बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनभित्र सरकारले पूर्णता पाइसक्छ : उपसभापति खड्का

आइतबार, १२ चैत २०७९, १८ : २३
आइतबार, १२ चैत २०७९

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलहरुसँग संवाद गरिरहेको र ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उनको भनाइ छ ।
उनले भने, ‘गठबन्धनको बैठक प्रत्येक दिन बसिराखेको छ । कहिले सबै दलका नेताहरु बस्नुहुन्छ । कहिले त्यसमध्येका केही नेताहरु बस्नुहुन्छ । कहिले प्रधानमन्त्रीले गठबन्धनसँग जोडिएका विश्वासको मत दिने दल र त्यो विश्वासका मत दिदाँ गठबन्धनमा छौँ भन्ने दलहरुका बीचमा प्रधानमन्त्रीले संवाद गरिरहनुभएको छ । सम्भवतः २÷३ दिन भित्रमा यसले पूर्णता पाउँछ ।’

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार बिस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गरे । 
सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा टुंगिन बाँकी रहेको पनि उनले बताए । आइतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेमा टुंगो नलागेको दाबी गरेका हुन् । 

उनले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको दाबी गरे ।  उनले भने, ‘नेपाली काँग्रेसले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । नेपाली काँग्रेस मात्रै होइन कुनैपनि दलले कुन मन्त्रालय लिएर सहभागि हुने भन्ने बारेमा अन्तिम निर्णय भइसकेको छैन । अहिले सबैकुरा छलफलको क्रममा छ । छलफल घनिभुत रुपमा प्रधानमन्त्रीले समन्वय गरेर गरिरहनुभएको छ । गठबन्धन दलका नेताहरुसँग पनि छलफल भइराखेको छ । अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालयमा सहभागि हुने भन्ने कुरा टुंगो लागेको छैन । नेपाली काँग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने बारेमा औपचारिक निर्णय भइसकेको छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप