युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
सारांश
- इजरायल र इरानबीचको युद्धका कारण इजरायलमा स्कुल, कलेज र व्यापार बन्द छन्, सार्वजनिक यातायात ठप्प छ।
- इजरायलमा रहेका नेपालीहरू सुरक्षा प्रोटोकल पालना गर्दै दैनिकी चलाइरहेका छन्, तर एक जना डाक्टरले नेपाल फर्किन सहयोगको याचना गरेका छन्।
- इजरायलका लागि नेपाली राजदूतले समस्या परेका नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै लामो समय युद्ध चले नेपाल सरकारसँग समन्वय गर्ने बताए।
इजरायल अहिले युद्धमा छ। इजरायल र इरानबिच लडाइँ चलिरहेका बेला स्वाभाविक रुपमा जीवन सामान्य छैन। स्कुल, कलेज, अफिस, व्यापार सबै बन्द छन्। निजी यातायात फाट्टफुट्ट चलेका छन्। सार्वजनिक यातायात चलेको छैन। उता (इरानतर्फ) बाट लामो दुरीका मिसाइल अथवा ड्रोन आयो भने त्यसलाई इन्काउन्टर गरेर माथि नै धुला धुलो बनाउन सकिन भने धेरै आएको बेलामा खस्ने सम्भावना हुन्छ।
ड्रोन वा मिसाइल हुँदाखेरि मोबाइल बज्छ। मोबाइल बजेको एक छिन पछि ठुलो आवाजमा देशभरि साइरन बज्छ। साइरन बजेपछि हामी बङ्करमा लुक्नु पर्छ। जहाँसुकै यदि बाटोमा हो भने पनि गाडी रोकेर साइडतिर गएर घोप्टो परेर बस्नुपर्ने यहाँको नियम छ। अब त्यही त्यही नियम पालन गर्दै जीवन अगाडि बढाउने हो।
युद्ध भएको देशमा अलिकति त्रसित मनस्थिति त हुनै भयो । तर अब जे हुन्छ सो टर्छ नै। एउटा जिम्मेवार पद र जिम्मेवार व्यक्ति भएको हुनाले आफ्नो मात्र सुरक्षा हेरेर भएन। अरू अरूको पनि सुरक्षाको व्यवस्थाको बारेमा सोच्नु पर्यो।
अरू कुनै मान्छेलाई केही समस्या पर्यो भने आकस्मिक केही मद्दत गर्नु पर्ला कि भनेर त्यसको लागि त तयारी गर्नु पर्यो। अहिले कुनै यातायातको साधन छैन। प्लेन चल्दैन। यहाँबाट सकिन्छ भने छिमेकी देश पठाएर अनि नेपालतिर पठाउन सकिन्छ कि भनेर त्यो कोसिसमा लागिराख्या छु अहिले।
हाम्रो सम्पर्कमा भएकै जति पनि नेपालीलाई मैले सोधेको छु समस्या नै परेको चाहिँ पाएको छैन । वरिपरि पड्किदा खेरि वरपर भत्केको देखेर निकै त्रास चाहिँ छ । तर त्रास भएर पनि सेफ्टी प्रोटोकललाई फलो गर्दै र सुरक्षाको नियमलाई अनुसरण गर्दै आफ्नो काम र दैनिकी चलाइरहेका छन् यहाँ भएका नेपालीहरूले।
नेपाली कामबाट पनि विचलित भएका छैनन्। दैनिकी चलाइरहेका छन्। यसैबिच एक जना मेडिकल डाक्टरले हिजो इमेल पठाएका थिए । म अस्पतालमा इन्टर्न गर्दै छु। नेपाल फर्कने कुनै रेस्क्यु फ्लाइट अथवा केही कुनै कार्यक्रम छ भने मलाई त्यसमा फर्काउने व्यवस्था गर्दिनु भन्ने लेखिएको थियो । तर उहाँले आफ्नो नम्बर भने लेख्नु भएको छैन।
आफ्नो पक्का ठेगाना दिएर अनि नम्बर सहित पठाउनु भनेर इमेलमा हिजै उत्तर दिएको छु। अहिलेसम्म पाएको रेस्क्यु सम्बन्धमा उहाँको त्यो हो। अर्को विराटनगरको मेयर हुनुहुन्छ। उहाँ चाहिँ यहीँको सरकारको तालिममा आउनुभएको। उहाँको २० तारिख रिटर्न टिकट छ। हुन त अझै टाइम छ। तर अब अहिले तालिम भन्दा पनि सकेसम्म छिटो जान पाए हुन्थ्यो भन्ने उहाँलाई लाग्या छ। तर अहिले जाने उपाय छैन। प्लेन छैन।
तैपनि उहाँलाई जोडनको बाटो अथवा इजिप्टको बाटो पठाउन सकिन्छ कि भनेर लाग्या छु। अझै उपाय निस्किसक्या छैन। यहाँ कामदारको अनिवार्य इन्सुरेन्स हुन्छ । त्यसकारण पहिले त सम्बन्धित रोजगारदाताले नै समस्या हेर्छ। इन केस उसले हेरेन र समस्या भयो भने त्यसपछि हामी एम्बेसीले समाधानमा लाग्ने हो । यहाँ अप्ठ्यारोमा परेका नेपालीहरूलाई सकेको सहयोग हाम्रो दूतावासबाट हुन्छ ।
तर अहिलेसम्मको अवस्था त्यो छैन । यदि लामै चल्यो र निकै ठुलो क्षति हुन थाल्यो भने त्यसपछिको अवस्थामा चाहिँ हामी नेपाल सरकारसँग समन्वयमा गर्छौँ। इजरायलमा ५ देखि ७ हजार बिचमा नेपाली कामदार होलान् । उनीहरू कामदार र प्रशिक्षार्थी कामदार र पढ्न आएका विद्यार्थी नै हुन् ।
(रातोपाटीकर्मी सिर्जना बरालसँगले इजरायलका लागि नेपाली राजदूत पण्डितसँग गरेको कुराकानीमा आधारित)
राजदूतसँगको कुराकानी-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण