मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

रुपन्देहीका चार ठुला परियोजना : उद्घाटन गर्न हतार, सञ्चालनमा बेवास्ता

शुक्रबार, १० चैत २०७९, ०७ : २०
शुक्रबार, १० चैत २०७९

बुटवल । रुपन्देही जिल्लामा ठुला परियोजना एकपछि अर्को बन्दै गरेका छन् । तर ती परियोजना जति उत्साह र चटारोका साथ उद्घाटन गरिन्छ, तिनको सञ्चालनमा ध्यान नदिँदा समुचित प्रतिफल प्राप्त हुन त परै जावस्, दैनिक लाखौं रकम घाटा व्यहोर्नु परिरहेको छ ।

अर्बौं रुपैयाँ लगानीमा सरकारले निर्माण गरेका परियोजनाहरू सञ्चालनमा ध्यान नदिँदा दैनिक लाखौं रुपैयाँ नोक्सान व्योहोर्नु परेको छ ।

रुपन्देही जिल्लामा रहेका ठुला परियोजनामध्ये बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र प्रमुख हुन् । यी कुनै पनि परियोजना पूर्ण रूपमा सदुपयोग हुन सकेका छैनन् ।

तामझामका साथ उद्घाटन भएका यी परियोजनामध्ये कुनै एक वर्षसम्म पनि कार्यविधि नबनेका कारण थन्किएका छन् भने कुनै दीर्घकालीन सोचबिना निर्माण गर्दा पूर्ण क्षमताअनुसार सञ्चालन हुन नसकेको अवस्थामा छन् ।

लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा.दामोदर भुसालले ठुला परियोजना निर्माण गर्दा दीर्घकालीन सोच नबनाएर हतारमा कार्यान्वयनमा जाँदा अहिले समस्या देखिएको बताए ।

उनले विकास परियोजनामा ठुलो लगानी गर्दा यसबाट कति लाभ लिन सकिन्छ भन्ने आकलन नगरी हतारमा निर्माण गर्ने र उद्घाटन गर्ने तर त्यसपछि सञ्चालनको लागि चाहिने आवश्यक कार्यविधि, अरू विषयहरूमा एकले अर्काको मुख ताक्ने परिपाटीले समस्या निम्त्याएको प्रस्ट पारे ।

‘योजना निर्माण हुनु अघि नै कसरी चलाउने, कसरी लाभ लिने भन्ने प्रस्ट खाका तर्जुमा हुनुपर्थ्यो,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । तर रुपन्देहीमा निर्माण भएका ठुला लगानीका परियोजना पूर्ण सदुपयोग हुन नसक्दा नोक्सान भइरहेको छ ।’

आयोजना सुरु गर्दा नै कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट खाका तयार नहुँदा रुपन्देहीमा निर्माण भएका ठुला आयोजना उपयोगविहीन बनेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताए ।

एउटा एयरलाइन्सको उडानले धान्दै अन्तर्राष्ट्रिय विमानस्थल

biman

गत वर्षको जेठमा उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडानको नाम एकमात्र विदेशी विमान कम्पनीले सेवा प्रदान गरेको छ । 

बिचमा रोकिएर  फेरि  कुवेतको जजिरा एयरवेजले हप्ताको तीन दिन उडान गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति, आवश्यक उपकरण जडानमा सरकारले समयमै काम नगर्दा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको हो । यो विमानस्थलको प्रमुख समस्याका रुपमा हवाई रुट रहेको छ ।

यो विमानस्थल उद्घाटन भएपछि जजिरा एयरवेजले गत कार्तिकसम्म सातामा दुई उडान गरे पनि जाडो मौसमसँगै अन्तर्राष्ट्रिय उडान ठप्प रह्यो । फेरि अहिले जजिराले उडान थालेको छ । अहिले हप्ताको तीन दिन उसले उडान भर्दै आए पनि अन्य एयरलाइन्सले यहाँबाट सेवा सुरु गर्न खासै चासो देखाएका छैनन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोविन्दराज दाहालले विमानस्थलमा नयाँ उडानहरू थपिने क्रममा रहेको बताउँदै आएका छन् । यद्यपि, विमानस्थल संचालन भएको १० महिनासम्म पनि अन्तर्राष्ट्रिय उडान विस्तारमा यो विमानस्थल असफल देखिएको छ ।

विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी निराशजस्तै रहेको भैरहवाका पर्यटन व्यवसायी सागर अधिकारीले बताए । उनले रुटको विषयमा भारतसँग  कुटनीतिक माध्यमबाट कुरा गरेर समस्या समाधानतर्फ लाग्नुपर्ने बताए ।

लुम्बिनी ध्यान केन्द्र पनि उपयोगविहीन

लुम्बिनीमा ५ हजार जना क्षमताको ध्यान केन्द्र छ । गत जेठमा सभाहल निर्माण सकिएपछि यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहभागितामा बुद्ध जयन्तीको मूल समारोह आयोजना गरिएको थियो ।

त्यसयता योगा दिवसको अवसरमा एक दिने कार्यक्रम, फागुन ३ गतेदेखि सात दिनसम्म भारतका मुरारी बापुको रामकथा वाचन कार्यक्रम बाहेक यो हलमा अन्य कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

करोडौं लगानी भए पनि त्यसअनुसारको प्रतिफल हासिल नहुनु चिन्ताको विषय रहेको उक्त क्षेत्रका पूर्व प्रदेशसभा सांसद तथा नेपाली कांग्रेसका नेता फखरुद्दिन खानले बताए । उनले भने, ‘उद्घाटन त तामझामका साथ भयो तर त्यसपछि कार्यक्रम शून्यजस्तै छ ।’ 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण (ढुण्डिराज) भट्टराईले कार्यविधि नहुँदा समस्या भएर अन्य कार्यक्रम सञ्चालन हुन नपाएको बताए । उनले अहिले कार्यविधि निर्माण प्रक्रियामा रहेको जानकारी दिए ।

५८ करोड ७९ लाख लगानीमा बनेको सभाहल सञ्चालनमा सक्रियता नदेखिएपछि बुद्ध जयन्तीको मूल समारोह गर्ने स्थानमा मात्रै यो सीमित हुने त होइन भन्ने चिन्ता बढेको स्थानीय होटल व्ययवासी खेम श्रेष्ठले बताए ।

विशेष आर्थिक क्षेत्र (सेज) को अवस्था पनि उस्तै

pradhikaran

२०७१ मंसिरमा तत्कालीन उद्योग मन्त्री महेश बस्नेतले उद्घाटन गरेको रुपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज)मा अहिलेसम्म प्लट भरिनेगरी उद्योग स्थापना हुन सकेका छैनन् ।

यहाँबाट अर्बैको उत्पादन विदेश निर्यात गर्ने योजना भए पनि सञ्चालनका कार्यविधि, नियमहरू नबन्दा सेजले अहिलेसम्म पनि उद्योग पाउन सकिरहेको छैन । सेजमा कुल ६८ वटा प्लट छन् । जसमध्ये २२ वटा प्लटमा सात वटा उद्योग सञ्चालनमा छन् । एउटा प्लट विद्युत् सबस्टेशनका लागि हो भने अन्य ४५ वटा खाली प्लटमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको थियो ।

प्रस्ताव आह्वान गर्दा १६ वटा उद्योगले स्वीकृति लिएको जनाइएको छ । १६ मध्ये ४ उद्योगले अहिले संरचना निर्माण थालेका छन् । सेज स्थापना गर्दा सरकारले स्पष्ट मापदण्ड र नीतिगत व्यवस्था गर्न नसक्दा सरकारी लगानी खेर गइरहेको उद्योेगीहरु बताउँछन् ।

सेजमा उद्योग सञ्चालन गरेपछि ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान छ । तर उद्योगीहरू अहिलेको प्रतिस्पर्धी बजारमा निर्यात गर्न सरकारकै विशेष सहयोग हुनुपर्ने बताउँछन् । सेजका कार्यकारी निर्देशक डा. चन्द्रिकाप्रसाद भट्ट उद्योगका लागि दिइनुपर्ने सेवासुविधाहरु उपलब्ध रहेको दाबी गर्छन् । उनले अन्य नमिलेका विषयवस्तु मिलाउने प्रयासमा रहेको बताए ।

बुटवल सम्मेलन केन्द्र : कार्यविधि नबन्दै उद्घाटनमा हतार 

bicc2

बुटवल– १०, रामनगरस्थित बुटवल मण्डपमा एक अर्ब ११ करोडको लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ ११ गते भव्य समारोहकाबिच उद्घाटन गरेको सम्मेलन केन्द्र कसरी सञ्चालन गर्ने भन्नेमा अहिलेसम्म कार्यविधि बनेको छैन ।

उद्घाटन भएको ६ महिना बित्दासमेत विभिन्न मन्त्रालयमा यसको कार्यविधि निर्माणसम्बन्धी फाइल पेस भइरहे पनि अझै निर्णय भएको अवस्था छैन । 

deuba

यो सभाहल निर्माणको उद्देश्य ठुला सभा, सम्मेलन गर्नु हो । यो उद्घाटन भएपछि लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगर र एक सामाजिक संस्थाले गरी तीन पटक प्रयोगमा आएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइका प्रमुख धर्मेन्द्र पन्थीले बताए । 

कार्यविधि नबन्दा यसलाई कुन तरिकाले सञ्चालन गर्ने भन्ने टुङ्गो लाग्न नसकेको उनको भनाइ छ । कार्यविधि सहरी, अर्थ र कानुन मन्त्रालयको स्वीकृतिपछि मन्त्रिपरिषद्ले पारित गर्नेछ ।

बुटवल मण्डपको ९ बिगाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण भएको यो सम्मेलन केन्द्र काठमाडौं बाहिरकै सबैभन्दा ठुलो भएको दाबी गरिएको छ ।

सम्मेलन केन्द्रको मासिक सञ्चालन खर्च करिब १३ लाख रुपैयाँ छ । अहिले निर्माण कम्पनीले नै यसको रेखदेख गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप