सरिता डंगोलले आमालाई खाना पुर्याउँदा बिर्सनै नहुने रातो खुर्सानी
कलाकार तथा क्युरेटर सरिता डंगोलले पाँच वर्षअघि ललितपुरको मिखाबहालमा अवस्थित बगलामुखी मन्दिर परिसरनजिकै ‘नेवा छेँ’ ग्यालरी सञ्चालनमा ल्याएकी थिइन् । बीचमा बन्द रहेको यो ग्यालरी पुनः सञ्चालनमा आएको छ, भर्खरै (९ फेब्रुअरीदेखि ५ मार्चसम्म) यहाँ ‘एन ओडिसी विथ चिल्ली’ शीर्षकको सरिताकै एकल कला प्रदर्शनी सम्पन्न भयो । सरिताको यो १५औँ एकल कला प्रदर्शनी हो ।
नेपाली मौलिकता बोकेको पुरानो शैलीको घरको भुइँतलामा यो ग्यालरी अवस्थित छ । हेर्दै अनौठो, सुरुङजस्तो लाग्ने कम उचाइ भएको लाम्चो परेको कक्ष नै कलादीर्घाको रूपमा परिणत भएको छ । बगलामुखी र यस वरपर वास्तुकला नियाल्न आउने विदेशी पर्यटक समेत यस ग्यालरीमा कला अवलोकनका लागि पुग्ने गर्छन् । त्यसैले यो ग्यालरी कहिल्यै खाली हुँदैन ।
२५ वर्षअगाडि र अहिले
झन्डै २५ वर्षअगाडि उनले रुखको विषयवस्तुमा अनगिन्ती चित्र बनाएकी थिइन् । सन् १९९८ मा बुङमतीमा स्थलगत दृश्यचित्र गर्दा उनी रूखका हाँगाबिँगासँग रमाउन पुगेकी थिइन् । त्यसपछि नै एउटै विषयलाई आधार बनाई कला सिर्जना गर्ने नौलो कलाको धारमा उनी प्रवेश गरेकी हुन् ।
त्यतिबेला कलाकारहरू गाउँघर, एकान्ततिर गएर चित्र कोर्थे । प्रकृतिका प्रत्येकजसो अवयवलाई कलाकारले आफ्नो क्यानभासमा उतार्ने चेष्टा गर्थे ।
यसपालि एकै विषय (खुर्सानी)मा केन्द्रीभूत भएर विभिन्न संयोजनमा उनका चित्र देखिएका छन् । चित्रपटमा दोहोरिँदै गएका पात्रले आफ्नै कलाको नक्कल गरेजस्तो देखिन्छ तर आ–आफ्नै पहिचान बोकेको स्पष्ट अनुभव गर्न सकिन्छ ।
कति चित्रमा प्रत्यक्ष रूपमा खुर्सानी देखिँदैनन्, सामाजिक मूल्य–मान्यता, संस्कार, परम्परा आदिमा खुर्सानी शक्तिशाली पात्रको रूपमा प्रतिविम्बित भएका छन् । त्यसैले सबै चित्र एकै किसिमको देखिएको आभास हुन्छ, जो उनको कलागत विशेषता पनि हो ।
यसपालिको उनको काममा उनले बालपनमा सुनेको दन्त्यकथा, किंवदन्तीसँगै आफूले अपनाउँदै आएका संस्कार–संस्कृति पनि आएका छन् । यसरी कला र घटना आपसमा जोडिँदा समग्रमा लामो घटनापूर्ण भ्रमण भन्ने अर्थ निक्लन्छ । आफ्नै अतीतमा फर्कनु, जीवनका प्रत्येक स–साना घटनासँग विषयवस्तुलाई जोड्दै जानु, अहिलेको सन्दर्भमा पुराना घटनाका अर्थलाई केलाउँदै जानु आदि उनको कलाकोे मूल आधारभूमि देखिन्छ । यसो हुँदा उनका कलामा एउटै विषयका अनेकौँ रूप र स्वरूप चलमलाएका छन् । एउटै क्यानभासका अवयव पनि कतै अनमेल त कतै मेल खाएजस्तो भएर देखापरेका छन्, यही कलागत स्वभावका कारण सरिताको काम यतिबेला सबल अनि शक्तिशाली रूपमा देखापरेका छन् ।
एकै विषयमा चित्र बनाउनु भनेको कलाकार स्वयंका लागि अलिकता थप गहिरो ध्यान गरेजस्तो, गर्नुपरेजस्तो, ध्यानमा बसेजस्तो, खोजमूलक अनुसन्धान गरेजस्तो हुनु हो । यसले एक अलग्ग कलागत शैली र कलाकारको सिग्नेचर स्थापित गर्छ । थप शिल्प–दक्षता तिखारिने क्रम पनि हुन्छ । यस प्रकारको काममा शिल्प दक्षता अनि विषयगत ज्ञान दुवै रहनुपर्ने हुन्छ । यसर्थ पछिल्लो कालमा यसको महŒव अझ बढेको छ । स्वभावतः यसलाई भिजुअल आर्ट भन्ने प्रचलन छ र आजको कलाकारलाई ‘भिजुअल आर्टिस्ट’ भन्ने प्रचलन पनि तीव्र रूपमा बढेर गएको छ ।
१९औँ शताब्दीको अन्त–अन्ततिर विश्वकला बजारमा यस्तो कलागत प्रवृत्ति, प्रचलन र कलाकारको निजी अनुभवसँगै सिर्जनशीलता देखापरेको थियो । परम्परागत कलागत मान्यता (लाए–अह्राए अनुसार कला सिर्जना गर्ने, कमिसन वर्क)भन्दा बाहिर खुला आकाशमुनि आएर कलाकारले स्वतन्त्रताको श्वास यसैबेलादेखि फेर्न थालेका थिए । कला इतिहासमा यसलाई प्रभाववादीको आन्दोलनको रूपमा लिने गरिन्छ । यस्तायस्तै सोच र कलागत प्रवृत्तिले गर्दा पनि त्यस बेलालाई आधुनिक कला आउँदै गरेको संकेतका रूपमा कलाविद्ले व्याख्या गरेका थिए । त्यसबेलाका कलाकार कुनै निश्चित अझ निरस विषयमा आफ्नो शिल्पी क्षमतालाई एक अर्थका साथ उजागर गर्ने कोसिस गर्दथे । अनि यसै विषयमार्फत आफ्नो कलागत दर्शन र विचार पस्कने उपक्रम गर्दथे । जुनसुकै विषयमा कला बनाउँदा पनि कलाको सौन्दर्यता, कलाको ओजलाई पस्कन सकिन्छ भन्ने विचार त्यसबेलाका कलाकारमा देखिन्थ्यो । विषय खोज्न भौँतारिरहनुपर्दैन भन्ने निचोड कलाकारले त्यसबखत बनाएका थिए ।
त्यसै बेलाका कलाकार क्लाउड मोनेटले परालको थुप्रो, पानीको दह र यसमाथि फुलिरहेको फूलहरू, चर्चका एउटै मात्र भागलाई पनि कलाको विषय बनाएका छन् । प्रकाशको प्रभावले परिवर्तन हुँदै जानुले भावकमा जुन किसिमले दृष्टिभ्रमको उदय हुन्छ, त्यसलाई उनले प्रस्तुत गर्न खोजेका थिए । नेपालमा यस्तै कलागत प्रवृत्ति सन् १९७० को उत्तराद्र्धमा उदाएको थियो । मूर्त–अमूर्त दुवैतिर ढल्केर कहिले सिरिजको रूपमा त कहिले विषयलाई गहन खोज गर्ने सन्दर्भमा यो कलाको प्रवृत्तिले नेपालमै पनि आफ्नो एक अलग्ग स्थान बनाएको देखिन्छ ।
सरिताको सक्रियता
मूलतः सरिता आफैँ पनि ९० को उत्तरार्धमा (विशेष गरे सन् १९९२ देखि) देखापरेकी सिर्जनशील र अति सक्रिय भिजुअल आर्टिस्ट हुन् । त्यसबेला राष्ट्रमा पनि पञ्चायतकाल ढलेर बहुदलीय शासन आएको अवस्था थियो । समाज अलि खुला भएको अवस्था अनि महिला युवा कलाकार पनि कला स्टुडियोबाट बाहिर खुला प्रकृतिमा आई कला कोर्ने, प्रतीकात्मक भाव अभिव्यक्तिलाई चोटिला पाराले पोस्ने गर्दथे । यी र यस्तै माहोलमा सरिता मूल धारका कलाकारको रूपमा उदाएकी थिइन् ।
पछि उनी नेपालमा देखापरेको वैकल्पिक आर्टको अगुवामध्ये एक बन्न पुगिन् । सन् २००२ तिरै जापानको सपारो भन्ने ठाउँमा जान पाएकी उनले इन्स्टलेसन अनि पर्फमेन्स कलाको अद्भूत सिर्जना गरेकी थिइन् । त्यतिबेला उनले केटाकेटीहरुलाई आफ्नो कलाको पात्र बनाएकी थिइन् । अर्को निर्जीव पात्रका रूपमा गोजा र डोरी थियो । गोजा, जसलाई नेवार समुदाय, विशेष गरेर बौद्ध सम्प्रदायमा स्तुपाको सानो प्रतीकात्मक विम्बको रूपमा गुभाजुहरूको पूजामा अति आवश्यक रूपमा प्रयोग गर्ने गरिन्छ । चिउरालाई पिठो बनाएर यस्ता गोजा बनाउने गरिन्छ ।
एक अर्कासँग मिल्नुपर्छ, मिलेर बस्नुपर्छ भन्ने अवधारणा (कन्सेप्ट)का साथ समतल भूमिमा ती गोजाहरू स्थापित गरिसकेपछि उनले धागोले एक–अर्कामा बाँधेर जोडेकी थिइन् । त्यसपछि बच्चालाई यसैको वरिपरि घुमिघुमी खेल्न भनिएको थियो । ‘एक–अर्कासँग मिलेर बस्नुपर्छ’ भन्ने आवाज त्यहाँ खेलिरहेका केटीकेटीले गुञ्जायमान गराउँदा एक अनौठोको कला बन्न गएको थियो । कलामा बालबालिका संलग्न गराउने परम्परालाई उनले आजको दिनसम्म छाडेको देखिँदैन । केटाकेटीसँगको उनको कलागत नाता अझ खदिलो रूपमा देखिन थालेको छ । यसको ज्वलन्त उदाहरण हो– अहिले उनले सञ्चालन गर्दै गरेको ‘कम्युनिटी चिल्ड्रेन आर्ट स्कुल’ ।
सन् २००२ मा उनी जापानको फुकुओकामा ‘साउथ एसिएन आर्टिस्ट रेसिडेन्सी’बाट अवार्डेड भइन्, त्यस बेला उनले जापानी रंगीन बालुवाबाट मन्डला बनाई अर्को इन्स्टलेसन आर्टको सिर्जना गरेकी थिइन् । यो खालको नेपालको परम्परागत कलाको अनुपम प्रतीकात्मक विम्ब, जसलाई विदेशमा समेत चिनाउने उनको प्रयास थियो । यसर्थ उनको यो काम अझ महŒवका साथ देखिन गएको थियो ।
अहिलेसम्मको प्राप्त आधिकारिक अभिलेख अनुसार, नेपालबाट बाह्य राष्ट्रमा गएर गरिएको इन्स्टलेसनमध्ये यही नै पहिलो हो, (देशबाहिर बसेर यस्ता कला सिर्जना गर्ने अरु पनि छन्, यसको उल्लेख गरिएको छैन) ।
त्यसबेला रेसिडेन्सी कला (नेपाली र विदेशी कलाकारलाई समेत संलग्न गराएर कला गर्नु)को सन्दर्भ पनि देखिन गएको छ । झन्डै तीन महिना लामो यो रेसिडेन्सी कला यता कुनै नेपाली कलाकारले गरेको देखिएको थिएन । अहिले नेपालमै यस्ता रेसिडेन्सी कला भरपूर प्रयोग हुन थालेका छन् । रेसिडेन्सी कलाको शुभारम्भमा सरिताले प्रयोगात्मक काम गरेकी थिइन् ।
यसको एक वर्षपछि (सन् २००३ मा) सूत्र भन्ने कला समूहले रेसिडेन्सी कलाको बिजारोपण गर्दै वर्कसप र आन्दोलनकै रूपमा अगाडि बढायो । सरिता सूत्र कला संस्थाको एक सक्रिय कार्यकारी सदस्य थिइन् । यसबेलादेखि आजसम्म उनी उत्तिकै सक्रिय रूपमा कला क्षेत्रमा संलग्न भइरहेकी छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय कलाका कार्यशालामा भाग लिएकी सरिताले अनगिन्ती प्रयोगात्मक काम गरेकी छन् ।
बाल्यकाल र खुर्सानी
सरिताको बाल्यकाल कीर्तिपुरमा बित्यो । परिवारकी जेठी सन्तान भएकीले उनको मुख्य जिम्मेवारी खाना पकाउने र पसल चलाउने आमालाई खाना पुर्याउने थियो । खानाको डब्बाभित्र खुर्सानी अनिवार्य रूपमा हुनैपर्ने कुरामा उनी सचेत हुन्थिन् । यसो भएन भने नराम्रो आत्माले दुःख दिन्छ भन्ने संस्कार, कुसंस्कार आदिले उनलाई त्यसबेला छपक्कै छोपेको थियो, जसले उनलाई अहिलेसम्म छाडेको छैन ।
आमालाई खाना लिएर बाटोमा निस्किसकेपछि उनले कहिलेकाहीँ खुर्सानी राख्न बिर्सेको सम्झिन्थिन् । अनि दौडेर घर आएर रातो खुर्सानी लिएर जान्थिन् । भूतलाई भगाउने नाममा बजैले घरधुरीको मुन्तिर झुन्डाएको कागती, खुर्सानी, पातहरू अहिले पनि उनको मानसपटलबाट मेटिएको छैन । बच्चादेखिको यही मिथ, सामाजिक मूल्य–मान्यता अनि यस बेलाका यस्तायस्तै घटना सम्झना आउँदा यसैको वरिपरि बसेर यस्ता चित्रको निर्माण भएका छन् ।
खुर्सानीलाई पात्र बनाइएका उनका यसपालिका कलामा शैली, प्रस्तुति, रङको संयोजन र संगठन उत्कृष्ट छ । यो उनको आफ्नै कलागत सिग्नेचरको दोस्रो पाइला हो कि जस्तो भएर देखिएको छ । उनी आफ्नो कलागत आस्था र विश्वासमा अडिग छन् । बालबालिकासँग जोडिनका लागि उनले यसपालि बाल्यावस्थाका घटना ल्याएकी छन् । परम्परा, लोकगाथा वा संस्कारसँग जोडिनुपर्दा, झन्डै बीस वर्षअघि मोटिफको रूपमा प्रयोग गरेको गोजाको ठाउँमा आज उनले खुर्सानीको विम्ब जोडेकी छन् । यो उनको अन्तर्मनमा बसेको नेवारी संस्कारको उपज पनि हो ।
यसपालि उनको एउटा चित्रमा नीलो, चिसो–शीतल रंगले पृष्ठभूमिलाई सर्वांग ओगटे छ, त्यसपछि पाँचवटा ठुल्ठूला खुर्सानी चित्रपटको अग्रभागमा ठिंग उभिएको देखिन्छ । राता खुर्सानी पनि हल्का पहेँलो हुँदै वातावरण सँगसँगै नीलो, हरियो वा अझ शीतल भएका, हुन खोजेका देखिन्छन् । खुर्सानीका डाँठ पाँचवटै पाँचतिर फर्किएका पनि देखिन्छन् । अनमेल भएको जस्तो, ठुस्किएकोजस्तो पारामा बसेका डाँठका विम्बले असहज अवस्थाको बोध पनि हुन्छ । महिलामाथि गरिँदै आएको विभेदपूर्ण व्यवहार देखाउन पनि यसैको विम्बको रूपमा उनले वरदेखि वरसम्मै काँडेतार लगाइएकी छन् ।
अहिले थोरबहुत सबैजसो महिला कलाकारमा यस्तायस्तै कलागत स्वभाव देखिन्छ । बालककालदेखि नै जिम्मेवारी बोकेकी सरितामा भने यस्तै अवस्थासँग खासै दुखेसो देखिँदैन । यसैले त काँडेतारसँगै खुसियाली शीतल वातावरण पनि दृश्यावलोकन हुन्छ, उनको चित्रहरूमा । यही नै एउटा ज्वलन्त उदाहरण हो ।
अर्को एउटा चित्र छ, जसमा पाँचैवटा खुर्सानी पात्रको रूपमा उदाएका छन् । गरम रंगमा समायोजन भएको यो चित्रमा हरिया पात र काँडेतार दुवै छन् । पहेँलो र खैरो रंगले पहाड र आकाशको भागजस्तो दृश्यावलोकन हुँदा यसले थोरै दृश्यचित्रको आभास गराउँछ ।
अर्को एउटा चित्र अलिकता भावनात्मक रूपमा छ । पृष्ठभूमिका पर्खाललाई स्थापित गराइसकेपछि अग्रभागमा एउटा कुर्सी अनि कुर्सीमाथि दुइवटा ठुल्ठूला खुर्सानी छन् । साइडमा पानीको भाँडो आदिलाई संयोजन गरिएको छ । कहीँ न कहीँ आफूमा जिम्मेवारी थपिँदा खाजा र खानाको थुप्रो बोकी पसलमा गएकी आमालाई खाना खुवाउन हिँडेजस्तो, खुर्सानी बिर्सेको जस्तो भाव यस चित्रमा प्रतिविम्ब भएको बुझिन्छ ।
अर्को चित्र अलि फरक लाग्छ । विषयभन्दा पर तर पनि नजिकजस्तो देखिने यस चित्रमा डाडुपन्यु, कप र चम्चा, चपिङबोर्ड आदि पात्रलाई संयोजन गरिएको छ । मात्र स्टिल–लाइफ जस्तो भएर देखापरेको यो कम्पोजिसन पनि उनको अतीतसँग गहिरो गरी गाँसिएको आभास हुन्छ ।
कीराले खाएको सुकेको पात अनि पछाडि बडेमानको खुर्सानीको अर्को चित्र, मूलद्वार नेवारी कलात्मक भित्तेचित्रले सजिएको, आदि प्रतीकात्मक विम्बका साथ उनको अर्को चित्र छ । उनले खुर्सानी र त्यस जोडिएका दृश्य चित्रमा ल्याएकी छन् । जस्तो ः गोलाकारमा मिलेर बसेका सुकेका खुर्सानी, श्यामश्वैतमा बनेका लयात्मक नाच्न बसेका खुर्सानी, गमलामा फलेका राता खुर्सानी, चारैतिर खुर्सानीले घेरे पनि बीचोबीच भागमा बसेको पैसाको ढ्याक, उज्यालो पहेँलपुर पृष्ठभूमिमा अग्रभागमा पूरै चित्रपट ढाक्ने गरी अटेसमटेसमा बसेका तीनवटा राता–राता खुर्सानी, बास्केटभरि र त्यसबाट छछल्केर चारैतिर झरेका राताराता खुर्सानी, नीलो–हरियो अनि पहेँलो अमूर्ततामा देखापरेको पात र खुर्सानीको प्रतीकात्मक विम्बहरू, तीन विभिन्न मुकुण्डोका साथमा घरको भित्तामा तर्लाङतुर्लुङ झुन्डिएका खुर्सानी आदि–इत्यादि अनेकौँ चित्रले सजिएको यो प्रदर्शनी एक अजीव किसिमबाट प्रस्तुत भएको देखिन्छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव
-
आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?
-
शिक्षकले हजार उठबस गराएपछि जीवनभर अशक्त भए किशोर
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक