शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमतीमा एमालेको अलमल : सत्तामा नै बस्ने कि राजीनामा दिने ?

केन्द्रको निर्णय कुर्दै चार मन्त्री
शनिबार, २७ फागुन २०७९, ०८ : १०
शनिबार, २७ फागुन २०७९

हेटौँडा । देशले नयाँ राष्ट्रपति प्राप्त गरिसकेको छ । बिहीबार मात्र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भइसकेका छन् । पौडेल राष्ट्रपति भए लगत्तै बागमती प्रदेशको सत्ता समीकरण बारेमा पनि चर्चा सुरु भएको छ । 

राष्ट्रपति निर्वाचनका लागि गत फागुन १० मा केन्द्रीय तहमा बनेको सत्ता समीकरणको आंशिक असर बागमती प्रदेशमा देखिए पनि सत्ता फेरबदल भने भएको थिएन । सत्ता समीकरण परिवर्तन भए लगत्तै केन्द्रमा एमालेले सरकार छाडेको थियो । जस अनुसार बागमतीमा पनि एमाले सत्ताबाट बाहिरिने चर्चा थियो । तर, एमालेले तत्काल प्रदेश सरकार छाड्ने अवस्था नरहेको भन्दै राष्ट्रपति निर्वाचनको नतिजा कुर्ने निर्णय गरेको थियो । 

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङ पराजित भएसँगै बागमती सरकारबाट पनि अलग बस्ने तरखरमा पार्टी रहेको छ । केन्द्रमा बनेको सत्ता गठबन्धनले सरकार पुनर्गठनको प्रक्रिया थाल्नु अघि नै मार्ग प्रशस्त गर्ने तयारीमा एमाले देखिएको छ ।

सरकारबाट अलग हुने विषयमा एमाले वृत्तमा आन्तरिक छलफल जारी रहेको र केन्द्रीय तहको निर्देशनको पर्खाइमा सांसदहरू रहेका छन् । एमालेले केन्द्रको निर्देशन अनुसार नै मन्त्रीहरूले राजीनामा दिने तयारी भइरहेको छ ।  राष्ट्रपति निर्वाचनको मत परिणाम नै सार्वजनिक भइसकेको अवस्थामा नैतिकताको आधारमा पनि सरकारबाट अलग बस्नु पर्ने एमालेका सांसदहरू बताउँछन् ।

राष्ट्रपतिमा आफ्नो उम्मेदवार पराजित भएपछि एमालेले प्रदेश सरकारबाट पनि अलग हुने र प्रतिपक्षमा बस्ने रणनीति निर्माण गरेको छ । एमाले सरकारबाट बाहिरिने उपयुक्त परिस्थितिको खोजीमा रहेको छ ।

गत माघ २५ गते माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्री सहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।

तत्कालीन समयमा सरकार गठनमा निर्णायक मानिएको राप्रपालाई ३ मन्त्री दिएर सरकार गठन गरिएको भए पनि फागुन १० गते राप्रपाका ३ मन्त्री सरकारबाट बाहिरिएका थिए । राप्रपा सरकारबाट बाहिरिए लगत्तै सरकारबाट अलग हुने एमालेको तयारी गरे पनि केन्द्रको निर्देशन पनि रोकिएको थियो ।

राष्ट्रपतिमा आफ्नो उम्मेदवार पराजित भएपछि एमालेले प्रदेश सरकारबाट पनि अलग हुने र प्रतिपक्षमा बस्ने रणनीति निर्माण गरेको छ । एमाले सरकारबाट बाहिरिने उपयुक्त परिस्थितिको खोजीमा रहेको छ ।

एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले फागुन मसान्तसम्ममा एमाले सरकारबाट बाहिरिने बताए । सरकारबाट अलग हुने विषयमा पार्टीको केन्द्रीय तहसँग छलफल भइरहेको र सोको निर्णय आए लगत्तै सरकारबाट अलग हुने उनले बताए । एमाले सरकारबाट अलग भएर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

‘सम्भवतः हामी छिट्टै नै सरकार छाड्छौ । पार्टीको माथिल्लो तहमा छलफल जारी छ । पार्टीको अन्तिम निर्णय कुरिरहेका छौ ।’ उनले भने, ‘पार्टी नेतृत्वसँग छलफल हुँदैछ । केन्द्रमा सरकार छाडिसकेका छौ । त्यसैले प्रदेशमा पनि हामी सरकारबाट अलग हुने परिस्थिति रहेको छ । हामी सशक्त प्रतिपक्षमा बस्छौ ।’

बागमती प्रदेश सदस्य एवम् एमाले नेता प्रकाश श्रेष्ठका अनुसार सत्ता गठबन्धनलाई सरकार पुनर्गठनका लागि एमालेले छिट्टै नै मार्ग प्रशस्त गर्नेछ । उनले नयाँ राजनीतिक कोर्सको विकास भएको खण्डमा मात्र एमाले सरकारमा रहने अन्यथा वर्तमान गठबन्धन नै अघि बढ्ने बताए ।

‘हामीलाई अहिलेको गठबन्धनले कस्तो व्यवहार गर्छ भन्ने कुरामा पनि सरकारबाट अलग हुने वा नहुने भन्ने कुरा भर पर्छ । पार्टीको आधिकारिक निर्णय आएको छैन । एमाले सशक्त प्रतिपक्षको भूमिकामा बस्नु पर्छ ।’

‘अहिलेको सत्ता साझेदार दलको स्पष्ट बहुमत छ । एमाले दोस्रो पोजिसन कै पार्टी हो । अर्को नयाँ कोर्स सुरु भयो भने छुट्टै नयाँ कुरा हो । नयाँ कोर्स नभएको खण्डमा वर्तमान गठबन्धन नै अघि बढ्छ ।’ उनले भने, ‘४ वटा प्रदेश सरकारको नेतृत्व एमालेले गरेको अवस्था थियो । हाल बागमती प्रदेशसहित केही प्रदेशमा एमालेको सरकार कायम छ । त्यसका केही विषयहरू रहेका छन् । त्यसैले होल्ड भएको हो ।’

एमाले प्रदेश सरकारमा रहेको अवस्थामा माओवादी केन्द्र र कांग्रेसको व्यवहारले पनि सरकारबाट अलग हुने विषय निर्धारण हुने उनको भनाई छ । सरकार गठनका विषयमा पार्टी केन्द्रको पनि आधिकारिक धारणा नआएकाले पनि केही समय पर्खिएको उनले बताए । एमाले आगामी दिनमा सशक्त प्रतिपक्षको भूमिकामा बस्नु पर्ने उनको भनाइ छ ।

‘हामीलाई अहिलेको गठबन्धनले कस्तो व्यवहार गर्छ भन्ने कुरामा पनि सरकारबाट अलग हुने वा नहुने भन्ने कुरा भर पर्छ । पार्टीको आधिकारिक निर्णय आएको छैन । एमाले सशक्त प्रतिपक्षको भूमिकामा बस्नु पर्छ ।’

नयाँ राजनीतिक कोर्सको विकास भएको खण्डामा राजनीतिक स्थायित्व र दिगो विकासका लागि एमाले फरक शैलीका जान सक्ने उनको भनाई छ । उनले सरकार गठनमा मार्ग प्रशस्त गर्न आफूहरू तयार रहेको बताए । उनका अनुसार सत्ता गठबन्धनले छिट्टै नै सरकार पुनर्गठनको विषय अघि बढाउने भएकाले एमाले मार्ग प्रशस्त गर्न तयारी अवस्थामा रहेको छ ।

‘भोलि नयाँ राजनीतिक कोर्सको विकास भएर एमाले कांग्रेस मिलेर सरकार बन्न सक्यो भने दिगो विकास र स्थायी राजनीति निर्माणमा फरक शैलीका जान सकिएला । अहिलेको परिस्थितिमा वर्तमान गठबन्धनले प्रदेशमा छिट्टै नै सरकार गठन सुरु गर्छ । एमालेको पनि आधिकारिक निर्णय पनि आउँछ । कांग्रेस र माओवादी केन्द्र मिल्दा पनि सरकार बन्न सक्छ । अझ अरू दलहरू पनि गठबन्धनमा हुनुहुन्छ । सरकार गठनमा हामीबाट मार्ग प्रशस्त हुन्छ । आगामी ५ गते सम्ममा नयाँ क्याबिनेटले पूर्णता पाउन सक्छ ।’

११० सदस्यीय बागमती प्रदेश सभामा एमालेको २७ जना सांसद रहेका छन् भने माओवादी केन्द्रका २१, कांग्रेसका ३७, राप्रपा १३, एकीकृत समाजवादीका ७, नेमकीपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप