शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग

अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी

३३ हजारभन्दा बढी नयाँ उजुरी, ८० प्रतिशतभन्दा बढी फर्छ्योट
शुक्रबार, ०८ साउन २०८३, १९ : ३५
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८२/८३ मा ३३,३२८ नयाँ उजुरी प्राप्त गरी कुल ४०,६५१ उजुरीमाथि काम गरेको छ।
  • गत आर्थिक वर्षमा ९९० जनाविरूद्ध २५ अर्ब ३१ करोड बिगो दाबीसहित १७५ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरिएको छ।
  • आयोगले गत आर्थिक वर्षमा वेबसाइटमार्फत सबैभन्दा बढी उजुरी प्राप्त गरेको र भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८२/८३ मा ३३ हजार ३२८ नयाँ उजुरी प्राप्त गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ७ हजार ३२३ उजुरीसमेत जोड्दा आयोगले कुल ४० हजार ६५१ उजुरीमाथि काम गरेको हो।

आयोगले शुक्रबार टंगालस्थित कार्यालयमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार कुल उजुरीमध्ये ३२ हजार ७९९ (८०.६८ प्रतिशत) उजुरी फर्छ्योट गरिएको छ भने ७ हजार ८५२ उजुरी चालु आर्थिक वर्ष २०८३/८४ मा जिम्मेवारी सरेका छन्।

प्राप्त उजुरीमध्ये सबैभन्दा बढी ४८.९६ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छन्। सङ्घसँग सम्बन्धित उजुरी ३८ प्रतिशत र प्रदेश सरकारसँग सम्बन्धित १३.०४ प्रतिशत छन्।

उजुरी प्राप्त हुने माध्यममध्ये आयोगको वेबसाइट सबैभन्दा प्रभावकारी देखिएको छ। वेबसाइटमार्फत ३०.९१ प्रतिशत, इमेलबाट २७.०२ प्रतिशत, लिखित निवेदनबाट २१.७४ प्रतिशत, हुलाकबाट १२.८७ प्रतिशत तथा टेलिफोन, सामाजिक सञ्जाल, मोबाइल एप, समाचारपत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारलगायत अन्य माध्यमबाट ७.४६ प्रतिशत उजुरी प्राप्त भएका छन्।

आयोगले आर्थिक वर्षभर ६२ वटा बैठकबाट १ हजार १३० निर्णय गरेको छ। सोही अवधिमा विशेष अदालतमा १७५ वटा भ्रष्टाचार मुद्दा दायर गरिएको छ, जसमा ४ वटा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत समावेश छन्।

दायर भएका मुद्दामा ९९० जनालाई प्रतिवादी बनाउँदै २५ अर्ब ३१ करोड ३७ लाख ७३ हजार ५२४ रुपैयाँ ४० पैसा बिगो माग दाबी गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब चार गुणा बढी हो।

दायर भएका मुद्दामध्ये सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी ५६, घुस/रिसवतसम्बन्धी ४१, गैरकानुनी लाभ वा हानिसम्बन्धी २७, नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १५, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११, राजस्व चुहावट तथा हिनामिनासम्बन्धी ५, सम्पत्ति शुद्धीकरणसम्बन्धी ५ तथा अन्य विविध विषयका १५ वटा रहेका छन्। आयोगले वर्षभर २७ वटा रंगेहात कारबाही पनि गरेको जनाएको छ।

विशेष अदालतबाट आर्थिक वर्ष २०८२/८३ मा फैसला भएका १५६ मुद्दामध्ये ८१ वटा अर्थात् ५१.९२ प्रतिशत मुद्दामा कसुर स्थापित भएको आयोगले जनाएको छ। पूर्णपाठ प्राप्त फैसलामध्ये १०४ मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन तथा ३ मुद्दामा पुनरवलोकन गरिएको छ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले ४ वटा जिल्लास्तरीय तथा १३४ वटा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

वार्षिक समीक्षा कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले उजुरी फर्छ्योटमा उल्लेखनीय प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझ सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले अनुसन्धानलाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति, आधुनिक प्रविधिको प्रयोग र अनुसन्धान अधिकृतको क्षमता अभिवृद्धिमा जोड दिए।

कार्यक्रममा आयुक्तहरू तथा सचिवले पनि नीतिगत र कानुनी सुधारमार्फत अनुसन्धान तथा अभियोजनलाई अझ प्रभावकारी बनाउँदै आयोगको पाँचौँ रणनीतिक योजनाका लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिएका थिए।

samikshya barshik (2)samikshya barshik (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप