बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

माओवादी धार संगठित हुन नपाउँदै असमझदारी

आइतबार, २८ फागुन २०७९, १८ : ३६
आइतबार, २८ फागुन २०७९

काठमाडौं । जनयुद्धकालीन मुद्दालाई लिएर पहिलो पटक गत फागुन २३ गते आठ माओवादी धारको बैठक बस्यो । बैठकले प्रधानमन्त्री प्रचण्डविरुद्ध जनयुद्धकालीन मुद्दा सर्वोच्च अदालतमा दर्ता भएपछि आठ माओवादी बैठक बसेर संयुक्त विज्ञप्ति जारी गरेर प्रतिवाद गरे ।

फागुन २६ गते पुनः दोस्रो बैठक बसेर संयुक्त पत्रकार सम्मेलन र सक्रमणकालीन न्यायका विषयलाई संयुक्त अन्तक्र्रिया गर्ने निर्णय गरे । संयुक्त पत्रकार सम्मेलन हुने भएपछि ड्राफ्ट गर्न माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार गर्न जिम्मेवारी दियो । 

प्रधानमन्त्री प्रचण्डले महराले बनाएको ड्राफ्ट संशोधन गर्न लगाएपछि अपिलको भाषालाई लिएर तीन माओवादी धार अलग भएका छन् । माओवादी धारको दुई बैठक सयुक्त रुपमा भएपछि  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी अलग भएका छन् ।

आइतबारको संयुक्त पत्रकार सम्मेलनमा नौ दल सहभागी हुने भनिएपनि अन्तिममा ६ दल मात्रै सहभागी भएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी नभएपनि महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेल लगायत दोस्रो र तेस्रो तहका नेताहरु सहभागी भए । अरु पाँच दलका शीर्ष नेताहरु नै सहभागी भएपनि प्रधानमन्त्री प्रचण्ड र तीन दल सहभागी नभएपछि संयुक्त पत्रकार सम्मेलनको ओज हुन सकेन । पत्रकार सम्मेलन भनिएपनि अन्तिममा ६ दलद्वारा हस्ताक्षर गरिएको अपिल सार्वजनिक गरेर प्रश्न उत्तर समेत गरिएन । माओवादी धारका ६ दलका नेताहरुले बोलेर संयुक्त पत्रकार सम्मेलन सकियो ।

संयुक्त पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, नेकपा महासचिव विप्लव, वैज्ञानिक समाजवादीका संयोजक आहुति, नेपाल समाजवादीका नेता हिसिला यामी, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढा, आमजनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्नो धारणा राखेका थिए । जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो नलगाएमा देश फेरि द्वन्द्वमा जाने भन्दै आक्रोश पोखे ।

तर, माओवादी धार संगठित हुँदै जानुपर्नेमा घट्न थालेका छन् । आगामी दिनमा कसरी माओवादी धार एक जुट हुँदै जनयुद्धकालीन मुद्दामा एक ठाउँमा आउँछन् भन्न सक्ने अवस्था छैन । संयुक्त पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता महराले नौ दलमा अरु माओवादी धार समेत थपिएर बढ्ने दाबी गरे । आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएपनि द्वन्द्वका केही घटनालाई लिएर पुनः मुलुकलाई द्वन्द्वमा फर्काउने षड्यन्त्र भइरहेको महराले बताए ।  ‘यो लडाई अग्रगमन र पश्गमनबीचको लडाइँ हो । केही शाक्तिहरु राज्यको पुर्नसंरचना होइन प्रतिगमनको दिशामा मुलुकलाई लैजान चाहान्छन्’, महराले भने, ‘फेरि मुलुकलाई पछाडि धकेल्ने कि ? अग्रगमनमा लैजाने भन्ने कुरा प्रमुख विषय हो ।’ उनले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रहेको मुद्दा कुनै व्यक्ति विशेषको नभएको पनि बताए । ‘यो मुद्दा त एउटा प्रशंगमात्र हो, तर योसँग सम्बन्धित राज्यलाई अघि बढाउने कि पछि धकेल्ने भन्नेसँग जोडिएको छ’, उनले भने,  ‘हामी शान्ति चाहन्छौ र शान्तिप्रति विचलित छैनौं । तर राज्यको पुर्नसंरचना हुनुपर्छ, जनतामा भएको भेदभाव मेटिने किसिमले राज्य पुर्नसंसरचना नहुने हो भने यो द्वन्द्व निम्तिरहन्छ ।’

यस्तै नेकपा महासचिव विप्लवले सबै क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध भए आगाको ज्वालाले सबै खरानी हुने बताए । ‘अहिले जे देखिएका छन् । यो क्रान्तिको अपूर्णताले भएको हो । राज्यलाई नयाँ आधारमा पुर्नसंगठित गर्न आवश्यक छ ’ विप्लवले भने, ‘यो राज्य नेपाली जनताको भई सकेको छैन । हामीले बनाउन खोज्दै थियौं । साम्रज्यवादीका लठ्तहरुले लिएर गए ।’ संक्रमणकालीन मुद्दा प्रचण्डको मात्रै नभएर सम्पूर्ण परिवर्तन पक्षधरको समेत भएको विप्लवले बताए । देशको सम्पूर्ण स्वामित्व नेपाली जनताको हातमा आयो कि आएन भन्ने विषयमा सबैले हेक्का राख्नु पर्ने विप्लवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप