बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सीके राउतले बनाए उपराष्ट्रपतिको उम्मेदवारीलाई ‘बार्गेनिङ टुल्स’

रामसहायलाई सशर्त समर्थन गर्न सक्ने जवाफ
बिहीबार, ०२ चैत २०७९, १६ : ४४
बिहीबार, ०२ चैत २०७९

काठमाडौं । १० दलीय गठबन्धनभित्र उपराष्ट्रपतिको साझा उम्मेदवार खडा गर्न सकस भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवारबारे सहमति हुन सकेन । जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गराएर जनमत पार्टीकी ममता झाको उम्मेदवारी निष्कृय बनाउने गठबन्धनको प्रयास सफल हुन सकेको छैन । यादवलाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमोर्चा, नेसपा र आजपा गरी ७ दलको समर्थन छ । गठबन्धनभित्रको जनमत, लोसपा र नाउपाको मिनी गठबन्धनले झालाई समर्थन गरेको छ । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई झाको उम्मेदवारी निष्कृय बनाउन आग्रह गरेका थिए ।

बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूले रामसहायप्रसाद यादवलाई साझा उम्मेदवार बनाएर जाउँ । ममताजीको उम्मेदवारी निष्कृय गर्नुस् भन्नुभयो । तर सीके राउतजीले मान्नुभएको छैन । आज मान्नु हुन्छ कि ?’

जसपाका उम्मेदवार यादवलाई समर्थन गर्न सीके राउतले शर्त अगाडि सारेको ती नेताले रातोपाटीलाई बताए । जसपाले मधेस प्रदेशको मुख्यमन्त्री आफूलाई छाड्न तयार भए उपराष्ट्रपतिमा यादवलाई समर्थन गर्न सकिने राउतको शर्त थियो । पुस १० मा एमाले नेतृत्वको गठबन्धन बन्दा मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति थियो । सोही सहमति अनुसार मधेस प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेले सभामुख पाएको छ ।

राष्ट्रपतिको निर्वाचनले पुस १० को गठबन्धन भत्किएपछि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको छ । मधेस प्रदेशको दोस्रो ठूलो दल कांग्रेसले ढेड वर्ष सरकारको नेतृत्व दाबी गर्न सक्ने राउतको बुझाइ छ । उनी उपराष्ट्रपतिको निर्वाचनलाई ‘बार्गेनिङ टुल्स’ बनाएर मधेस प्रदेशको नेतृत्व सुनिश्चित गर्न चाहन्छन् । ‘हामीले उपराष्ट्रपतिमा सहयोग गर्दा जसपाले मधेस प्रदेशको नेतृत्व छाड्छ त ? कि गठबन्धनमा हामी भोट मात्र हाल्ने हो ?,’ बैठकमा राउतको प्रश्न थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बन्दा आफू कर्नरमा पर्ने भय राउतमा देखिन्छ । मधेस प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाको १८, जनमतका १३, लोसपाका ९ माओवादीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । मधेस प्रदेश सभामा ६ जना स्वतन्त्र सांसद छन् । राप्रपाका दुई, संघीय समाजवादी पार्टी र नाउपाको एक–एक सांसद छन् ।

कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी मिल्दा मधेस प्रदेशमा जनमतको साथ अनिवार्य छैन । मधेस प्रदेशमा ५४ सांसदको समर्थन भए बहुमत पुग्छ भने कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीसँग ५५ सांसद छन् ।

जनमतले केन्द्रमा दुई मन्त्रालय र मधेस प्रदेशको नेतृत्वलाई शर्त बनाउँदा गठबन्धनमा सहमति हुन सकेको छैन । नयाँ गठबन्धन जनमतका उपाध्यक्ष अब्दुल खानले उपप्रधानसहित २ मन्त्रालय दाबी रहने बताएका थिए । उपप्रधानमन्त्री बन्ने अवस्था भएमा सीके राउत नै सरकारमा जाने सोचमा देखिन्छन् ।

उपराष्ट्रपतिको उम्मेदवारी देखाएर प्रधानमन्त्री र जसपा अध्यक्ष उपेन्द्र यादवमाथि राउतले दबाब बढाउन खोजेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा पुरुष उम्मेदवारलाई मत नदिने जवाफ पठाएको छ ।

रास्वपाले उपराष्ट्रपतिकी उम्मेदवार एमाले उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यलाई मत दिने सम्भावना बलियो छ । रास्वपाले मत नदिने जवाफ पठाएपछि जसपाले गठबन्धनमा सहमति जुटाउने प्रयत्न गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ ।

सोही अनुसार १० दलबिच साझा उम्मेदवार तय गर्ने प्रयास भइरहेको नेताहरु बताउँछन् । उपराष्ट्रपति निर्वाचनमा साझा सहमति खोज्न आज साँझ १० दलको बैठक पुनः बस्दैछ । माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आजको बैठकमा सहमति जुट्ने बताए ।

शुक्रबार (भोलि) नयाँ बानेश्वरको संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । मतदानका लागि संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिने छ । ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप