शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

विराटनगर भन्सार कार्यालयको राजस्व असुली लक्ष्यको ५७.३८ प्रतिशतमात्रै

अघिल्लो वर्षको तुलनामा साढे ५ अर्ब कम हुने अनुमान
शनिबार, ०४ चैत २०७९, ०६ : ३६
शनिबार, ०४ चैत २०७९

विराटनगर । कोभिड महामारीको समयमा पनि कुल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असुली गरेको विराटनगर भन्सार कार्यालयले यो वर्ष भने लक्ष्यको ५८ प्रतिशत पनि उठाउन नसक्ने देखिएको छ ।

कोभिडले आक्रान्त पारेको समय अर्थात् आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । उक्त वर्ष लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत अर्थात् २९ अर्ब ३१ लाख ३५ हजार रुपैयाँमात्रै राजस्व संकलन भएको थियो । उक्त आर्थिक वर्षको अन्त्यमा कोभिड १९ ले दुनियाँ आक्रान्त थियो ।

त्यस्तै कोभिडले संकटग्रस्त बनाएको आर्थिक वर्ष २०७७/०७८ मा भने राजस्व लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत असुली भयो । उक्त आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा कम लक्ष्य राखिएको थियो । उक्त आर्थिक वर्षमा ४६ अर्ब १४ करोड ९८ लाख ८९ हजार रुपैयाँ लक्ष्य राखिएकोमा राजस्व भने ४० अर्ब ८१ करोड ९० लाख १३ हजार असुली भएको थियो ।

उक्त लक्ष्यलाई पुनः बढाउँदै आर्थिक वर्ष २०७८/०७९ मा ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ लक्ष्य राखियो । असुली भने त्यसको ८१ दशमलव ४१ प्रतिशत अर्थात् अघिल्लो आर्थिक वर्षभन्दा झण्डै ३९ करोड कम ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजारमात्रै भयो ।

Biratnagar Vansar (1)

तर, चालू आर्थिक वर्षमा भने वार्षिक राजस्व असुलीको लक्ष्य नै अघिल्ला वर्षहरुभन्दा झण्डै ११ अर्ब बढी ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राखिएको छ । फागुन महिनासम्मको राजस्व संकलन भने विराटनगर भन्सार कार्यालयले जम्मा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै अर्थात् २२ अर्ब ३४ करोड ८ लाख छ ।

यस्तै यस आर्थिक वर्षको फागुन महिनासम्मको लक्ष्यमा असुली प्रतिशत भने ५७ दशमवल ३८ प्रतिशत रहेको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए ।  

उनका अनुसार कुल लक्ष्य भेट्टाउन विराटनगर भन्सार कार्यालयले अब दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व उठाउनु पर्दछ भने बाँकी १ सय २४ दिनमा ३७ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ राजस्व असुली गर्नु पर्दछ, जुन असम्भव जस्तै छ ।

1661150614_np_page-0001

भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व असुली लक्ष्य अनुसार भएको छैन । अहिलेकै जस्तो राजस्व असुलीको अवस्था रहने हो लक्ष्यमा पुग्नु त कता हो कता, विगतका दुई आर्थिक वर्षको भन्दा झण्डै साढे ५ अर्ब कम राजस्व संकलन हुने अवस्था देखिन्छ । लक्ष्यमा ५७ दशमवल ३८ प्रतिशत राजस्व संकलन हुनु भनेको झण्डै ३४ अर्ब ४४ करोड हो । अघिल्ला दुई आर्थिक वर्षमा राजस्व संकलन ४० अर्बभन्दा माथि भएको छ ।

विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । विगत ११ वर्षमा विराटनगर भन्सार कार्यालयले ६ आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको छ ।

आर्थिक वर्ष ०६८/०६९ देखि आर्थिक वर्ष ०७०/०७१ सम्म निरन्तर लक्ष्य अनुसारको प्रगति गरेको भन्सार कार्यालयले आर्थिक वर्ष ०७१/०७२ मा भने लक्ष्यको ९६ दशमलव ३३ प्रतिशत मात्रै राजस्व उठाउन सकेको थियो ।

यस्तै त्यसपछिको तीन आर्थिक वर्षमा पुनः लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल देखिएको विराटनगर भन्सार कार्यालय आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म भने लक्ष्य भेट्टाउन सकेको छैन ।

भन्सार कार्यालयले लक्ष्य अनुसार प्रगति गर्न नसके पनि राजस्व संकलनमा भने विगत ११ वर्षमा उल्लेख्य सुधार गरेको छ । ११ वर्ष अगाडि ११ अर्ब ७ करोड ५० लाख ९१ हजार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा ३ दशमलव ६५ गुणाले राजस्वमा वृद्धि भई ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ ।

१७ अर्ब ९५ करोड राजस्व संकलन भएको आर्थिक वर्ष ०७१/०७२ को तुलनामा आर्थिक वर्ष ०७२/०७३ मा उल्लेख्य वृद्धि भई २४ अर्ब ७९ करोड ६९ लाख ६५ हजार पुगेको थियो ।

कोभिड महामारीका कारण आर्थिक वर्ष ०७६/०७७ मा लक्ष्यको ५८ दशमलव ४२ प्रतिशतमात्रै राजस्व संकलन भएको बाहेक अन्य वर्षमा राजस्व संकलन अघिल्ला वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्ष भने अघिल्लो वर्षको तुलनामा पनि राजस्व संकलन घट्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप