बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आफू बोल्दै गर्दा अगाडिबाट प्रचण्ड हिँडेपछि प्रेम सुवालले भने– ‘यो संसद कि कुनै क्लब हो ?’

आइतबार, ०५ चैत २०७९, १४ : ३७
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बोलिरहेका बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड हिँडेपछि उनले आपत्ति जनाएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्ड ढिलोगरी संसद बैठकमा पुगेका थिए, जतिबेला सांसद सुवाल आफूले गरेको विरोधको सूचनामाथि बोलिरहेका थिए । 
प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको संवैधानिक परिषदको काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद सुवालले विरोधको सूचना दर्ता गरेका थिए । 

सो सूचनामाथि मन्त्री शर्माले प्रष्ट पारेपछि विरोधको सूचना फिर्ता लिने हो त्यसका लागि सभामुख घिमिरेले सांसद सुवाललाई समय दिएका थिए ।  सांसद सुवाल आफूले जुन बिषयमा बोल्न समय पाएका थिए त्यसमा नबोली केही महिनाअघि सप्तरी शोषिता दासलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको र उनले न्याय नपाएको बताउन थाले । सभामुख घिमिरेले उनलाई आफूले समय दिएको विषयमा बोल्न ध्यानकर्षण गराएपछि सुवालले आफूले अघिल्ला बैठकमा पनि सो बारे कुरा उठाउँदा कुनै मन्त्रीबाट जवाफ नआएको बताउँदै सभामुखलाई संसदको सदस्य जनताको प्रतिनिधि भएकोले जनताको कुरा उठाउन पाउने बताइरहेका थिए ।

सोही बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड आफ्नो सिटतर्फ गएपछि सांसद सुवालले आक्रोश ब्यक्त गर्दै भने– ‘संसद सदस्य भनेको जनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले बोलेको विषय सरकारले सुनुवाई गर्दैन भने यो संसदबाट प्रधानमन्त्री छनोट गर्नुको औचित्य हुँदैन । त्यसकारण संसदबाट निर्वाचित प्रधानमन्त्री हो भने संसद सदस्यले उठाएको विषयको जवाफ आउनुपर्छ । जनता मरिरहेका छन्, किसानले मल पाइरहेका छैनन् । किन नपाउने किसानले मल ? किसानले मल नपाएपछि हामी सांसदले पनि खान पाउँदैनौँ नी चामल । (प्रचण्ड सुवालको अगाडिबाट आशनतर्फ जान्छन्) प्रधानमन्त्री ज्यूले यसरी बोलिरहँदा अगाडिबाट क्रस गर्न पाइँदैन सभामुख महोदय । यो के हो ? यो संसद हो कि क्लब हो ? क्लब हो भने क्बलको सामानहरु आउनुपरयो यहाँ । गीत गाउनेहरु आउनुपर्यो । अनि नाच्ने गाउनेहरु आउनुपर्यो । हैन भने संसदको नियम त पालना हुनुपर्यो नी ।’

सभामुखले विषयवस्तुमा प्रवेश गर्न पुन आग्रह गरेपछि सुवालले आफूले विषय केन्द्रीत रहेको भन्दै सिरहाको लहानमा एक ब्यक्तिको हत्या भएको र गृहमन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे । उनले आफूले दर्ता गरेको विरोधको सूचना फिर्ता नलिने समेत बताउँदै सांसदले उठाएको प्रश्न सरकारले दिँदैन भने त्यस्तो सरकारलाई राजीनामा गराउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप