ओखलढुंगामा तीन वर्षमा एक्काइस दुर्घटना
ओखलढुंगा । ओखलढुङ्गामा सवारीसाधन दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्ला वर्षमा जिल्लामा सवारीसाधन दुर्घटना हुने क्रम बढ्दो छ । पछिल्लो तीन वर्षमा २१ सवारीसाधन दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई सवारी साधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।
आव २०७८/७९ मा नौ सवारीसाधन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । चालु आव २०७९÷८० मा १० सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । पछिल्लो समय सवारीसाधन दुर्घटना बढेका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले बताए ।
कच्ची सडक, कोचाकोच यात्रु दुर्घटनाको कारक
यही फागुन २१ गते चिशङ्खुगढीको दियालेमा जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो । बाह्र जना घाइते भए । खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना१ज ८४७३ नंको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनाको प्रमुख कारण कच्ची सडकमा कोचाकोच यात्रु बोक्नु नै हो । पाँचजनाको क्षमता भएको जिपमा १४ यात्रु थिए । अनियन्त्रित भइ जिप दुर्घटना भएको प्रहरी निरीक्षक देवेन्द्र दास बताउँछन् ।
“सडक मापदण्ड अनुसारका छैनन् । जथाभावी खनिएका सडक साँघुरा, असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका छन् । यात्रु कोचेर बोक्ने चलन छ”, उनले भने, “गाउँगाउँका सबै सडकमा प्रहरी परिचालन गर्न सकिने अवस्था छैन ।” जिल्लाका आठवटै स्थानीय तहका ७५ वटै वडाका टोेलटोलमा सडक खनिएको छ । तर स्तरोन्नति नहुँदा जोखिमयुक्त सडकमै यात्रा गर्नुपर्ने जिल्लावासीको बाध्यता छ ।
बीमा दाबी नहुँदा उपचारमा समस्या
क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटनामा परेका सवारीधनीले घाइतेको उपचार गराउन सकेका छैनन् । धेरैजसो सवारीधनी आफैँ चालक हुने, दुर्घटनामा चाकलसमेत घाइते हुने र सिट क्षमताअनुसार मात्रै बीमा हुने हुँदा समस्या भएको छ । यात्रुले बीमाको सुविधा नपाउँदा खर्च अभावले उपचारमा समस्या हुन्छ । यसरी क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटना भएका सवारीसाधनले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्तिसमेत दिन सकेका छैनन् ।
प्रायः सवारीले बीमा कम्पनीसँग चाकल, यात्रु र सडकमा ठोक्किन सक्ने परिस्थितिको समेत आङ्कलन गरेर तेस्रो पक्ष बीमा गर्ने र दुर्घटनामा परे उक्त बीमा दाबी गरेर पीडितलाई भुक्तानी गर्ने चलन छ । अझ कतिपय निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडाका यात्रु बोक्ने र दुर्घटनाको बीमा दाबी नहुने समस्या छ । सबैजसो चालकले नियम मान्नुको सट्टा ट्राफिक प्रहरीको आँखा छल्ने गरेका छन् । गाउँबाट सामान राख्ने ठाउँमा र छतमा समेत यात्रु राखेर ल्याउने चालकले सदरमुकाममा ट्राफिक देखिनुअघि नै यात्रु ओराल्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण