शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
संस्मरण

छिमेकी बा

शनिबार, ११ चैत २०७९, ०९ : ३३
शनिबार, ११ चैत २०७९

२०५९ सालदेखि चलिरहेको काठमाडौं उपत्यकाको डेरायात्राले सात वर्षपछि भक्तपुर नयाँ ठिमीको एउटा सानु घरमा ‘समाधि लिने’ अवसर पाएको थियो । कपन, कोटेश्वर, तीनकुनेका डेरामा बस्दाका चिरपरिचितसँग टाढिइसकेकी थिएँ तर यताका छिमेकीसँग परिचित हुन बाँकी नै थियो । 

जाडोको समय थियो, घरका सुसेधन्धा सकेर म माथि कौसीमा घाम ताप्न उक्लिन्थेँ । बिस्कुन सुकाउने–उठाउने, लुगा धुने आदि काम र घामतपाइ एकैसाथ हुन्थ्यो । आखिर छत आफ्नै थियो, जता जे–जसरी फिँजारे पनि हुने, सुकाए पनि हुने !

घरछिमेकका कौसीबाटै वल्लो घर, पल्लो घर सञ्चो–बिसञ्चो सोधनी सुरु हुन थाल्यो । मौका मिलेसम्म कुराकानीलाई म दुई–तीन घण्टासम्म लम्ब्याउँथेँ । म नौली त्यहाँकी, परिचयका लागि लोभिनुको विकल्प अरू के नै थियो र !

मेरो घरको पूर्वपट्टि एउटा घरको छतमा प्रायः ६५–७० वर्ष उमेरका लाग्ने एक जना बुबालाई देख्थेँ । उहाँ पनि मजस्तै नौलो हुनुहुन्थ्यो या त कसैसँग बोल्न चाहनु हुन्न थियो । न त छरछिमेक कसैले उहाँलाई बोलाउँथे, न त उहाँ नै कसैलाई बोलाएको देखिन्थ्यो । घरका अरू सदस्यलाई मैले छतमा कैल्यै देखिनँ ।

दिनभरि जसो नै पत्रिका पढिरहनु हुन्थ्यो बुबा । उहाँलाई देखेदेखि नै मभित्र कुतूहल बढ्दै गएको थियो । बुबा किन एक्लै ? कहाँ होलान् बुबाका परिवार ? नाति–नातिना वरिपरि झुम्मिनुपर्ने बेलामा बुबाको संसार किन यस्तो सुनसान छ ? 

अनि, वरिपरिको घरहरूमा फुलेका फूलहरू, कौसीमा खेलेका बालबच्चा, एकअर्काको शरीरमा चिल्लो घसेर तातो घामको रापमा आनन्दित जोडीहरू सबै सबैलाई बेवास्ता गर्दै किन उही सेताम्मे फुलेका कपालतिर केन्द्रित हुन्छन् मेरा आँखा ? उत्कण्ठा स्वयम्माथि पनि थियो मेरो ।

म उज्यालो भविष्यका लागि वर्तमानलाई घोट्दै छु । बुबाको भविष्य आउन बाँकी नै होला कि ! बुबाको सुखद भविष्य सिद्धिसकेकै हो भने अहिले बाँचिरहेको उहाँको समय कुन कालको हो ?

कि सिङ्गो घरमा एक्लै बस्नु बुबाको चाहना हो ? उहाँ नाता–कटुम्ब, जन्मजात जोडिएका र पछि जोडिने सम्बन्धहरू सबै सबैको जञ्जालबाट अलग्गै बस्न चाहनुहुन्छ ? त्यस्तै भए त मानवमा हुने भिन्न स्वभाव र प्रवृत्तिमाथि बुबाले विजय प्राप्त गर्नु भएको हुनुपर्छ भन्ने सम्झने थिएँ ।

 हुन पनि एक पटक प्राप्त हुने यो जीवनमा चाहनाअनुरूप नै कहाँ बाँच्न पाएका छन् र मान्छेहरूले ! छोराछोरीसँगै बस्न चाहने आमा, बाबाले छुट्टिनु परेको देखिन्छ, छुट्टै बस्न चाहनेले गाँसिनु परेको भेटिन्छ । 

छरछिमेकका घरका कौसीमा मानिसको सङ्ख्या कहिले घट्थ्यो, कहिले बढ्थ्यो । कहिले सुनसान हुन्थ्यो त कहिले घचाघच हुन्थ्यो । तर, बुबाको कौसीमा सधैँ उस्तै, सधैँ उही सन्नाटा ! 

जीवन भोग्नेको रहर होला, भोगाइ चाहनाअनुरूप होला तर देख्नेलाई उदेकलाग्दो रिक्तता !

एक बिहान, पुसको पारिलो घामले शीत सुकाउन नभ्याउँदै म एक बाटा चिसा लुगा बोकेर कौसीमा पुगेँ । अरूको बढी चासो राख्न सिकाउने समाजकी शिष्या भएर हो या मेरो अन्तःस्करणले बुबाको कौसीमा परिवर्तनका केही विम्ब खोजिरहेकै कारण हो— साविकझैँ कौसीमा उक्लनासाथ मेरो पहिलो दृष्टि बुबाकै कौसीमा प¥यो । 

त्यो बिहान मैले काँसघारीको बीचमा गुलाब फुलेको देखेँ । कौसीमा बुबाको साथमा बुबाकै उमेरकी झैँ लाग्ने एक जना आमा हुनुहुन्थ्यो । उहाँहरू दुवै खूब जोशका साथ गफिँदै, हाँस्दै चिया पिउँदै हुनुहुन्थ्यो ।

आज कौसीको आकर्षण जस्तो हुनुपथ्यो, त्यस्तै थियो । जे हुनुपथ्र्यो, त्यही थियो कौसीमा । त्यो बिहान मलाई साँच्चैको बिहान लाग्यो । अनि, बग्न थाल्यो मेरो तरल दिमाग । को हुनुहोला आमा ? हिजो–अस्तिको मेरो उर्लिँदो छालझैँ उत्कण्ठा शान्त र सलल बग्न थाल्यो; रोकिँदै रोकिएन ।

त्यस पछिका दिनमा पनि मेरा आँखा बुबाको कौसीतिर छरिन रोकिएनन् । आमा दिनमा एकाध घण्टा बुबासित छतमा देखिनुहुन्थ्यो अनि दुवैका परिपक्व ओठका मुस्कान खुल्थे । साथमै चियानास्ता गर्नुहुन्थ्यो अनि केही समयपछि बुबा र आमा दुवैलाई म तल गेटमा देख्थेँ । त्यसको केही समयपछि बुबा एक्लै छतमै फर्किनुहुन्थ्यो । अनि, फेरि उही सन्नाटा !

आमा आउन थालेदेखि त्यो छतको मलाई दुखाउने दुःखको मात्रा धेरै हदसम्म घटेको थियो । तर, आमा फर्किएर जानुले पूर्ण खुशी दिएको थिएन । म प्रश्नकुमारी ! फेरि प्रश्न उब्जाउँथेँ— को हुनु होला आमा ? के विवशता होला खुशीको संसारलाई पिठ फर्काएर अँध्यारोतिर जानुपर्ने ?

केही सालअघि एक स्पेनिस दम्पती फ्रेडरिक र फारासँग सराङकोटमा भेट भएको थियो मेरो । उनीहरूसित भएको छोटो तर गम्भीर संवादको मलाई पटक–पटक सम्झना भइरहन्छ । फ्रेडरिक र फारा झट्ट हेर्दा बुबाजस्तै साठी–पैँसट्ठी वर्षीय होलान् भन्ने अनुमान लगाएकी थिएँ मैले । हेर्दा हट्टाकट्टा नै देखिने फ्रेडरिक बयासी र फारा असी वर्षकी रहिछिन् । छ महिना अगाडिमात्र उनीहरू वैवाहिक सम्बन्धमा बाँधिएका रहेछन् । 

फाराले विवाह गर्नुपूर्व फ्रेडरिकसँग एउटा प्रस्ताव राखेकी थिइन् रे— बिहेपश्चात् नेपाल भ्रमणमा लैजाने । ती असी–बयासी वर्षीय दम्पतीले हनिमूनका लागि नेपाल आएको भनिरहँदा बूढेसकाल सम्झिएर सधैँ भयभित रहने मैले लामो सास फेरेकी थिएँ ।

कुनै सङ्कोचविना नै फाराले फ्रेडरिक मेरा चौथा पति हुन् भनेकी थिइन् र फ्रेडरिकले फारा तेस्री पत्नी भएको सुनाएका थिए । जीवन दुई वर्ष नै किन; दुई दिन पनि उत्सवमय रहनुपर्छ । बाँकी जीवन–यात्रामा फ्रेडरिक र फारामध्ये ‘जसको यात्रा पहिले टुङ्गिए पनि बाँकी जीवनका लागि फेरि साथी खोज्ने’ उनीहरूको भनाइले म साँच्चै झस्किएकी थिएँ ।

झट्ट हेर्दा विवाहित, अविवाहित वा विधवा चिनाउने सामाजिक सङ्केतले प्रष्ट्याउँथ्यो— आमा सधवा हुनुहुन्न । पुरुषमा त्यस्तो कुनै सङ्केत नहुने भएता पनि बुबाको एक्लोपना देख्ने मेरो नजरमा बुबा विधुर नै हुनुहुन्थ्यो ।

एउटै टोल, एउटै समाजमा बसोबास गर्ने नजिकका छिमेकी बुबा र म । हाम्रो कतै न कतै भेटघाट भैरहनु स्वाभाविकै हो । मैले घरायसी प्रयोजनका लागि खाद्यान्न ल्याउने पसलमा बुबा पनि आवश्यक सामग्री लिन जानु हुने नै भयो । 

तथापि, पहिलो पटक यति नजिकबाट देखेकी थिएँ मैले बुबालाई त्यस दिन । बुबाले पसल्नीसँग सुगर फ्री बिस्कुट माग्दा म खै के–के जाती किन्दै थिएँ । बुबा बिस्कुट बोकेर फर्किसकेपछि मेरो प्रश्न तेर्सियो पसल्नीतिर– “बुबा एक्लै बस्नुहुन्छ हो ?”

पसल्नीले लामै उत्तर दिइन्, “परार आमा बित्नुभयो । छोराछोरी विदेशमा छन् । आमाको काममा जम्मा भएका थिए । सप्पै लाखापाखा लागेपछि बुबा एक्लै हुनु हुने नै भयो नि !”

उत्सुकताले त सोध्दै थियो— ‘बुबाकहाँ आउने आमा को हुनुहुन्छ ?’ तर, मनले हिम्मत गरेन ।

बुबाको एक्लै बस्नुको बाध्यता बुझिसकेपछि हातमा बोकेको झोलाभन्दा पनि गह्रुँगो मन लिएर म घर फर्किएँ । बुबाको एक्लो जीवन–भोगाइको दोष म कसलाई दिऊँ ? आमाको मृत्युलाई ? बुबाका छोरा–छोरीलाई ? स्वयम् बुबालाई ? समाजलाई ? कि नियतिलाई ?

हिजो अस्तिसम्म कौसीमा जाँदामात्र देखिने श्वेत रङ अब मेरो घरका कोठा, आलमारी, भान्सा जताततै मूक तस्वीर बनेर टाँसिन थाल्यो । मनरूपी क्यामराको न त रिल नै सकिँदोरहेछ, न त ब्याट्री नै ! हरपल, हरबखत उही सेतो आकृति खिचिरहन थाल्यो— क्लिक !! क्लिक !!!

रातको गमन र दिनको आगमन दुवै पूरै भैसकेको थिएन । रात भाग्ने तर्खरमा थियो अनि दिन भित्रिन खोज्दै थियो । लाकुरी भन्ज्याङको टुप्पोमा लाली चढ्न थालेको थियो । पर कतैबाट भालेले उज्यालो चाँडै भित्रिने सङ्केत गर्दै थियो । 

बुबाको कौसीमा दुई धमिला आकृति देखिए । धमिलोको रङ धमिलै हुन्छ । सेतो, रातो, हरियो, अहँ केही खुट्टिँदैन, केही छुट्टिँदैन । मेरा चलायमान आँखाहरू गडिइरहे त्यही धमिलो आकृतिमा । सायद आँखाहरू धमिलोभित्र रङ खोज्दै थिए ।

बिस्तारी धमिलोको रङ हराउँदै गयो । बुबाको सेतो कपालमाथि आमाका औँलाहरू सलबलाइरहेका देखिन थाले । बिहानीले आभाले आमाको शरीरभरि लालिमा पोत्दै ल्यायो । दुई सेता हिमचुचुराका बीचमा पहाडी टाकुरामा फुलेको लालीगुराँसजस्तै देखियो आमाको सिउँदोमा सिन्दूर ! चौबन्दी चोलीको दुई बन्दीले बूढ्यौली छातीमा जवानीको छनक बाँकी रहेको देखाइरहेको प्रष्टियो । रातो साडीको आँचल फनफनी बेरेर कसिएको कम्मरभरि जोशका फेराहरू बेरिएका देखिए । संसारभरि छर्न पुग्ने बिहानीका सम्पूर्ण किरण बुबाकै कौसीमा खेलिरहेका थिए आज । त्यसैले त्यति शोभनीय, आकर्षक र मनोरम देखिएको हुनुपर्छ बुबाको कौसी ।

बुबाको कौसीबाट उछिट्टिएका उज्याला किरणहरूले मेरा आँखामा झम्टिएपछि म झल्याँस्स ब्युँझिएँ । सपना पो !!! स्वीकारेन मनले । दौडिँदै माथि कौसीमा पुगेँ र बुबाको कौसीतिर आँखा दौडाएँ— उही सन्नाटा !!

निकै दिनसम्म बुबा कौसीमा निस्किनु भएन । मेरो छटपटीले उग्र रूप लिँदै गयो । के भयो होला बुबालाई ? उहाँका कोही त आफन्त वा नातेदार होलान् ! कोही न कोही त बुबाको घरभित्र पसिदिए हुन्थ्यो ! व्यग्रताले बसि खान दिएन । 

लाग्यो, बुबाकोमा आफैँ गएर हालखबर बुझूँ, बोलचालसमेत भएको छैन । बुबाले मलाई चिन्नु पनि त नहोला ! कौसीबाटै भए पनि नियालेर हेर्नु भएको त छैन होला ! एउटा अपरिचित मान्छे सरासर घरभित्रै जानु यो सहरिया परिवेशलाई पक्कै पाच्य नहोला । म के पो गरूँ ? 

बुबा बिरामी नै पर्नुभएको रहेछ भने एक गिलास पानी नपाएर छटपटाइरहनु भएको होला, यता मभित्रको छटपटीले निकास पाएन । मनले घरी जा भन्थ्यो, घरी नजा । शरीर दोबाटोमा थियो ।

यस्तै यस्तै दुविधामा थिएँ, आमालाई बुबाको घरमा पस्दै गरेको देखेँ । एक्कासी मभित्रका उथलपुथल सबै शान्त भए । लामो श्वास फेरेँ । दिनहुँ आमा आएको र गएको देख्न थालेपछि बुवा पूर्ण सुरक्षित रहनु भएको महसुस हुन थालेको थियो मलाई । 

मानौँ, आमा त्यस्तो डाक्टर हो, जसले बुबाको शिथिल हुँदै गएको शरीरभरि ऊर्जा भरिदिन सक्नुहुन्छ । साँच्चै आमा आउने र जाने गरेको देखेदेखि मलाई बुबाको चिन्ता लाग्दै लागेन । म ढुक्क भएँ । आशावादी रहेँ— अब केही दिनमै बुबा कौसीमा निस्किनु हुनेछ ।

जेठको महिना थियो । उपत्यकामा गर्मी चढिसकेको थियो । त्यो दिन म पसलमा पुग्दा साँझको पाँच बजेको हुँदो हो । पसलको बाहिरपट्टि राखिएका दुई बेन्चीमा ५–६ जना महिला खूब जोशका साथ गफिँदै थिए । पसलवाल्नीका अनुभवी हात ग्राहकलाई सामान दिन र पैसा लिनमा व्यस्त थिए, ध्यान भने गफमै थियो ।

पसलमा गफिइरहेका महिलाहरूको चर्को आवाजलाई पन्छाउँदै मेरा कान बुबाको घरको गेट खुलेको आवाजसम्म पुगे । मैले आँखा पनि त्यतै फ्याँकेँ । ओहो ! बुबा त कस्तो दुब्लो–पातलो हुनु भएछ ! दाह्रीजुँगा बढेर जिङ्ग्रिङ्ग देखिनु भएछ ! लट्ठीको सहारा लिन थाल्नु भएछ ! 

आमा पनि बुबाको साथमै हुनुहुन्थ्यो । बिस्तारी–बिस्तारी हिँड्दै बुबा–आमा पसलअगाडि नै आइपुग्नु भयो । बुबालाई स्वाँ–स्वाँ बढेको रहेछ । लगातार हिँडिरहन सक्नु भएन । दुई–चार पाइला चाल्ने, फेरि उभिने गर्दै उहाँहरू पसल नाघेर अगाडि बढ्नु भयो । बुबा र आमा पसलअगाडि आइपुग्दा गफ छाँटिरहेका महिलाहरूको सम्पूर्ण ध्यान बुबा–आमातिरै थियो । 

बुबा सायद बिरामी पर्नु भएछ । शरीर पनि एउटा मेसिन न हो ! कहिलेकहीँ बिग्रिदिन्छ । उस्तै रूपमा उसै गरी सधैँ कहाँ चलिरहन्छ त ! गति कहिले घट्छ, कहिले बढ्छ । शरीर थोरै घटबढ भएको न हो ! बाहिर हिँडडुल गर्न थाल्नु भएछ । केही दिनमा शरीर ब्यालेन्समा आइहाल्छ नि ! आमालाई बुबाको साथमा देखेर नै म यति दृढ भएकी थिएँ ।

बिस्तारी आमा–बुबा ओझेलिँदै जानु भयो । गफिँदै रहेकामध्ये एउटीले फेरि कुराको मेसो सुरु गरिन्, “बाँच्नुपर्छ, सबै उल्का र उत्पात यिनै आँखाले देख्न पाइन्छ !”

अर्कीले थपिन्, “खै के जाती गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो !”

तेस्री के कम्ती ! थपिन्, “उमेरदारहरूले गति छाडेको त सुनिएको र देखिएकै हो । हरे ! यो उमेरमा पनि...!”

पहिलीले जोडिन्, “मर्ने बेलाँ हरियो काँक्रो !”

ओहो ! कस्तो विडम्बना ! मैले ‘सुन्दर’ देखेको संसार यिनीहरूको आँखाबाट यति कुरूप देखिँदो रहेछ ! यी बाँकी पत्नीको मृत्यु हुँदा दुई–चार थोपा आँसु चुहाएर बुबाप्रति दया देखाउने समाज सधैँ बुबा दयाकै पात्र बनिरहेको हेर्न चाहँदो रहेछ ! दुःख पर्दा सहानुभूति प्रकट गर्ने, खुशी हुँदा पीडामा रहने कस्तो प्रवृत्ति हो यो समाजको ? जरामा पानी हालेझैँ पनि गर्ने अनि वृक्ष सुकेको पनि हेर्न चाहने ?

जीवन–भोगाइको चालीसौँ–पचासौँ वर्ष पार गरेका व्यावहारिक अनुभवीहरूलाई मेरो ‘गुरुआमा’ प्रवचनले वा प्रतिकारले खै कसरी र कति नै छोला र ! तर, केही नभनी हिँड्न सकिनँ र भनेँ, “मृत पत्नी, विदेशिएका छोराछोरीलाई सम्झिएर यी बुबा दिनरात कौसीमा बसेर रोइरहनुहोस् अनि तपाईंहरू यहाँ बसेर ‘बिचरा बूढा !’ भनेर दया गरिरहन पाउनुहोस् ! त्यही चाहनुहुन्छ हैन ? बुबा र आमा सँगै हिँड्नाले, बस्नाले, पीडा भुल्न खोज्नाले केही खराब गरेको छ तपाईंहरूको दाम्पत्यमा ?”

कोही केही बोलेनन् । ट्वाल्ल परेर मतिर हेरिरहे । अप्रत्यासित सायद यस्तो आश गरेका थिएनन् ।

पसलबाट घरतर्फ फर्किँदै गर्दा लाग्यो— आजसम्म अपरिचित नै थिएँ म यी छिमेकीहरूका लागि । आजबाट गफको एउटा अर्को विषय थपिएँ ।

बुबा सामान्य बन्दै जानु भयो । राम्रै गरी हिँडडुल पनि गर्न थाल्नु भयो । 

बुबालाई बूढ्यौलीपनले दिनानुदिन गलाउँदै थियो । जन्मदाता र जन्मथलो नछाडी प्रगति गर्न नसकिने युवापुस्ताको हठ बज्रिएकै थियो एउटा बूढो शरीरमाथि । छिमेकी बुबाजस्ता कति वृद्धवृद्धाहरू सात समुन्द्रपारिका छोराछोरीका इच्छादानमा यिनी जसरी नै क्रमशः कङ्काल बनिरहेका होलान् ?

बुबा पूर्ण स्वस्थ नहुन्जेल आमा दिनहुँ आउने–जाने गरिरहनु भयो । तर, अकस्मात् आमा आएको, गएको वा कौसीमा उक्लिएको देखिन छाड्यो । निकै दिन भइसक्यो, अहँ उहाँलाई देखिएन ! बुबा फेरि उही पुरानै आकृतिमा फर्किनुभयो । मेरो पुरानो रोग फेरि बल्झियो ।

उत्सुकताले नसोधी धरै दिएन । सोधेँ तिनै पसल्नीसँग, “आजभोलि बा कहाँ आइरहने आमा देखिनुहुन्न नि ? किन आउन छाड्नुभयो, थाहा छ कि तपाईंलाई ?” 

नजिकैको घरतिर औँल्याउँदै पसल्नी बेलिबिस्तार लगाउन थालिन्, “ती आमा ऊ त्यहीँ अगाडिको घरमा भाडामा बस्थिन् । छोरा–बुहारी अफिस जान्थे । आमा र बुबा दिनभरिजसो सँगै बस्दा रैछन् । बुबा निको भएको केही समयपछि आमा बिरामी परिछन् । बुबा दिनदिनै आमालाई भेट्न जान्थे अरे । छरछिमेकले औधी कुरा काट्न थाले भनेर छोरा–बुहारीले उता कौशलटारतिर कोठा सारे । पन्ध्र–सोह्र दिनअगाडि ती आमा बितिन् अरे भन्ने पो सुनेकी छु मैले त !”

म पूरै अँध्यारिएर घर फर्किएँ । हस्याङ फस्याङ गर्दै कौसीमा उक्लिएँ । उतैतिर उसै गरी आँखा फ्यालेँ— बुबा उस्तै गरी पत्रिका पढिरहनु भएको रहेछ ।

आज झण्डै बाह्र वर्ष भयो बुबा र म एकअर्काको छिमेकी भएको । तर, मैले अझै सहरिया दूरी छिचोल्ने हिम्मत गर्न सकेकी छुइनँ । आफ्नै कौसीबाट हेरिरहेकी हुन्छु— बुबाको कौसीतिर । उही सन्नाटा, उस्तै रिक्तता उसै गरी मलाई लगातार चिथोरिरहन्छन् !! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जु दाहाल
रञ्जु दाहाल
लेखकबाट थप