शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किन भयो त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकमाथि आक्रमण ?

बिहीबार, १६ चैत २०७९, १६ : १०
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । बुधबार दिउँसो जमलस्थित होटल एलो प्यागोडा विद्यार्थी संगठनका अध्यक्षहरू र त्रिवि अधिकारीबीच छलफल चलिरहेको थियो । बाँकी रहेका कलेजहरूमा स्ववियु निर्वाचन गराउने विषयमा तीन विद्यार्थी संगठनका अध्यक्ष र त्रिवि उपकुलपतिसहितको छलफल चलिरहेको थियो । 

छलफलमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहभागी थिए । त्यस्तै त्रिविको तर्फबाट उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, रेक्टर प्रा.डा. शिवलाल भुसाल र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारी सहभागी थिए । 

त्यही बेला नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्देशक अधिकारीलाई फोन गरे । फोनमा कुरा गरेको केही समयभित्रमा पराजुली बैठकस्थल पुगे । 

त्यहाँ पुगेर तथानाम गाली गलौज गर्नुका साथै पानीको बोतलले अधिकारीमाथि प्रहार गरे । प्रत्यक्षदर्शीहरूका अनुसार पराजुलीले प्रहार गर्न कुर्सी उठाए । तर, त्यो कुर्सी नेविसंघ अध्यक्ष शेर्पाले रोके । 

एकछिन माहोल निकै तात्यो । पराजुलीसँग गएका अन्य तीन जनाले समेत आक्रमणमा साथ दिए । 

आफूमाथि आक्रमण भएको विषयमा अधिकारीले भने, ‘ त्यहाँ पुगेपछि पानीका बोतलले हान्ने, तथानाम गाली गर्ने गरे । पानीको बोतल फुटेर शरीरमा पानीले छ्यापियो, कुर्सी उचालेको थियो । कुर्सी दुजाङले रोक्यो । अरू तीन जना पनि थिए । महेश श्रेष्ठ, अशोक थापा र एकान्त चापागाईँ । कुरा गर्न छोडेर म माथि हातपात गर्न थाले ।’

अन्य विद्यार्थी संगठनहरूलाई बोलाएर छलफल गर्दा आफूलाई नबोलाएको भन्दै रिस पोखेको अधिकारीको भनाई छ । 

छलफलको क्रममा निर्देशक अधिकारीले विद्यार्थी संगठनहरूकै कारण निर्वाचन रोकिएको र एउटा वक्तव्य निकाल्ने विक्तिकै सबै समस्या समाधान हुने सुझाव दिएका थिए । 

‘जहाँ जहाँ भएको छैन तपाईहरूको कारणले भएको छैन । निर्वाचन गर्ने नै हो भने तपाईहरूले सल्लाह गरेर एउटा वक्तव्य निकाल्नुहोस्, विश्वविद्यालयको तर्फबाट केही बाँकी छैन,’ उनले भने । 

त्रिवि पदाधिकारीहरूले समेत विद्यार्थी संगठनका अध्यक्षहरूसँग त्यही कुरा राखेका थिए ।  

त्यही क्रममा आएका पराजुलीले आफूलाई नबोलाएर गुट गरेर बसेको भन्दै आफूमाथि आक्रमण गरिएको उनको भनाई छ । 

यता अनेरास्ववियूका अध्यक्ष पराजुलीले भने कुनै आक्रमण नगरिएको बताए । सामान्य विवाद भएको तर, त्यस्तो आफुहरूले आक्रमण नगरेको उनको भनाई छ । ‘तीन वटा विद्यार्थी संगठनका अध्यक्षलाई मात्र बोलाएर हुन्छ । निर्वाचनमा सहभागी हुने सबै संगठनलाई बोलाउनुपर्छ भनेर हामीले माग राखेका हौं,’ उनले भने । 

गुटबन्दी गर्न थालेपछि आफूहरूले विरोध गरेको उनको भनाई छ । अहिलेसम्म त्रिविका ६२ वटा आंगिकमध्ये ४५ वटामा निर्वाचन सम्पन्न भएको छ । त्यस्तै देशभरका करिब ३०० सामुदायिक क्याम्पसहरूमा निर्वाचन भएको छ ।

बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउनको लागि विद्यार्थी संगठनहरूले छलफल अगाडि बढाइरहेका छन् । तर, उनीहरूकै तालाबन्दी तथा विवादका कारण निर्वाचन अनिश्चित देखिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप