आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

नेपालमा ६० प्रतिशत क्यान्सर रोगीले ऋण काढेर गर्छन् उपचार

शुक्रबार, १० चैत २०७९, १० : २५
शुक्रबार, १० चैत २०७९

काठमाडौं । नेपालमा क्यान्सरका ६० प्रतिशत रोगीले उपचारका लागि ऋण काढ्नुपर्ने बाध्यता छ । एक अध्ययनले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भएका बिरामीमध्ये ६० प्रतिशतले आफन्तबाट ऋण लिई उपचार गरेको देखाएको छ । यस्ता रोगीमध्ये १६ प्रतिशतले घरजग्गा नै बेचेर उपचार गरेको पाइएको छ । क्यान्सरका २७.२ प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च व्यहोर्ने गरेको सो अध्ययनले देखाएको छ ।

सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भई उपचार र पहिचानका लागि लाग्ने खर्चको प्रमुख स्रोतमा कृषि ४२.७ प्रतिशत, व्यापार २२.३ प्रतिशत, दैनिक ज्याला मजदूरी ११.७ प्रतिशत, सरकारी सेवा ८.७ प्रतिशत, वैदेशिक रोजगार ८.७ प्रतिशत रहेको पाइएको छ । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भई डिस्चार्ज भएका १०३ जना बिरामीमा अनुसन्धान गरिएको जानकारी दिए ।

सुर्तीजन्य पदार्थबाट ओठ, जिब्रो, गिजा, मुख, फोक्सो, श्वास नली, पिसाब थैली लगायतमा क्यान्सर भई तेस्रो र चौथो चरणमा पुगेका बिरामीमा अध्ययन गरिएको थियो ।

क्यान्सर रोग पहिचानका लागि खर्च कति ?

क्यान्सर पहिचान र उपचारका लागि सरदर करिब १० लाख खर्च लाग्ने गरेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले सन् २०१९ मा गरेको अध्ययनले सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भएकाहरूको पहिचान र उपचारका लागि औसतमा ९ लाख ८१ हजार ३७० रुपैयाँ खर्च लाग्ने देखाएको छ । जसमध्ये ६० प्रतिशत प्रत्यक्ष मेडिकलतर्फ खर्च भएको पाइएको छ ।  यस्तै, १३ प्रतिशत नन मेडिकलतर्फ खर्च भएको छ । अध्ययनका अनुसार बिरामीको कारण एक वर्षमा २ लाख ७९ हजार ४८२ (२७ प्रतिशत) ज्याला आम्दानीमा हानी पुगेको थियो ।

बढी खर्च गर्र्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झण्डै ४ गुणा बढी उपचारमा खर्च गरेको अध्ययनले देखाएको छ । क्यान्सर रोग पहिचान र उपचारका लागि खर्च भएको रकममध्ये मेडिकल खर्चमा सबैभन्दा बढी केमोथेरापीमा २८ प्रतिशत रहेको पाइएको छ ।

सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर रोगका बिरामीको औसत उमेर ५३.५ वर्ष रहेको अध्ययनले जनाएको छ । यस्तै, एक चौथाई सुर्तीजन्य क्यान्सर बिरामीहरू ५५–५९ उमेर समूहका रहेको पाइएको छ ।

सुर्तीजन्य पदार्थका कारण क्यान्सर भएका झण्डै ४६ प्रतिशत बिरामीहरू निरक्षर थिए भने १.९ प्रतिशत बिरामी उच्च शिक्षा हासिल गरेका थिए । नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने करको दर ३३ प्रतिशतभन्दा तल छ । सरकारले सुर्तीजन्य पदार्थमा लगाउने कर कपडा र प्रशोधित खाद्यान्नमा लाग्ने करभन्दा पनि कम छ । जबकि विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर कम्तीमा ७५ प्रतिशत गराउन सिफारिस गरेको छ ।

नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार करको दर वृद्धि गर्न अति आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । जबसम्म सुर्तीजन्य पदार्थमा कर बढाइँदैन, तबसम्म यसको सेवन गर्नेहरूको दर पनि कम नहुने अध्यक्ष चन्दले बताए ।

हाल नेपालमा सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सरको आर्थिक भार अत्यधिक रहेको उनले बताए । यसको उपचारका लागि सरकारले एक लाख रुपैयाँ अनुदान सहयोग गर्ने व्यवस्था गरेको छ । यो एक लाख रुपैयाँ प्रत्यक्ष उपचारमा लाग्ने मेडिकल खर्चको एक चौथाईभन्दा पनि कम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप