मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
आत्मदाह प्रकरण

प्रेमप्रसादको आत्मदाहबारे अनुसन्धानमा ढिलाई

शुक्रबार, १७ चैत २०७९, १५ : ००
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि पेट्रोल छर्केर ‘आत्मदाह’ गरेको दुई महिना पुरा भएको छ । आचार्यले माघ १० मा आफैंलाई जलाएका हुन् । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेको घटना छानविन गर्न गठित सह–सचिव नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ । सह–सचिव नारायणप्रसाद रिसाल नेतृत्वको समितिले घटनाबारे छानविन गरेर फागुन २३ मा प्रतिवेदन बुझाएको थियो । तर, आरोपीहरुविरुद्ध मुद्दा चलाउनेबारे अझै निर्णय भएको छैन । 

आत्महत्या दुरुत्साहन बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । आचार्यले आत्मदाह गरेको दुई महिना पुरा भैसक्यो तर, प्रहरीको अनुसन्धान पुरा भएको छैन । आचार्यले आरोप लगाएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितका आरोपीहरुसँग प्रहरीले बयान लिएको थियो । आचार्य र उनको कारोबार रहेको कम्पनीहरु बीचको कारोबार विवरण विश्लेषण भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । उनी भन्छन्– ‘कारोबार विवरण विश्लेषण गर्दैछौं ।’   

प्रहरीले आचार्य पत्नी नानुका अधिकारीसँग बैंकिङ्ग कारोबारको विवरण र आय ब्यय विवरणको डायरी मागेको छ । तर, नानुकाले सो विवरण दिएकी छैनन् । ‘आचार्यको परिवारबाट आय व्ययको विवरण आएपछि दुवैतर्फको विवरण क्रस भेरिफाई गर्छौं’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने– ‘मुद्दा दायर गर्ने समय ६ महिना हुन्छ, हामी सो अवधिभित्र टुंग्याउँछौं ।’

सह–सचिव नेतृत्वको छानविन समितिले आचार्यले उत्पादन गरेको सामान बेच्ने सुपरस्टोरले संझौतामा नै ‘बिक्री भएपछि पैसा दिने’ भनेर उल्लेख गरेको भेटिएको छ । समितिले प्रतिवेदनमा उल्लेख गरेको छ–‘व्यापार गर्नेलाई नितिकै कारण समस्या भएको छ ।’

अनुसन्धान पुरा भएपछि आरोपीहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाउने कि नचलाउने भन्नेबारे निर्णय लिइने प्रहरी वरिष्ठ उपरिक्षक कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप