शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

चैत ६ अघि कांग्रेसको सत्तारोहण कति सम्भव ?

शेखर–गगन समूहले खोज्यो सन्तुलित ‘हिस्सेदारी’
शनिबार, ०४ चैत २०७९, २३ : ०५
शनिबार, ०४ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनु अघि नै नेपाली कांग्रेस सत्ता पक्षको कित्तामा उभिने भएको छ । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक चैत ६ गते विश्वासको मत लिने तयारी छ । कांग्रेसले चैत ६ गतेअघि पार्टीको बैठक राखेर सरकारलाई विश्वासको मत दिने र संसदमा सत्ता पक्षको बेञ्चमा बस्ने भएको हो ।

कांग्रेस महामन्त्री गगन थापाले ५ गते बस्ने संसद बैठकमा समस्या नआउने गरी कांग्रेसले निर्णय लिने बताए । उनले रातोपाटीसँग भने, ‘हामी आजको दिनसम्म प्रमुख प्रतिपक्ष दलको हैसियतमा छौं । तर, चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा पहिल्यै हामीले विश्वासको मत दिने र सरकारमा जाने पनि निर्णय गर्छौँ ।’

कांग्रेसलाई चैत ५ गतेको प्रतिनिधिसभा बैठकमा सत्तापक्षको बेञ्चमा बस्न अप्ठ्यारो नहुने थापाको भनाइ छ । उनका अनुसार कांग्रेसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि सरकारमा सहभागिताबारे छलफल भएको छ । ‘विश्वासको मत दिनुअघि सरकारमा सहभागी हुने कि भन्ने विषय उठेको छ । तर ठोस छलफल भएको छैन,’ उनले भने ।

१० दलीय गठबन्धनभित्र चैत ५ को प्रतिनिधिसभा बैठक स्थगित गर्ने कि भन्ने विषयमा पनि छलफल भएको छ । कांग्रेस र एमाले दुवैले प्रतिपक्षी बेञ्चमा बस्ने भनेपछि गत १७ फागुनमा प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।

२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले, कांग्रेससहितका दलले विश्वासको मत दिएका थिए । त्यतिबेला एमाले सरकारमा सहभागी भएको थियो भने कांग्रेस प्रतिपक्षमा बसेको थियो । पुस १० मा बनेको सत्ता समीकरण फेरबदल भएपछि फागुन १५ गते एमाले सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएपछि एमालेले प्रतिपक्षी दलको दाबी गर्दै संसद सचिवालयमा पत्र पठाएको छ । कांग्रेस विपक्षी दलको लफडामा पर्नुभन्दा प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सरकारमा सहभागी हुने सोचमा छ । तर कांग्रेसले उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने भए पनि कसको नेतृत्वमा जाने भन्ने टुङ्गो लागेको छैन ।

‘हाम्रो जो मान्छे जान्छ, उपप्रधानमन्त्री भएर जानुपर्‍यो । एक जना मन्त्री सहभागी गराएर भएन,’ कांग्रेसका एक नेताले भने, ‘कांग्रेसबाट नेतृत्व गर्नेलाई सरकारमा पठाउनु पर्‍यो । नेतृत्व कसले गर्ने भन्ने टुङ्गिन बाँकी छ ।’

कांग्रेसभित्र पाँच जना ‘हेभीवेट’ नेताबिच सरकारको नेतृत्व गरेर जान हानथाप चलिरहेको छ । उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र प्रवक्ता प्रकाशशरण महत कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान चाहेको देखिन्छ ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट नेतृत्व गरेर उपसभापति खड्का जाने सम्भावना बलियो छ । मन्त्री नबन्ने घोषणा गरेका खड्का उपप्रधानमन्त्री बनेर सरकारमा जान तयार रहेको कांग्रेस नेताहरु बताउँछन् ।

पुस १० मै प्रचण्ड नेतृत्वको सरकार बन्ने अवस्थामा खड्काले उपप्रधानसहित गृह मन्त्रालयमा खुलेर दाबी गरेका थिए । अहिले आफ्नो कारण कांग्रेस सत्तामा जाने परिस्थिति बनेकै कारण खड्का सरकारमा जाने दाबी गरिराख्नुपर्ने अवस्था नरहेको बुझाइमा छन् । ‘पुस १० मा उहाँका लागि सरकारमा जाने आधार बनाउनुपर्ने थियो । अहिले उहाँलाई मैले नै निर्माण गरेको यो साम्राज्य भन्ने छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘अहिले दाबी गरिराख्नु पर्दैन, मै हो यहाँ त । शेरबहादुरलाई त यहाँ मैले ल्याएको भन्ने छ उहाँको अहिले ।’

तर कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान नेता विमलेन्द्र निधि पनि कम्मर कसेर बसेका छन् । ती पदाधिकारीले भने, ‘उहाँले मान्छे बोलाएर भेट्दै मेरा लागि भनिदिनु पर्‍यो भनिराख्नु भएको छ । उहाँले पार्टीका सबै पक्षसँग सरकारको नेतृत्व गरेर जान चाहेको जानकारी गराइराख्नु भएको छ ।’

नेता प्रकाशमान सिंहले पनि कांग्रेसबाट सरकारको नेतृत्व गरेर जाने गरी लबिङ तीब्र पारिरहेका छन् । पार्टीको १४ औं महाधिवेशनमा देउवालाई सभापतिमा जिताउन निर्णायक भूमिका खेलेका कारण पनि अहिले देउवाले उनलाई गुन तिर्ने चर्चा छ । सिंह उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्न इच्छुक रहेको उनी निकट स्रोत बताउँछ ।

यता नेता शेखर कोइरालामा पनि कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने मनसाय देखिन्छ । नेता कार्यकर्ताले ‘सरकारमा जाने हो ?’ भनेर प्रश्न गर्दा कोइरालाले प्रस्ट जवाफ नदिने गरेको पाइन्छ । ‘शेखर दाइले कहीँ पनि म सरकारमा जान्न भन्नु भएको छैन । सबैलाई कुरै भएको छैन भन्नु भएको छ,’ उनी निकट स्रोतले भन्यो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत पनि सरकारको नेतृत्व गरेर जान लालयित देखिन्छन् । उपप्रधान तथा अर्थमन्त्रीसहित आफ्नो नेतृत्वमा कांग्रेसलाई सरकारमा पठाउन उनले पार्टी सभापति देउवामाथि दबाब बढाएको बुझिएको छ ।

शेखर–गगन समूहको रणनीतिक छलफल

राष्ट्रपति प्राप्तिका लागि एक मत कांग्रेसमा शेखर–गगन समूह सरकारको सहभागिताबारे गुटगत रणनीति बनाउन सक्रिय भएको छ । बिहीबार साँझ नक्सालको एक होटेलमा उक्त समूहका सांसद र शीर्ष नेताहरुबिच छलफल भयो ।

सांसद दीपक गिरीको संयोजनमा भएको बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । शेखर कोइरालाले सरकारले विश्वासको मत लिएपछि सभापति शेबरहादुर देउवासँग कुराकानी हुने बैठकमा बिफ्रिङ गरेका थियो ।

सांसदहरुले संघदेखि प्रदेशसम्मको सरकारमा सहभागिता पार्टीभित्र सन्तुलित हुनुपर्नेमा जोड दिएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । छलफलमा शेखर र गगनले केही दिनमा सभापतिसँग कुराकानी गरेर न्यायोचित ढंगले अवसर दिलाउने आश्वासन दिएका थिए ।

‘कुनै साथीहरुले व्यक्तिगत रुपमा मिलाएर आफू–आफू मन्त्री हुनु भयो भने  समूहले स्वामित्व लिँदैन,’ ती नेताले भने, ‘त्यस्तो अवस्थामा पार्टीको ठूलो तप्काले सरकारलाई आफ्नो ठान्दैन । त्यस्तो अवस्थामा केही समयपछि सरकारलाई अप्ठ्यारो हुन्छ भन्नेबारे छलफल भएको छ ।’

शेखर–गगन समूहको एकदुई जना तानेर मन्त्री बनाइदिने सभापति देउवाको रणनीति देखिन्छ । देउवाको उक्त रणनीति सफल हुन नदिन शेखर–गगन समूहले आन्तरिक संवाद थालेको छ । कांग्रेसले १० वटा मन्त्रालयको दाबी गरेको छ । तर विगतमा एमालेले पाएका ८ वटा मन्त्रालयभन्दा कांग्रेसलाई कम नहुने देखिन्छ । कांग्रेसले ८ वटा मन्त्रालय पाउँदा सभापति देउवाले आफूहरुलाई बढीमा दुई मन्त्रालय मात्र दिने शेखर–गगन समूहको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप