बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा सम्झौता विपरीत उठाइन्छ सवारी शुल्क

मङ्गलबार, ३० फागुन २०७९, १६ : २६
मङ्गलबार, ३० फागुन २०७९

रुपन्देही । बुटवलको बजार क्षेत्रमा बुटवल उपमहानगरपालिकाले लगाएको ठेक्का सम्झौता विपरीत सवारी साधनको ट्रिप शुल्क र पार्किङ शुल्क उठाउने गरिएको छ । उपमहानगरको नेतृत्व, कर्मचारी र ठेकेदार कम्पनीबिचको मिलेमतोमा सम्झौता विपरीत शुल्क असुली गर्ने गरिएको गुुनासो यातायात व्यवसायीको छ । यसरी शुल्क असुली गर्नु नीतिगत भ्रष्टाचार भएको उनीहरुको ठहर छ ।

बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) मा सम्झौता विपरीत दिवा सेवा र रात्रि सेवाका सवारी साधनबाट रकम असुली गर्ने कार्य जारी रहे पनि यसलाई नियमन गरिएको छैन । ठेकेदार पक्ष र उपमहानगरको तर्फबाट कर्मचारीहरु मित्रमणि खनाल, लेखनाथ पोखरेल लगायतले हस्ताक्षर गरेको सम्झौता पत्रमा आर्थिक वर्ष २०७९/०८० र ०८०/०८१ का लागि उपमहानगरले आह्वान गरेको बोलपत्रमा गणेश एण्ड सन्स कन्स्ट्रक्सनले ठेक्का पाएको छ । उक्त ठेक्का सम्झौतामा तोकिएको दररेट भन्दै कयौं गुणा फरक पारेर जथाभावी रकम असुली गरेको पाइएको छ ।

दुई आर्थिक वर्षका लागि कन्स्ट्रक्सनले २ करोड ९१ लाख ५४ हजार (भ्याटसहित) २०७९ असोज ३० गतेदेखि २०८१ असार मसान्तसम्म सञ्चालन गर्न ठेक्का पाएको हो । उपमहानगरपालिकाले गत भदौ १४ गते आय ठेक्का सम्बन्धी बोलपत्र आह्वानको पहिलो पटक प्रकाशित गरेको सूचनामा बसपार्कको क्षेत्राधिकार भन्दा बाहिरबाट शुल्क उठाउन नपाउने भनिए पनि कार्यान्वयनमा मनोमानी गरिएको छ ।

सम्झौता पत्रमा ३० वटा शर्त, नियम तथा प्रावधान उल्लेख छ । प्रावधानमा उल्लेख गरिएका शर्तहरुमा बसपार्कदेखि बाहिर रहेको पूर्वपश्चिम राजमार्गमा चल्ने लामो दूरीका बस, बुटवलको राजमार्ग चौराह, सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही–पाल्पा सीमाक्षेत्रमा पर्ने चिडियाखोला, नेपालगञ्ज रोड र नयाँ बसपार्क अगाडिको राजमार्गमा बसेर शुल्क उठाउन नपाउने स्पष्ट उल्लेख भए पनि ठेकेदार कम्पनीले ती ठाउँबाट दैनिक हजारौँ रुपैयाँ असुल्दै आएको छ ।

336165185_920498332430611_2705937954694152460_n

त्यस्तै सम्झौता विपरीत रात्रि सेवाका बसलाई सडकमा रोकेर सवारी शुल्क लिने गरिएको छ, जबकि सम्झौतामा रात्रि सेवाका बसलाई कुनै शुल्क नलिने उल्लेख गरिएको छ । यसरी असुल गरिएको शुल्कमा सवारी साधानको नम्बर समेत नलेखेर रसिद काट्ने गरिएको छ ।

ठेकेदार कम्पनीले अघिल्लो दुई महिनासम्म त बसपार्कभित्र पस्ने मोटरसाइकललाई समेत १० रुपैयाँ लिने गरेको थियो । सम्झौता विपरीत मोटरसाइकललाई पनि शुल्क लिएको गुनासो बढेपछि अहिले मोटरसाइकललाई शुल्क लिन छोडिएको ठेकेदार गणेश श्रीसले बताए । अन्य ठाउँमा भने सम्झौता अुनसार नै शुल्क लिएको उनको दाबी छ । उनले भने, ‘मानिसहरुले दिनभरि पनि पार्किङ गरिदिन्छन्, त्यस अुनसार शुल्क त लिनै पर्छ ।’

ठेकेदारसँगको सम्झौता अनुसार बुटवलबाट छुटेर रुपन्देहीको भैरहवा, पाल्पा, कपिलबस्तु, नवलपरासीसम्मको लामो दुरीको चल्ने सवारी साधनको ट्रिप शुल्क ६० रुपैयाँ तोकिए पनि ठेकेदारले १०० रुपैयाँ उठाउँदै आएको छ । दुरीको हिसावले साना र ठूला सवारी साधनलाई १० रुपैयाँदेखि ६० रुपैयाँ तोकिएको भए पनि ठेकेदार कम्पनीका २० जना कर्मचारीले २० देखि १०० रुपैयाँसम्म शुल्क असुल्ने गरेका छन् ।

सम्झौता अनुसार लामो दूरीमा एसी बस १००, लामो दूरीमा चल्ने बस, मिनीबस, माइक्रोबस ६०, लोकल रुटमा चल्ने बस, मिनीबस, माइक्रोबस ५०, छोटो दूरीको बस, मिनीबस, माइक्रोबस ५०, नगर रुट बस, मिनीबस, माइक्रोबस २०, लामो दूरीमा चल्ने टाटा सुमो, जीप आदि ४०, लोकल रुट टाटा सुमो, जीप आदि ३०, छोटो दूरी टाटा सुमो, जीप आदि २०, नगर रुट टाटा सुमो, जीप आदि १५, निजी भाडाका जीप तथा कार भ्यान आदि १५ र सामान ढुवानीका लागि रिक्सा टर्मिनल प्रवेश गर्दा १० रुपैयाँ प्रतिपटक लिन पाउने उल्लेख छ ।

स्थानीय यातायात व्यवसायी कमल बस्यालले भने, ‘यहाँ ठेकेदारका केटाहरुले आतङ्क मच्चाएका छन्, नगरपालिकाले तोकेको भन्दा दोब्बर शुल्क लिने गरेका छन्, प्रतिवाद ग¥यो भने कुट्नै आउँछन् ।’

335821950_237123608679416_6342092942887656149_n

उपमहानगरका प्रशासन शाखा प्रमुख रामप्रसाद अर्यालले सम्झौता विपरीत ठेकेदारले काम गरेको गुनासो आएपछि बोलाएर सम्झाउने काम गरेको बताए । उनले भने, ‘धेरै समय पार्किङ गरेको भन्दै शुल्क बढी लिने गरेको दाबी उसले गरेको थियो, हामीले चेतावनी दिएर सम्झौता अनुसार शुल्क उठाउन आग्रह गरेका छौं ।’

बसपार्कमा शुल्कको दररेट समेत राख्न सोमबार नै ठेकेदारलाई बोलाएर आग्रह गरेको उनले बताए । तर उपमहानगरका कर्मचारी र ठेकेदारकै मिलेमतोमा मनपरी सवारी शुल्क उठाइएको यातायात व्यवसायीको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप