शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई लघुकथा

शनिबार, २० फागुन २०७९, ०८ : ०३
शनिबार, २० फागुन २०७९

१.कडा सासू

“छोराले त आमाको कुरा काट्न सक्दैन रे । ” उर्मिलाले भनेको सुनेर रिताको मनमा चसक्क भयो। 

बुबाले हीरा पाएजस्तै गर्नु हुन्छ । भोलि कसरी भोग्ने उनी सोच्न थालिन् । 

रिताको विवाह भयो । भोलिपल्ट बिहानै उठिन् । भान्सामा जान लागेकै थिइन् । 

अध्ययन कक्षमा पस्दै राकेशले भन्यो, “आमाले सोध्नु भयो भने उठिसकेको छु भनिदिनु है ।” 

उनले टाउको हल्लाउँदै भान्सा पसिन् । 

“छोरा त डराउने रहेछ, मेरो के हालत हुन्छ ।” उनले सोचिन् । 

सासूआमा उठ्नु भएछ । मुसुक्क हाँस्नु भयो । “हाँसो भित्र के छ ? के छ ?” हाँसोमा शंका लाग्यो । कडा भनेर चिनिएकी छन् । 

उनले चिया पकाएर श्रीमान् र सासूलाई लगिदिइन् । 

“म पूजा सकेपछि पिउँला ।” सासूले भनिन् । 

“अब कतिबेला पूजा सकिन्छ भनेर तयारी अवस्थामा बस्नुपर्ने भयो ।” उनलाई सासूको व्यवहार अनौठो लाग्यो । 

प्रत्येक क्रियाकलाप उर्मिलाले भनेजस्तै कडा लाग्न थाल्यो । मुस्कान पनि कुटिल लाग्यो । यसै गरेर भोलिपल्ट पनि दिन बित्यो । 

पर्सिपल्ट रिताले तरकारी काटिरहेको अवस्थामा सासूआमाले चपिङ्ग बोर्ड खोस्नु भयो । 

लसुन, प्याज र गोलभेंडा त चलेकै थियो घरमा । “लौ आज सासूले रणचण्डिका रूप देखाउनु हुने हुनु भयो । के गल्ती भयो ।” मनमनै भनिन् । 

“रीता तिमी कलेज जानु पर्दैन ? तिमी कलेज जाने तयारी गर । दुई दिन बिचार गरेँ । कलेज जाने सुरै छैन । यो भान्साको काम त म सकिहाल्छु ।’ सासूले अगाडि भनिन्, ‘के गर्ने एकल महिला भएपछि छोराको भविष्यको लागि कडा हुने बानी पर्‍यो । अब अर्को वर्ष त उसको पिएचडी पनि सकिन्छ होला ।” 

यति भन्दै सासूआमाले सन्तोषको लामो सास लिनु भयो ।

२. इच्छा

“बुबा, उता कागजपत्र मिलाउँदै गर्नु । अब अर्को महिनाको टिकट मिलाएको छु ।” हरिले भन्यो । 

“हामी दुवैको ?” बुबाले सोधे । 

“होइन मामुको मात्र हो । एकैपटक त मलाई समस्या पर्छ । जहाजको टिकट किन्न पनि महँगो छ । मामु फर्केपछि हजुर आउनु होला ।” हरिले विवशता जनायो । 

“तिमीहरू जसो भन्छौ, त्यसै गरौँला । दुबैजना एकै पटक आउन पाएको भए हुन्थ्यो ।” भन्दै बुबाले फोन राख्नु भयो। 

आफ्नो पेटमा हुर्किँदै गरेको बच्चा छाम्दै अनिता हरितर्फ हेर्दै मुस्कुराइन् । 

“छोरो टुकुटुकु हिँड्ने भएपछि बुबालाई बोलाउनु पर्ला, ” हरिले भन्यो ।

पोखरा–७ मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप