बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

१९ वर्षपछि बल्ल मन्त्री बने अशोक राई

शुक्रबार, १७ चैत २०७९, १६ : ३६
शुक्रबार, १७ चैत २०७९

काठमाडौं । २०६० सालमा जनकपुरमा भएको सातौँ महाधिवेशनमा सर्वाधिक मतसहित एमालेको केन्द्रीय सदस्य बनेका अशोक राई २०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा सर्वाधिक मतसहित उपाध्यक्ष जितेका थिए । त्यतिबेला उनी एमालेमा शक्तिशाली नेता मानिन्थे । 

तर एमालेमा आदिवासी जनजातिको अधिकार र पहिचान सुनिश्चित नभएको भन्दै उनले एमाले छाडेर आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी नेपाल बनाएका थिए । यद्यपि उनले आफ्नो नेतृत्वको पार्टी पनि लामो समय टिकाउन सकेनन् र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालसँग एकीकरण गरेर संघीय समाजवादी फोरम नेपाल बनाएका थिए ।

शालिन, अनुशासित, भद्र र संगठन तथा विचारप्रति प्रतिवद्ध नेताको रुपमा परिचित अशोक राई जनता समाजवादी पार्टी नेपालबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा मन्त्रालय सम्हाल्ने गरी सरकारमा सहभागी भएका छन् । जसपाका संघीय परिषद् अध्यक्ष राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा जितेका हुन् । नेकपा एमालेको समर्थनमा राईले १७ हजार ५९ मत ल्याएका थिए ।

एमालेमा हुँदा दुई पटक मन्त्री बनिसकेका उनी लामो समयपछि बल्ल मन्त्री बनेका हुन् । तेस्रो पटक मन्त्री हुन उनले १९ वर्ष कुर्नु प¥यो । उपेन्द्र यादवको पार्टीसँग एकीकरण गरेर संघीय समाजवादी फोरम पार्टी बनाएपछि उनी २०७४ को चुनावमा पराजित भएका थिए । धरानमा कम्युनिस्ट नेताको रुपमा परिचित अशोक राई त्यतिबेला पराजितमात्र भएनन्, मंसिर १४ मा भएको उपनिर्वाचनमा समाजवादी पार्टीको जमानत नै जफत भयो ।

२०७४ मा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लडेका राईले प्रतिनिधिसभाको चुनावमा ७७ हजार ९० मतमध्ये २२ हजार १२३ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । उनलाई कांग्रेस पार्टीले पनि साथ दिएको थियो । २०७० को दोस्रो संविधानसभा चुनावको ६५ सिटमा संघीय समाजवादीले उम्मेदवारी दिए पनि प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेको थिएन । यद्यपि समानुपातिकबाट ५ वटा सिट ल्याउन सफल भएको थियो र उनी आफू पनि समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।

उनको यस्तो लोकप्रियता थियो कि उनी आफ्नो राजनीतिक जीवनमा कहिल्यै पनि चुनाव हारेका थिएनन् । २०४८ र २०५१ सालमा खोटाङबाट उनी चुनाव जितेका थिए । २०५६ को चुनावमा उदयपुर झरेपछि प्रत्यक्ष चुनाव जित्नका लागि २४ वर्ष कुर्नु परेको थियो । २०३३ सालमा तत्कालीन कोअर्डिनेशन केन्द्रका नेता अमृत बोहराबाट पार्टी सदस्यता लिएर उनले राजनीतिक यात्रा सुरु गरेका थिए । २०५४ मा एमाले विभाजन हुँदा उनी मालेतर्फ गए । पछि २०५९ मा वामदेव गौतमसँगै उनी एमालेमा फर्केका थिए ।

२०४८ को निर्वाचनमा तत्कालीन पूर्वाञ्चलमा ओखलढुंगा र सोलुखुम्बुबाहेक अन्यत्र एमालेले सानदार नतिजा ल्याएपछि उनको कामबाट तत्कालीन महासचिव मदन भण्डारीसमेत प्रभावित थिए । राई विचारमा भने अडान राख्ने नेता हुन् । २०४९ को पाँचौँ महाधिवेशनमा उनै भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको पक्षमा उनी गएनन् । उनी सीपी मैनालीले अघि सारेको परिमार्जित नौलो जनवादको पक्षमा उभिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप