शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
कांग्रेस विवाद

कांग्रेसभित्रको कलहले बागमती सरकार सङ्कटमा, बजेट रोकेरै नेतृत्व फेर्ने तयारी

शुक्रबार, १९ असार २०८३, ११ : ४२
शुक्रबार, १९ असार २०८३

सारांश

  • बागमती प्रदेश सरकार नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले सङ्कटमा परेको छ ।
  • सह-महामन्त्री बहादुर सिंह लामा समूहले बजेट पारित हुन नदिने रणनीति अख्तियार गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई दबाब दिएको छ ।
  • कांग्रेसको विवादले प्रदेश सभा बैठकमा सांसदहरूको उपस्थिति पातलिएको छ भने बजेट पारित हुने प्रक्रिया लम्बिने देखिएको छ ।

मकवानपुर । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसभित्रको कलह उत्कर्षमा पुगेको छ । कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारविरुद्ध कांग्रेसकै सहमहामन्त्री बहादुर सिंह लामा समूहले घेराबन्दी सुरु गरेको हो ।

बजेटमाथिको विवादलाई केन्द्रमा राखेर पूर्वमुख्यमन्त्री समेत रहेका लामा नेतृत्वको समूहले घेराबन्दी थालेको हो । लामा पक्षीय सांसदहरूले आफ्नै नेतृत्वको सरकारविरुद्ध घेराबन्दी गर्दै बजेट पारित हुन नदिने रणनीति अख्तियार गरेको देखिन्छ ।

साउन अगाडि नै सरकार छाड्नुपर्ने अडान राख्दै आएको लामा समूहले मुख्यमन्त्री बानियाँलाई दबाब दिन काठमाडौँमा निरन्तर बैठक गरिरहेको छ ।

मुख्यमन्त्री बानियाँले बजेट पारित भएपछि पद नछाड्ने उनीहरूको आशंका छ । त्यसैले उनीहरूले बजेटलाई नै सत्ता परिवर्तनको अस्त्र बनाएका हुन् ।

लामा समूह हालको गठबन्धन छाडेर नेकपासँगको एलायन्समा भए पनि प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने अडानमा छ । लामा समूहले सरकारको भविष्यको छिनोफानो भएपछि मात्र बजेट प्रक्रिया अघि बढाउने अडान राख्दा सरकारको बजेट पास हुन कठिन देखिन्छ । बागमती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्दै आएको छ भने एमाले सत्ता साझेदारको भूमिकामा छ ।

कांग्रेसभित्रको विवादका कारण प्रदेश सभाको बैठकमा कांग्रेस सांसदहरूको उपस्थिति समेत पातलिँदै गएको छ । प्रदेश सभा सचिवालयका अनुसार बजेट माथिको छलफलका लागि आह्वान भएको असार १६ गते प्रदेश सभा बैठकमा कांग्रेसका कुल ३६ जना सांसदमध्ये १९ जना उपस्थित थिए भने असार १७ गते २१ जना र १८ गते १६ जनामात्र कांग्रेस सांसद उपस्थित थिए ।

विवाद बढ्दै गएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार काठमाडौँमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेका छन् । उनले प्रदेशको राजनीतिक अवस्था र बजेटबारे उपसभापति शर्मालाई जानकारी गराएको र आवश्यक सहयोगका लागि आग्रह गरेको एक सांसदले बताए ।

बजेटमा प्रतिपक्षी सांसदहरू सन्तुष्ट देखिए पनि सत्तापक्षकै एक समूहले असहयोग गरेपछि सरकार सङ्कटमा पर्ने देखिएको कांग्रेसका एक सांसदले बताए । बजेटमा भन्दा पनि सरकारको नेतृत्वमा असन्तुष्टि रहेको अवस्थामा लामा समूहले सरकारबारे ठोस निर्णय नभएसम्म बजेट पारित गर्ने प्रक्रिया अघि बढ्न नदिने अडान राखेको उनले बताए ।

‘बजेटमा विपक्षका सांसदहरू नै खुसी भइरहेको अवस्थामा सत्तापक्षका सांसदहरूलाई नसमेटिएको भन्ने छैन, कांग्रेसका अर्का एक सांसदले भने, ‘बजेटमा भएका विगतको कमजोरी हटाउने क्रममा केही सामान्य त्रुटि छन् । त्यो कार्यान्वयनमा मिलाउन सकिन्छ । तर, बजेटको समयमा सरकारलाई अप्ठ्यारो पार्न लामा समूह सक्रिय देखिएको छ ।’

विवाद बढ्दै गएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार काठमाडौँमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेका छन् । उनले प्रदेशको राजनीतिक अवस्था र बजेटबारे उपसभापति शर्मालाई जानकारी गराएको र आवश्यक सहयोगका लागि आग्रह गरेको एक सांसदले बताए । सो भेटपछि नेपाली कांग्रेसले बागमती प्रदेशको आन्तरिक विवाद मिलाउन महामन्त्री गुरु घिमिरेलाई जिम्मेवारी दिएर हेटौंडा पठाउने निर्णय गरेको उनले बताए ।

विवाद समाधानका लागि असार २० गते शनिबार मुख्यमन्त्री निवास हेटौंडामा संसदीय दलको बैठक बोलाइएको छ । जसमा महामन्त्री घिमिरेको विशेष उपस्थिति रहने र सबै सांसदलाई अनिवार्य उपस्थित हुन पत्राचार समेत गरिसकिएको नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले असार १ गते प्रदेश सभामा ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमाथि असार १६ गतेदेखि छलफल भइरहेको छ । प्रदेश सभा सचिवालयले असार १९ गते नै बजेट पारित गर्ने कार्यसूची बनाएको थियो । तर, कांग्रेसभित्रको द्वन्द्वले गर्दा बजेट पारित हुने प्रक्रिया लम्बिने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?