शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट सरकार ढाल्नेलाई कम्युनिस्ट भन्ने अधिकार छैन : ओली

बुधबार, १५ चैत २०७९, २० : २२
बुधबार, १५ चैत २०७९

बुटवल । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार ढालेर विदेशीको इशारामा कांग्रेसको नेतृत्वमा रहनेहरुलाई कम्युनिस्ट भन्ने अधिकार नै नभएको बताएका छन् ।

माधव नेपाल र प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले कम्युनिस्टको सरकार ढाल्ने, पार्टी फुटाउने, तहसनहस बनाएर अरू देशलाई रिझाउनेहरुले कम्युनिस्ट भनेर भन्न नमिल्ने बताए ।

एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत रुपन्देहीको बुटवलमा बुधबार सम्बोधन गर्दै ओलीले कम्युनिस्टको सरकार ढालेर पार्टी फुटाउनेहरुलाई कसरी कम्युनिस्ट भन्न सकिन्छ भन्ने प्रश्नसमेत गरे ।

माओवादी र नेकपा एकीकृत समाजवादीमा नेताहरु खराब भए पनि कतिपय कार्यकर्ता इमानदार रहेको भन्दै ओलीले उनीहरुलाई भ्रमबाट मुक्त पारिनुपर्ने बताए । उनले दुवै पार्टीमा रहेका नेताहरुले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएकाले नेताहरु छाडेर इमानदार कार्यकर्तालाई एमालेमा ल्याउनुपर्ने बताए ।

उनले कम्युनिस्टको सरकार ढालेर कांग्रेसको सरकार बनाउन बिन्ती बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बन्दै कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नामचाहिँ समाजवादी राखेर भ्रमित बनाउने काम भएको आरोपसमेत लगाए ।

उनले भने, ‘यसरी केही इमानदार कार्यकर्ता भ्रममा छन् उनीहरुलाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं ।’

ओलीले एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टीपंक्ति जनतासमक्ष जान नसकेको बताउँदै एमालेको योजनालाई जनतामा चिनाउन अहिलेको मिसन ग्रासरुट अभियान ल्याइएको प्रस्ट पारे ।

युवा पुस्तामा समेत राजनीतिक सचेतना पुगेको भन्दै उनले त्यो पिँढीमा एमालेको अभियान पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले आफ्नो पालामा धेरै राम्रो काम भएको जिकिर गर्दै अब एमालेले ५१ प्रतिशत मत ल्याउने गरी अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए । चैत ११ गते लुम्बिनी प्रदेश छिरेका ओली कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै रुपन्देहीको कार्यक्रम सकेर आज काठमाडौँ फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप