आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताको गृहकार्य : अहिलेसम्म के–के गरे दुई कार्यदलले ?

बुधबार, १६ फागुन २०७४, १० : ५४
बुधबार, १६ फागुन २०७४

काठमाडौँ । एमाले–माओवादी केन्द्रबीच पार्टी एकताका गर्न नतिजा आउनेगरी गृहकार्य सुरु भएको छ । गत असोज १७ गते पार्टी एकीकरण गर्ने घोषणा गरेका यी दलले झण्डै ५ महिनापछि कार्यदल बनाएर एकताका गृहकार्यलाई तीव्र बनाएका हुन् । 

दुवै दलका नेता सम्मिलित नीतिगत र सांगठनिक मस्यौदा तयार पार्न छुट्टाछुट्टै उपसमिति गठन गरेका दुवै दलले पछिल्लो समय भने समयसीमा नै तोकेर काम गर्न थालेपछि एकता प्रकृया चाँडै टुङगो लाग्ने अपेक्षा गरिएको छ ।  पार्टी एकता संयोजन समितिले  एकताका लागि ७ बुदें आधारपत्रलाई अन्तिम रुप दिएसँगै एकताका लागि दुई समिति निर्माण गरेर एकताको गृहकार्यलाई अगाडी बढाएको नेताहरुको भनाई छ । 

यसका लागि एमाले नेता माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन भैसकेको छ ।

यी दुबै कार्यदलले फागुन २५ भित्र आफ्नो प्रतिवेदन तयार गरिसक्नुपर्ने म्याण्डेट पाएका छन् । पार्टी एकता संयोजन समितिको बालुवाटरमा फागुन  १० गते बसेको बैठकले दुवै कार्यदललाई प्रतिवेदन तयार गर्न समयसीमा र निश्चित मापदण्ड तोकेको थियो । संयोजन समितिमा एमाले माओवादी दुवै दलका अध्यक्ष भएकाले बालुवाटारको उक्त बैठकमा दुबै समितिलाई अध्यक्षद्वयले १५ दिन भित्र मस्यौदा लेखेर बुझाउन निर्देशन दिएका हुन् । 

अध्यक्षद्वयको निर्देशनअनुसार समयमै काम सम्पन्न गर्न दुवै कार्यदलले आफ्नो काम थालिसकेको बताएका छन् । दुवै कार्यदलको सुझाव र प्रतिवेदनका आधारमा एमाले–माओवादीबीच ढिलोमा पनि चैत दोस्रो साताभित्र पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको एमाले उपाध्यक्ष भीम रावलले बताएका छन् । 

त्यहि निर्देशनपछि पार्टीको एकताका लागि रामबहादुर थापा बादलको नेतृत्वमा गठन भएको विधान मस्यौदा समितिको पहिलो बैठक फागुन  १२ गते माओवादी पार्टी कार्यलय पेरिसडाँडाँमा बस्यो । उक्त बैठकमा दुवै दलका नेताहरुले आ–आफ्ना संगठनका अनुभबहरु आदान प्रदान गदै नयाँ पार्टीको सांगठनिक संरचना बनाउने विषयमा प्रारम्भिक छलफल समेत चलाए । बैठकमा संघीय संरचना अनुसार एककीकृत पार्टीको सांगठनिक स्वरुप तयार पार्ने विषयमा छलफल भएको थियो । 

उता, माधवकुमार नेपालको नेतृत्वको प्रतिवेदन मस्यौदा कार्यदलको बैठक फागुन १३ गते बसेर प्रतिवेदन लेखनका लागि उपसमिति बनायो । प्रतिवेदन लेख्नका लागि नारायणकाजी श्रेष्ठ, भीम रावल, देव गुरुङ र प्रदीप ज्ञावली सहितको उपसमितिले फागुन १७ गते बस्ने बैठकमा खाका प्रस्तुत गर्ने गरी काम गरिहरेको उपसमितिका सदस्य प्रदीप ज्ञवालीले बताए । 

यो बैठकमा माओवादी केन्द्रको महाधिवेशनबाट पास भएको दस्तावेजको समेत अध्ययन गरिएको थियो । 

१५ गते एमाले पार्टी कार्यलय धुम्बाराहीमा बसेको विधान मस्यौदा कार्यदलको बैठकले फागुन २२ गते भित्र दुबै पार्टीका जनबर्गीय संगठनहरुको एकताका लागि बिधि, नीति तथा मापदण्ड बनाउने निर्णय गरेको छ । जसका लागि गिरिराजमणि पोख्रेल र गोकर्ण बिष्टको उपसमिति गठन गरिएको छ । त्यस्तै विधान मस्यौदाको प्रारम्भिक खाका तयार गर्न बर्षमान पुन ‘अनन्त’ र बेदुराम भुसालको नेतृत्वमा उपसमिति गठन भएको छ । 

यी दुबै उपसमितिले फागुन २२ गते बस्ने बैठकमा आ आफ्नो प्रतिवेदन पेश गर्ने गोकर्ण विष्टले जानकारी गराएका थिए । 

राजनीतिक प्रतिवेदन मस्यौदा समितिको बैठक यहि फागुन १७ गते बस्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप