुलो बनाउन लागेको हो।

बेलाबेला कुलो निर्माण गर्न अपिल गरे पनि सुनुवाइ नगरेपछि स्थानीय किसानले नेपाली सेनालाई कुलो बनाइदिन अनुरोध गरेका हुन्। किसानले स्थानीय प्रशासन, भौतिक पूर्वाधार कार्यालय, सिँचाइ कार्यालय र चन्दननाथ नगरपालिकालाई बाढीले बगाइदिएको कुलो बनाइदिएर खेतमा सिँचाइ गर्ने वातावरण बनाइदिन पटक पटक ध्यानाकर्षण गराएका थिए । तर बजेट अभाव भएको भन्दै सबै निकाय पन्छिन थालेपछि उनीहरूले सेनालाई कुलो बनाइदिन आग्रह गरेका थिए।

गणपति थापाले बाढीले बगाएको कुलो बनाउन १ सय ५० सैनिक टोली खटिएको बताए । तीन दिनमा किसानको खेतमा पानी पुग्ने गरी कुलो निर्माण भइरहेको छ। रोपाइँ नजिकिँदै गर्दा किसानलाई कुनै मर्का नहोस् भनेर सिङ्गो सेनाको टोली कुलो बनाउन खटिएको हो । पातारासी गाउँपालिकाको उर्थु नजिकैदेखि किसानको खेतसम्म पुग्न झण्डै ५ किलोमिटरको दूरीमा कुलो बनेको छ ।

थापाका अनुसार कुलो निर्माणको क्रममा हाल ढुङ्गा र पहिरो पन्छाउने कार्य चलिरहेको छ । सेनाले विद्युतगृहको नहर पनि बनाइरहेको छ । किसानले बिजुली पनि बाल्न पाउनेछन् । धान रोप्न पनि पाउनेछन् । अहिले छरेको जौमा पनि सहजै सिँचाइ गर्न पाउने गणपति थापाले ओल्याए। नेपाली सेनाको २४ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी सोवेन्द्रसिंह महतले बाढीले बगाएको कुलो बनाउन किसानले गरेको आग्रह सेनाका लागि निकै सकारात्मक काम भएको बताए । यस कामले हरेक विपद्मा नेपाली सेनाले साथ दिन्छ भन्ने सन्देश प्रवाह भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप