आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा उपचाररत वर्षमानद्वारा प्रचण्ड र देउवासँग फोन संवाद

मङ्गलबार, ०७ चैत २०७९, १७ : १६
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् । 

पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ । नेता पुनले संसदका झन्डै दुई तिहाइ सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए ।

 दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोजगारी सृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए । ‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन’, पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन् ।’

 देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामा गएका दलहरू एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुसी व्यक्त गरे । उनले प्रमुख दुई नेता गठबन्धनका दलहरू मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने उल्लेख गरे । ‘हामी सँगै भएपछि चुनावमा गठबन्धन दललाई मत दिएका मतदाताको सम्मान भएको छ’, पुनले देउवालाई भने, ‘यसलाई सफल पार्न दुई नेता र पार्टीले देश र जनताको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सहकार्य कसिलो कसिलो बनाएर अगाडि जानुप¥यो ।’ जवाफमा देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्नेमा आफूहरूले आश्वस्त तुल्याउने बताए । 

प्रचण्ड र देउवा दुवैले पुनको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै निको भएर फर्कन भनेका छन् । 

पुन जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुन बेथा बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित पुन अस्वस्थताका कारण मतदातासमक्ष मत माग्न समेत जान सकेका थिएनन् ।  उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक श्रोतका अनुसार पुनको स्वास्थ्यमा चमत्कारिक सुधार भएको छ । उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर ३.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् । तर, पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुने गरेको छ । स्वास्थ्यमा चमत्कारिक सुधार भइरहे पनि चिकित्सकले बिलरुबिनको मात्रा २ बिन्दुमा झारेपछि मात्र नेपाल फर्कन भनेको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

 पुनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप