शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
बारा–२ उपनिर्वाचन

‘बारा–२ मा हारजितको फ्याक्टर जातीयता’

बुधबार, २२ चैत २०७९, १६ : ४२
बुधबार, २२ चैत २०७९

काठमाडौँ । जनमत पार्टीले २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राजेश साहलाई बारा–२ बाट उम्मेदवार बनाएको थियो । तर उनी पराजित भए ।

चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्र खाली भयो । रिक्त सो क्षेत्रमा हुन गइरहेको उपनिर्वाचनमा जनमत पार्टीले राजेश साहलाई फेरि उम्मेदवार बनाएन ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सोही क्षेत्रमा यसअघि चुनाव हारेका शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छन् । जबकि, कुशवाहा त्यतिबेला नेकपा माओवादी केन्द्रबाट तत्कालीन गठबन्धनको साझा उम्मेदवारको रूपमा मैदानमा थिए । राउतले आफ्नै दलका पराजित उम्मेदवारलाई फेरि मौका दिनुभन्दा माओवादी केन्द्र छाडेर आफ्नो पार्टीमा भर्खरै प्रवेश गरेका कुशवाहा (पराजित उम्मेदवार)लाई उम्मेदवार बनाउने निधो गरे ।

मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा राजेश साह अम्बे स्टिल कम्पनीको सीइओको जागिर छाडेर जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनी छैटौँ स्थानमा रहे । उनले त्यतिबेला दुई हजार ७२५ मत ल्याएका थिए ।

बारा २–मा एक लाख पाँच हजार ११ जना मतदाता छन् । खसेको कुल मतमध्ये १३ हजार ८२२ मत ल्याएर जसपा–एमाले गठबन्धनबाट रामसहाय यादव (जसपा) विजयी भएका थिए । दोस्रो स्थानमा रहेका माओवादी–कांग्रेस–लोसपालगायत पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुशवाहा (माओवादी)ले १३ हजार ४६८ मत ल्याएका थिए ।

पार्टीलाई राम्रो बनाउने उद्देश्यका साथ नै अहिलेका लागि शिवचन्द्र कुशवाहा उपयुक्त उम्मेदवार रहेको उनको भनाइ छ ।

जसपाबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादव तेस्रो स्थानमा रहँदै ११ हजार ४३ मत ल्याएका थिए ।

उपनिर्वाचनमा राजेश साहलाई पनि उम्मेदवार बन्ने इच्छा थियो । तर पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएपछि पार्टीको निर्णय स्वीकारेर अघि बढ्ने उनले बताए । ‘पार्टीले गरेको निर्णय स्वीकार छ, पार्टीले जे गर्‍यो, त्यो राम्रैका लागि होला,’ उनले भने, ‘उम्मेदवार बन्ने इच्छा मेरो पनि थियो तर शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएकोमा मेरो कुनै आपत्ति छैन ।’

पार्टीलाई राम्रो बनाउने उद्देश्यका साथ नै अहिलेका लागि शिवचन्द्र कुशवाहा उपयुक्त उम्मेदवार रहेको उनको भनाइ छ । ‘मंसिरमा सम्पन्न चुनावमा उहाँले दोस्रो स्थान ल्याउनु भएको थियो,’ उनले भने, ‘पार्टीले रणनीतिक रूपमा उहाँलाई उम्मेदवार बनाएको हो, चुनाव जित्नका लागि नै उहाँलाई उम्मेदवार बनाइएको हो ।’

विगतमा आफू राजनीतिमा त्यति सक्रिय नरहेको कारण पनि चुनावमा राम्रो प्रभाव पार्न नसकेको उनको बुझाइ छ । ‘जागिर गरेर जीवन बिताइरहेको थिएँ, अचानक उम्मेदवार बन्नुपर्ने अवस्था आयो,’ उनले मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अनुभव सुनाउँदै भने, ‘चुनावकै मुखमा पार्टीमा सामेल भएर उम्मेदवार बनेँ, ६ महिना अघि पार्टीसँग जोडिएर चुनावमा गएको भए यो भन्दा राम्रो अवस्था आउन सक्थ्यो होला ।’

बारा–२ मा जनमत र जसपाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको उनले बताए ।

बारा–२ मा जातीय ‘फ्याक्टर’ को निकै महत्त्व रहेको उनी बताउँछन् । ‘सबैभन्दा मुख्य कुरा जात हो, त्यसपछि पैसा हो, त्यसपछि चुनावी एजेण्डा हो,’ उनले भने, ‘अन्त्यमा राजनीतिको सैद्धान्तिक पाटो हो ।’ जातीयताले त्यहाँका मतदातालाई नराम्रो गरी गाँजेको बताउँदै उनले सबै पार्टीमा यो लागु भएको बताए ।

मास्टर्ससम्म अध्ययन गरेका राजेश साहलाई बारा तथा पर्सा जिल्लामा एउटा बौद्धिक व्यक्तित्वमा रूपमा चिन्ने गरिन्छ । उनले उपचुनावमा पनि जितहारको पहिलो ‘फ्याक्टर’ जातीय नै हुने दाबी गरे ।

उनले आफ्नो पहिलो प्राथमिकता राजनीति नै रहने प्रस्ट पारे । ‘चुनाव नै लडिसकेको हुनाले अब त्यसलाई निरन्तरता दिनुपर्छ तर हातमुख जोर्नका लागि पनि केही गर्नुपर्ने अवस्था रहेको छ, साइडमा आय स्रोतका लागि केही काम पनि गर्नुपर्ला ।’

बारा–२ मा जनमत र जसपाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको उनले बताए । दुवै पार्टीमा उम्मेदवार ‘हेभीवेट’ नेता भएका कारण कडा प्रतिस्पर्धा हुने उनको आकलन छ । उनले आफ्नो पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा नै विजयी हुने दाबीसमेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप