शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म

बिहीबार, ०७ साउन २०८३, २३ : ५९
बिहीबार, ०७ साउन २०८३

सारांश

  • उच्च अदालत पाटनले व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
  • नेकपाले सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरणका लागि केन्द्रको निर्णय कुर्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।
  • डा. गोविन्द केसीले धनगढीमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै २४औँ सत्याग्रह सुरु गरेका छन् ।

काठमाडौँ ।  आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमको सँगालो  रातोपाटी ब्रिफिङको ‘१२ बजे १२  समाचार'मा पाठकवृन्दलाई स्वागत छ । 

  • थुनामा अग्रवाल

 उच्च अदालत पाटनले व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले आज व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

बुधबार अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) डिल्लीबजारबाट पक्राउ गरेको थियो ।

व्यवसायीहरू दीपक भट्ट र शङ्करका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो ।

  • केन्द्रको निर्णयको पर्खाइ

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण बनाउने विषयमा केन्द्रको निर्णय कुरेर बसेको छ। नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन टुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले आफ्नै नेतृत्वका सरकार गठन गर्न पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो।

वार्ता टोलीमा संसदीय दलका नेता खगराज भट्टसहित प्रदेशसभा सदस्यहरू प्रकाश रावल, मानबहादुर धामी, खुशीराम चौधरी र रमेश धामी रहेका छन् । वार्ता टोलीले कांग्रेस र एमाले दुवै दलसँग छलफल गरेको दलका नेता तथा संयोजक खगराज भट्टले जानकारी दिए । तर सर्वदलीय सरकार बनाउने कि दुइ पक्ष मिलेर सरकार बनाउने भन्नेमा केन्द्रबाट कुनै निर्देशन नआएको भट्टले जानकारी दिए।

  •  गोविन्द केसी अनसनमा

डा. गोविन्द केसीले धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) बिहीबारदेखि धनगढीमा सुरु गरेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै लामो समयदेखि सङ्घर्षरत डा. केसीले सरकारले आफ्ना मागहरूप्रति संवेदनशीलता नदेखाएको भन्दै पुनः अनशनको बाटो रोजेका हुन्।

डा. केसीले यसपटकको अनशन मुख्य गरी गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रक्रियामा भएका राजनीतिक नियुक्ति र निजी स्वार्थ समूहको चलखेलका विरुद्ध केन्द्रित गरेका छन्।

  • ओलीको बोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र भइरहेको पद र शक्तिको लडाइँले लोकतन्त्र बलियो नहुने बताएका छन् । साथै, उनले एमाले एकताबद्ध रहेको दाबी गर्दै कांग्रेसलगायत अन्य सबै दलभित्र पनि आन्तरिक एकता बलियो बनाएर लोकतन्त्र अपहरण गर्ने शक्तिविरुद्ध लड्न सक्नुपर्नेमा जोड दिएका छन् ।

एमालेका केन्द्रीय पदाधिकारीमध्ये बहुमत नेताहरू पार्टी पुनर्गठन र रूपान्तरणको पक्षमा उभिएर नेतृत्व छाड्न अध्यक्ष ओलीलाई दबाब दिइरहेका बेला ओलीले भने एमालेमा कुनै विवाद नरहेको दाबी गर्दै बरु कांग्रेसभित्रको विवादबारे चिन्ता व्यक्त गरे ।

  • भन्सारको तथ्यांक

नेपालको वैदेशिक व्यापारको आकारले इतिहासमै पहिलो पटक नयाँ रेकर्ड कायम गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकअनुसार नेपालले विश्वका विभिन्न देशहरूसँग गर्ने आयात र निर्यातसहित कुल वैदेशिक व्यापारको आकार २४ खर्ब रुपैयाँको विन्दुलाई पार गरेको छ ।

एकातिर कुल व्यापारको आकार हालसम्मकै उच्च विन्दुमा पुगेको छ तर आयात र निर्यातबचिको खाडल झनै गहिरिँदै गइरहेको छ ।

  • पुष्पलाल स्मृति दिवस

२००६ साल वैशाख १० अर्थात् सन् १९४९ को २२ अप्रिल, लेनिन जन्म दिवसको सन्दर्भमा भारतको कलकत्तास्थित श्यामबजार ईलाकामा पर्ने नविन लेनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भएको थियो । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अगुवाइमा नेकपा स्थापना भएको थियो ।

संस्थापक सदस्यहरूमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशी थिए । पुष्पलालको मत अनुसार काठमाडौँबाट दुर्गा देवी (मोतीदेवी) पनि सहभागी भएकाले उनलाई संस्थापक सदस्य मानेका छन् । तर, अन्य तीन जना संस्थापक सदस्य पुष्पलालको कुरा मान्य तयार देखिएनन् । मोतीदेवीलाई संस्थापक सदस्य मान्नेमा अहिलेसम्म पनि वामपन्थीहरू विभाजित छन् ।

  • कांग्रेसको अभियान

नेपाली कांग्रेसले बीपी स्मृति दिवसको अवसर पारेर घोषणा गरेको ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’लाई केवल राजनीतिक भाषणमा मात्र सीमित नराखी तल्लो तहसम्म पुर्‍याउने योजना सार्वजनिक गरेको छ।

बिहीबार सभापति गगन थापाले सार्वजनिक गरेको ‘एनसी फर एनसी’ अभियान भदौ २४ गते बीपी कोइरालाको जन्मजयन्तीका दिनबाट सुभारम्भ गरिनेछ ।

  • कांग्रेस विवाद फेरि सर्वोच्चमा

नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ । सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले पुनरवलोकन निवेदन दिएका हुन् ।

उक्त निवेदन अब ३ न्यायाधीशको इजलासमा पेसी तोकिन्छ । तीन न्यायाधीशको इजलासले निस्सा दिएमा अघि बढ्छ भने नदिएमा टुङ्गो लाग्ने छ ।

  • राप्रपा एकता अवैध

राप्रपा र राप्रपा नेपालबिच गत पुसमा भएको एकताले ७ महिनासम्म वैधता पाउन नसकेको पाइएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबिच गत पुस १६ गते एकता भएको थियो ।

दुवै पार्टीले आवश्यक कागजात नै दिन नसकेपछि हालसम्म आयोगले वैधानिकता नै नदिएको हो । उसो त राप्रपाले असार ३ गते मात्रै दल एकीकरणसम्बन्धी निवेदन दिएको थियो ।

आयोगले अहिले आएर आवश्यक कागजात दिन भन्दै राप्रपा नेपाल र राप्रपा नेपाललाई पत्राचार गरेको छ । आयोगले साउन १ गते पठाएको पत्रमा निवेदनसँग पेस गरिएका कागजात अध्ययन तथा जाँचबुझ गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ८ बमोजिम आवश्यक कागजात तथा विवरण अपुग देखिएकाले थप विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।

  •  मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापासहित ७ जना तथा निर्माण कम्पनी बिकोईरधुलिखेल जेभी, बानेश्वर, काठमाडौँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सर्लाहीको बागमती नगरपालिका–११, सर्लाहीस्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा उनीहरूविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

  • त्रिविको ढिलासुस्ती

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा प्रणालीमा देखिएको अस्वाभाविक ढिलाइ र प्रशासनिक उदासीनताका कारण स्नातक तहका हजारौँ विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । २०८१ सालतर्फको तीनवर्षे बीए प्रथम वर्षको आंशिक परीक्षा २०८२ सालभित्रै सम्पन्न हुनुपर्नेमा २०८३ सालको जेठमा मात्र सञ्चालन गरिएकाले विद्यार्थीहरू मारमा परेका छन् ।

परीक्षा सकिएको डेढ महिना भइसक्दा पनि नतिजाको टुङ्गो नलागेपछि विद्यार्थीले आगामी साउन १५ गतेभित्र जुनसुकै हालतमा नतिजा सार्वजनिक गर्न माग गरेका छन् । पनिकाले ९० दिनको समय सीमा भनेर बस्नु नहुने विद्यार्थी बताउँछन् ।

  • अपराध समाचार

साउन ६ गते नेपालगञ्जबाट दुई जना महिला ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परे । पक्राउ पर्नेमा रुकुम पश्चिमकी ३३ वर्षीया ललिता बुढाथोकी र नेपालगञ्जकी २४ वर्षीया निशा मगर थिए । प्रहरीले उनीहरूका साथबाट ४ सय ग्राम खैरो हेरोइन बरामद गर्‍यो ।

त्यसको दुई दिनअघि मात्रै (साउन ४ गते) मोरङको रंगेलीबाट भारतबाट नेपालतर्फ खैरो हेरोइन बेच्न आएका दुई भारतीय नागरिक मोहम्मद मुन्ना र मोहम्मद मुकुल समातिए । उनीहरूको साथबाट १०० ग्राम खैरो हेरोइन बरामद भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप