मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रेम प्रसाद प्रकरण : आरोपीहरुविरुद्ध मुद्दा चल्छ कि चल्दैन ?

मृतककी पत्नीलाई प्रहरीले बोलायो
मङ्गलबार, १६ फागुन २०७९, १५ : ४२
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । प्रेम प्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । माघ १० मा संसद् भवन अगाडि आफैँलाई प्रेम प्रसादले जलाएको घटना १ महिना पुरा भएको छ । तर, मृतक पत्नीले दिएको किटानी जाहेरी अनुसार मुद्दा चल्छ वा चल्दैन भन्नेबारे अझै निर्णय हुन सकेको छैन ।

संसद् भवन अगाडि आगो लगाएको भोलिपल्ट कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भयो । प्रेम प्रसादले इलाममा उत्पादन गरेको सामान अर्डर गरेर पैसा नदिने सुपरमार्केट, मार्ट र ‘शैक्षिक टुर प्याकेज’को जिम्मा दिएर भुक्तानी नदिने क्याम्पस विरुद्ध पत्नी नानुका अधिकारीले जाहेरी दिएकी छन् । आत्महत्या दुरुत्साहनविरुद्ध नानुकाले दिएको जाहेरी उपर मुद्दा चल्छ वा चल्दैन भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । कार्की भन्छन्,‘अनुसन्धान टुंगोमा पुगिसकेको छैन ।’

प्रेम प्रसादले मृत्युअघि आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरुसँग प्रहरीले बयान लिइसकेको छ । आरोपीहरुले बयानमा भनेका कुरा र तथ्यहरुबारे प्रहरीले विश्लेषण गरेको छ । मृतकले दाबी गरे अनुसार सम्बन्धित संस्था र फर्मसँग भुक्तानी लिनुपर्ने रकमबारे यकिन गरिने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

मृतक पत्नी नानुकाले जाहेरीमा उल्लेख गरे अनुसार दाबी लाग्ने कागजात र बैंकिङ कारोबारको डिटेल मागिएको एसएसपी कार्कीले बताए । कार्की भन्छन्,‘हामीले पीडित परिवारलाई बोलाएका छौँ, ४५ दिनको काम सकेर उहाँहरु आएपछि थप अनुसन्धान अघि बढाउँछौं, पीडितले कारोबारको डिटेल उपलब्ध गराएपछि क्रस भेरिफाई गर्छौं ।’

प्रेम प्रसाद पत्नीले ४५ दिनको मृत्युकर्म सकेर काठमाडौं आउने बताएकी छन् । नानुकासँग जाहेरीमा खुलाए अनुसारको रेकर्ड प्रहरीले मागेको छ । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँले क्याथफोर्ड कलेजका सञ्चालक सुमन कटुवालसहित १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरुसँग बयान लिएको छ । ललितपुरको बालकुमारीमा सञ्चालित क्याथफोर्ड कलेजले दादागिरी शैलीमा १ लाख ७५ हजार नदिएको आचार्यले आरोप लगाएका छन् ।

बिग मार्टले  ५–७ लाखको समान अर्डर गरेर ७५ हजारदेखि डेढलाख मात्रै भुक्तानी दिने गरेको आचार्यले आत्मदाह अघि फेसबुकमा लेखेको स्ट्याटसमा उल्लेख गरेका छन् ।

पवन गोल्यानको गोल्यान एग्रो र  नक्साल स्थित शान इन्टरनेशल कलेजका प्रतिनिधिसँग प्रहरीले बयान लिएको छ । शान इन्टरनेशनलले ९० हजार नदिएको आचार्यको आरोप छ । थापाथली स्थित सुजुकी शोरुमले आफ्नो ४ लाख फिर्ता नगरेर आत्मदाह गर्न बाध्य बनाएको उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ।

प्रेम प्रसादले पैसा नदिएर आत्महत्या गर्न बाध्य बनाएको भनेपछि कतिपय व्यक्ति र फर्मले पैसा भुक्तानी गरेको रेकर्डबाट देखिएको छ । तर, कमिसनको कुरा अनुसन्धानबाट खुल्न नसकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

अनुसन्धान अधिकृतहरुले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग पनि बयान लिएका छन् । आचार्यले उधारोमा समान लिएर भाटभटेनिले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैंले नाफा कमाउने गरेको आरोप लगाएका थिए ।

प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग पनि बयान लिएको छ । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीलाई आफूले बेचेको घ्यूको पैसा नदिएको आरोप लगाएका थिए ।

आत्मदाह अघि आचार्यले पोष्ट गरेको ६ हजारभन्दा लामो फेसबुक स्ट्याटस र उनको पत्नीले दिएको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरेको छ । आरोपीहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चल्छ या चल्दैन भन्नेबारे अझै निर्णय भएको छैन । अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाउनेबारे निर्णय लिइने एसएसपी कार्कीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप