आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको राष्ट्र बैंकको आशंका

प्रतिबन्धका बीच पनि कसरी हुन सक्छ कारोबार ?
बिहीबार, २३ चैत २०७९, १४ : २५
बिहीबार, २३ चैत २०७९

काठमाडौं । कानुनतः ‘क्रिप्टोकरेन्सी’ नेपालमा प्रतिबन्धित भए पनि आर्थिक मन्दीका बीच यसको अवैध कारोबार भइरहेको हुन सक्ने आशंका केन्द्रीय बैंकले गरेको छ ।

बिटक्वाइन, ईथर, टीथर, बीएनबीजस्ता सयौँ अभौतिक मुद्रालाई प्रयोग गरी सट्टेबाजीमा गिरोहहरूले नेपालबाट लगानी बाहिर लगिरहेको हुन सक्ने आशंका नेपाल राष्ट्र बैंकले गरेको हो ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी- क्रिप्टोकरेन्सी, नन् फङ्गिबल टोकन (एनएफटी), डिजिटल एसेट, डिसेन्टरलाइज फाइनान्स (डीईएफआई) ले कानुनी मान्यता नपाएको तथा नेपाल सरकारको जमानत प्राप्त नभएको र केन्द्रीय बैंकले निष्काशन एवं व्यवस्थापन समेत नगरेको भर्चुअल मुद्रालाई विदेशी विनिमय ऐन, २०१९ को दफा १० (क) र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ ले बर्जित गरेको छ ।

क्रिप्टोकरेन्सी जस्ता अभौतिक मुद्रा केन्द्रीय बैंकको काबु (नियन्त्रण एवं कारोबारको तथ्याङ्क) बाहिर हुँदा के कति कारोबार, प्रयोगमा  छ भन्ने कुनै जानकारी छैन । तर, पछिल्ला केही शंकास्पद गतिविधिले भने नेपालभित्र बसेर वा नेपाल बाहिरबाट पनि नेपालीहरू क्रिप्टोकरेन्सीजस्तो गैरकानुनी कारोबारमा संलग्न भइरहेको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ ।

राष्ट्र बैंकका अनुसार अवैधानिक क्रिप्टोकरेन्सीबाट देशभित्रबाट पिरामिड आकारको व्यापार व्यवसाय र सट्टेबाजीको माध्ययमबाट पैसा बाहिरिने खतरा छ भने बाहिरबाटै रेमिट्यान्सको पैसासमेत क्रिप्टोमा लगानी हुने जोखिम देखिएको छ । ‘यसले नेपालको कानुन विपरीत विदेशमा लगानी हुन सक्छ । यस्तो कार्य विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ विरुद्ध हुने हुँदा यसमा नेपाल राष्ट्र बैंकले पटकपटक सचेत गराइरहेको छ,’ राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने ।

यस्तो कारोबारबाट लगानीको जोखिम देखिएर नै प्रतिबन्ध गरिएको उनको भनाइ छ । उनका अनुसार राष्ट्र बैंकले त सुसूचित गर्ने मात्र हो, कैफियत भेटिए कानुन कार्यान्वयनको सम्बन्धित पक्षले कारबाही गर्दै आएको छ । नेपालको प्रचलित कानुनले उक्त कार्यलाई दण्डनीय मानेको छ ।  

क्रिप्टोकरेन्सी / हाइपर फन्ड, पिरामिड आकारको व्यापार व्यवसाय रोक्न केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय एजेन्ट सञ्जाल, बैंक तथा वित्तीय संस्था र विदेशी विनिमय विभागसँग समेत समन्वय गरिरहेको उनले रातोपाटीसँग बताए ।

लगानी बाहिरिएको शंका

हाल नेपालले विदेशी मुद्रामा प्राप्त गर्ने आम्दानी विदेशी विनिमय सञ्चितिमा गणना हुने गरेको छ भने क्रिप्टोकरेन्सीलाई रिजर्भ करेन्सीको रूपमा स्वीकार नगरिएको हुँदा सोको प्रचलनबाट विदेशी विनिमय सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्ने बैंकको भनाइ छ ।

नेपालमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण भएको हुँदा नेपाल बाहिर बस्ने नेपाली नागरिकलाई विभिन्न प्रलोभन / प्रभावमा पारी क्रिप्टोकरेन्सीमा लगानी हुन सक्ने र त्यस्तो सट्टेबाजी लगानीले लगानीकर्ताको हित लगायत देशको अर्थतन्त्रमै समस्या निम्तिन सक्ने जोखिम केन्द्रीय बैंकले औंल्याएको छ ।

यसको प्रभाव अन्ततः क्रिप्टोकरेन्सीको कारोबार / लगानीबाट मुलुकको पुँजी पलायन हुनसक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउने विप्रेषण विदेशमै लगानी हुनसक्ने खतरा देखिएको राष्ट्र बैंकले जनाएको छ ।

दर्जन बढी चुनौती

मुद्रा निष्काशन तथा व्यवस्थापनको आफ्नै अधिकारमाथिको चुनौती रहेको क्रिप्टोकरेन्सी वित्तीयसँगै सामाजिक सुरक्षा तथा हातहतियार खरखजाना जस्तो आपराधिक उद्योगमा समेत प्रयोग हुन सक्ने आकलन बैंकले गरेको छ ।

वित्तीय ग्राहक संरक्षण सम्बन्धी जोखिम, लगानीको असुरक्षा सम्बन्धी जोखिम, ठगी तथा कर छली सम्बन्धी जोखिम, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँगको सहकार्य विरुद्ध हुने सम्बन्धी जोखिम, वित्तीय मध्यस्थता नहुने सम्बन्धी जोखिमको सम्भावनालाई मध्यनजर गरी राष्ट्र बैंकले यसमाथि प्रतिबन्ध लगाएको हो ।

चुनौतीहरुः

–समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम

–वित्तीय स्थायित्व सम्बन्धी जोखिम

–मौद्रिक नीति कार्यान्वयन नहुने सम्बन्धी जोखिम

–विदेशी विनियम सञ्चिति सम्बन्धी जोखिम

–सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम

–वित्तीय ग्राहक संरक्षण सम्बन्धी जोखिम

–लगानीको असुरक्षा हुने सम्बन्धी जोखिम

–ठगी तथा कर छली सम्बन्धी जोखिम

–अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँगको सहकार्य विरुद्ध हुने सम्बन्धी जोखिम

–वित्तीय मध्यस्थता नहुने सम्बन्धी जोखिम

–मुद्रा निष्कासन गर्ने एकाधिकार सम्बन्धी कानुनको पालना नहुने जोखिम

–विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुन पालना नहुने सम्बन्धी जोखिम

–विदेशी विनिमय माथिको नियन्त्रण (नियमन) गुम्ने सम्बन्धी जोखिम ।

विश्वमा २३ हजार भर्चुअल करेन्सी क्रियाशील

हाल विश्वमा २३ हजार विभिन्न नाम गरेका क्रिप्टोकरेन्सी प्रचलनमा छन् । सर्वप्रथम सन् २००९ मा बिटक्वाइन नामक क्रिप्टोकरेन्सी प्रयोगमा आएको थियो । तर, अहिले यस्ता हजारौं क्रिप्टो प्रयोगमा छन् । अदृश्य (भर्चुअल) रूपमा कारोबार हुने यस्तो करेन्सीको मध्यस्थता गर्ने एजेन्टहरुको संख्या नै ४५० वटा रहेको राष्ट्र बैंकले जनाएको छ ।

केही देशले यस्तो अभौतिक मुद्राको प्रयोगलाई मान्यता दिए पनि नेपालमा प्रतिबन्धित छ ।

राष्ट्र बैंकका अनुसार विभिन्न मुलुकले आफ्ना नागरिकले अन्य देशमा गर्ने लगानी, एक देशबाट अर्को देशमा हुने पुँजीको प्रवाह र मौद्रिक व्यवस्थाका सम्बन्धमा समेत फरक–फरक प्रबन्ध गरेको पाइन्छ । नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्धित छ । यतिमात्र होइन, विश्वभर प्रचलित एवम् सार्वभौम मुलुकले जारी गरेको मुद्रा (जस्तैः अमेरिकी डलर, जापानी येन, बेलायती पाउण्ड आदि) का सम्बन्धमा समेत नेपालमा नियमन / नियन्त्रण गरिएको अवस्था छ । नेपाली नागरिकले नेपालभित्र तोकिएको सीमासम्म मात्र नगद विदेशी मुद्रा राख्न सक्ने व्यवस्था छ ।

क्रिप्टोकरेन्सी सम्बन्धी नियन्त्रण / प्रतिबन्ध नेपालको विशिष्ट व्यवस्था अन्तर्गत रहेको बैंकले जनाएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको निकाय युएनसीटीएडीले क्रिप्टोकरेन्सी विकासशील राष्ट्रहरुलाई हानीकारक हुने र विकासोन्मुख मुलुकहरुमा क्रिप्टोकरेन्सीको विस्तार रोक्नुपर्ने धारणा राखेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले ईआई सालभाडोरलाई क्रिप्टोकरेन्सीको कानुनी ग्राह्यता खारेज गर्न सुझाव दिएको छ ।

चीन र भारतमा समेत क्रिप्टोकरेन्सीलाई अन्य विकसित मुलुकहरुजस्तो खुल्ला गरिएको छैन । साथै, नेपालभित्र कारोबारका लागि नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउनु पर्ने विद्यमान कानुनी व्यवस्था समेतले गर्दा निजी क्षेत्रबाट मुद्राको रूपमा कार्य गर्न सक्ने गरी कुनै वस्तु (दृश्य वा अदृश्य) जारी हुने परिकल्पना नगरिएको केन्द्रीय बैंकको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप