विराटनगरमा नदी संरक्षणसँगै ‘मिनी जङ्गल’ निर्माण अभियान सुरु
सारांश
- विराटनगरमा जलवायु परिवर्तन, सहरीकरण र नदी कटानको असर कम गर्न केसलिया खोला किनारमा ‘मिनी जङ्गल’ निर्माण अभियान सुरु गरिएको छ।
- यो अभियानले करिब दुई बिगाहा ऐलानी जग्गामा विभिन्न प्रजातिका १,६०० बिरुवा रोपी नदी संरक्षण र हरियालीयुक्त सार्वजनिक क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ।
- नदी कटान रोक्न, भूक्षय कम गर्न र बाढीबाट हुने क्षति न्यूनीकरण गर्न विभिन्न रैथाने तथा फलफूलका बिरुवा रोपिनेछन्, जसको दीर्घकालीन संरक्षणको जिम्मेवारी संस्थाले लिनेछ।
विराटनगर । जलवायु परिवर्तन, तीव्र सहरीकरण, नदी कटान, भू–क्षय तथा हरित क्षेत्रको घट्दो अवस्थालाई मध्यनजर गर्दै हरियो पाइला विराटनगरले विराटनगर महानगरपालिका–५ स्थित केसलिया खोला किनारमा ‘मिनी जङ्गल’ निर्माण अभियान सुरु गरेको छ।
करिब दुई बिगाहा क्षेत्रफल रहेको खोला किनारको उकास (ऐलानी)जग्गालाई संरक्षण गरी हरियालीयुक्त सार्वजनिक पर्यावरणीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित सब डिभिजन वन कार्यालय, विराटनगर को सहकार्यमा पहिलो चरणमा १,६०० वटा विभिन्न प्रजातिका बिरुवा रोप्ने तथा दीर्घकालीन संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिएको हो।
अभियानको शुभारम्भ कोशी प्रदेश सरकारका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुली तथा गौशंकर महादेव मन्दिरका पुजारी एवं हरियो पाइला विराटनगरका अध्यक्ष, अस्टचिरिन्जिबी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनायक पन्त, वन पैदावर महासङ्घ कोशी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम घिमिरेले संयुक्त रूपमा रुद्राक्षको बिरुवा रोपेर गरे ।
आयोजक संस्थाका अनुसार यो अभियानको उद्देश्य केवल वृक्षारोपण गर्नु मात्र होइन, बिरुवालाई हुर्काएर प्राकृतिक वनको स्वरूप दिने, नदी किनारलाई सुरक्षित बनाउने तथा भावी पुस्ताका लागि हरियाली सम्पदा हस्तान्तरण गर्नु हो।

केसलिया खोला वर्षायाममा हुने कटानका कारण आसपासका सार्वजनिक जमिन जोखिममा पर्ने गरेको छ। त्यसैले नदी किनारमा बलियो र गहिरो जरा फैलाउने प्रजातिका बिरुवा रोपेर प्राकृतिक रूपमा माटो बाँध्ने, भूक्षय कम गर्ने तथा बाढीबाट हुने क्षति न्यूनीकरण गर्ने लक्ष्य लिइएको छ।
यस अभियानअन्तर्गत काँस, बाँस, सिसौ, खयर, अर्जुन, साज, सिमल, बर, पिपल, रुद्राक्ष, तित्री, जुलेबी, ताड (तारी), खजुर, नीम, बकाइनो, जामुन, बेल, कदम्ब, हर्रो, बर्रो, अमला लगायत तराई क्षेत्रमा राम्रोसँग हुर्कने रैथाने तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण प्रजातिका बिरुवा रोपिनेछन् । साथै मन्दिर परिसर र उपयुक्त स्थानमा आँप, लिची, कटहर, अमरुद, कागती लगायतका फलफूलका बिरुवासमेत रोपिने कार्यक्रम रहेको छ।
हरियो पाइला विराटनगरले भविष्यमा यस क्षेत्रलाई नदी संरक्षण क्षेत्र, मिनी जङ्गल, सहरी हरित पार्क, छहारी विश्रामस्थल, धार्मिक पर्यटन केन्द्र, पैदल मार्ग, साइकल ट्र्याक, पक्षी अवलोकन स्थल, खुला वातावरणीय अध्ययन केन्द्र तथा परिवारसँग घुम्न र जाडो मौसममा पिकनिक गर्न सकिने आकर्षक हरित गन्तव्य का रूपमा विकास गर्ने दीर्घकालीन योजना सार्वजनिक गरेको छ।
संस्थाका अनुसार बिरुवा रोपेर छोड्ने होइन, नियमित सिँचाइ, घेराबार, मलजल, संरक्षण तथा अनुगमनमार्फत सबै बिरुवालाई हुर्काउने जिम्मेवारी पनि संस्थाले नै लिनेछ। स्थानीय समुदाय, युवा, विद्यार्थी, सामाजिक सङ्घसंस्था तथा सरकारी निकायको सहकार्यमा यस क्षेत्रलाई नमुना वातावरणीय संरक्षण परियोजनाका रूपमा विकास गर्ने लक्ष्य रहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट विवाद : मन्त्रीहरूले ४० प्रतिशतसम्म बजेट फिर्ता गर्ने कार्यदलमा सहमति
-
गणतन्त्रका विरुद्ध बोले २५ वर्ष जेल ! अपराध संहिता संशोधन प्रस्तावको राणा–प्रसाईंद्वारा विरोध
-
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण
-
कर्णालीमा खसेको फोर्स गाडीको खोजी पुनः सुरु, गोताखोर परिचालन
-
‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन रास्वपाको बैठक (तस्बिरहरू)
-
नेपाललाई स्वर्णसहित तीन पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण