बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
सडक सुरक्षा

सडक फराकिलो बनेसँगै दुर्घटनामा वृद्धि

रुपन्देहीमा सवारी दुर्घटना न्यूनीकरण चुनौती बन्दै
बिहीबार, ३० चैत २०७९, ०६ : २२
बिहीबार, ३० चैत २०७९

बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका, पत्थर डाँडामा गत हप्ता मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर घाइते भए । उनको उपचारका क्रममा मृत्यु भयो । यस्तै मङ्गलापुरमा तीव्र गतिमा कुदाएको  सानो गाडी सडकको डिभाइडरमा ठोक्किँदा चालक सामान्य घाइते भए भने गाडीमा क्षति भयो ।

प्रहरीले दुवै चालकलाई कारबाहीको प्रक्रियामा लगेको छ ।  पछिल्ला वर्ष रुपन्देही जिल्लामा सवारी दुर्घटना र क्षतिको क्रम बढेको छ ।

जिल्लाका सबै स्थानीय तहमा पक्की सडक पुगेको छ । तर सबैभन्दा धेरै दुर्घटना तिलोत्तमा नगरपालिकाभित्र भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको त्रिवर्षीय सवारी दुर्घटनाको तथ्याङ्क अनुसार रुपन्देहीमा सडक विस्तार र स्तरोन्नतिसँगै सवारी दुर्घटनाको संख्या पनि बढेको देखिन्छ ।

रुपन्देहीमा आर्थिक वर्ष २०७७-०७८ मा १६२ वटा दुर्घटना भएकोमा ८२ जनाको मृत्यु र १८४ जना घाइते भएका थिए । घाइतेमध्ये १०५ जना पुरुष र ११ जना महिला गरी ११६ जना गम्भीर घाइते भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७८-०७९ मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाको मृत्यु भएको थियो भने २३० जना घाइतेमध्ये १३७ जना पुरुष र ३४ जना महिला गरी १७१ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक साकारराज पन्तले बताए ।

उनका अनुसार रुपन्देहीमा सबैभन्दा धेरै दुर्घटना सिद्धार्थ राजमार्गको तिलोत्तमा नगरपालिकाको सडक खण्डमा हुने गरेको छ । ‘ओभर स्पिड’ नै दुर्घटनाको प्रमुख कारण रहेको उनको ठम्याई छ ।

जिल्लाको कुल सवारी दुर्घटनामध्ये योगीकुटीदेखि बेलिहियासम्मको खण्डमा मात्र ३३ प्रतिशत दुर्घटना भएका छन् । चालकको लापरबाहीका कारण यो क्षेत्रमा दुर्घटना धेरै भएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्वासेले बताए ।

‘यहाँ सडक फराकिलो छ, यहीँ धेरै दुर्घटना हुनुमा चालकको लापरबाही बाहेक अन्य केही हुन सक्दैन,’ उनले भने ।

चालु आर्थिक वर्षको ६ महिनामा रुपन्देहीमा ८५ वटा सवारी दुर्घटना भएकोमा ४४ जनाको मृत्यु भएको छ भने ५९ जना गम्भीर घाइते र २० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

सडक विस्तारसँगै ‘ओभर स्पिड’ का कारण दुर्घटना बढेको प्रहरीको भनाइ छ । बुटवलको योगीकुटीदेखि बेलहियासम्म ‘सिक्स लेन’ सडकमा सवारी साधनहरु तीव्र गतिमा हुइँकिने गरेका छन् । सडक फराकिलो भएका कारण धेरैले स्पिडमा चलाउँदा अरूसँग ठोक्किने, अनियन्त्रित भएर आफैँ पनि दुर्घटनामा परेको धेरै घटना रहेको प्रहरीको भनाइ छ ।

अर्कोतिर मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना बढेको छ । पछिल्लो समय बेलहियावाट लागु औषध सेवन गरेर आउने युवाहरूले सवारी साधन चलाउँदा पनि दुर्घटना बढेको खुलेपछि प्रहरीले भैरहवामा लागु औषध सेवनको चेकजाँच गर्न थालेको छ ।

accident1-1

शंका लागेमा लागु औषध सेवनको पनि चेकजाँच गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्तले रातोपाटीलाई बताए । उनले भने, ‘बेलहियादेखि बुटवलसम्म यात्रामा शंका लागेका सवारी चालकहरूलाई लागु औषध चेकजाँच गरेका छौं ।’

सुरक्षित यात्रा नेपाल र ट्राफिक प्रहरीसहित अन्य सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएका छन् । प्रहरीले साप्ताहिक कार्यक्रम अन्तर्गत सचेतनामूलक गतिविधि पनि गर्र्दै आएको छ ।

सडकमा केही समय चालकलाई रोकेर ट्राफिक प्रशिक्षण दिने, सवारी साधनको अवस्था बुझ्न लगाउने, विद्यालय तथा कलेजहरूमा ट्राफिक नियमको बारेमा जानकारी दिने काम ट्राफिक प्रहरीले गर्दै आएको छ ।

5

सुरक्षित यात्रा नेपालले पनि सवारी दुर्घटनामा न्यूनीकरण गर्न सचेतामुलक कार्यक्रम, दुर्घटना नगराउने चालकहरूलाई सम्मान, प्रहरीलाई विभिन्न सामग्री सहयोग गर्ने जस्ता काम गरेको छ ।

यसका बाबजुद सवारी दुर्घटनामा कमी आउन सकेको छैन । सीमित बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको अवस्था, मौसमको कारण र हरेक वर्ष सवारी साधनको संख्या वृद्धि हुँदै जानुले दुर्घटना बढ्दै गएको जानकारहरू बताउँछन् ।

रुपन्देहीमा लागु औषध सेवन गरेर सवारी चलाउनेको संख्या पनि बढ्न थालेपछि चुनौती देखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले बताए । उनले पहिला मापसेका कारण दुर्घटना हुने गरेको तर पछिल्लो समय मापसे चेकजाँचमा कडाइ गरेपछि लागु औषध सेवन गरेर सवारी चलाउनेको संख्या बढ्न थालेको बताए ।

जिल्लामा रहेका ९ वटा ट्राफिक प्रहरी बिट अन्तर्गत दैनिक सवारी चेकजाँचमा सरदर प्रतिदिन १७० सवारी साधन तथा चालक कारवाहीमा पर्ने गरेका छन् । ट्राफिक नियम उल्लंघनका घटनामा उनीहरुमाथि कारवाही हुँदै आएको छ ।

traffic2

प्रहरी निरीक्षक पन्तले बिना लाइसेन्स सवारी साधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुबाहक सवारी साधनमा सामान ओसार पसार, बिना कागजात सवारी चलाए, तोकिएको भन्दा बढी माल बस्तु बोके जरिवाना गर्ने व्यवस्था रहेको बताए । उनले भने, ‘नियमित चेकजाँच गर्दै नियम विपरीत पाइएको खण्डमा कारवाही पनि हुँदै आएको छ तर पनि दुर्घटनामा कमी आउन सकेको छैन ।’

रुपन्देहीमा पछिल्लो तीन वर्षमा सवारी कारबाहीको संख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७६-०७७ मा २२ हजार २ सय ३७ सवारीसाधनलाई कारबाही गरेर १ करोड ८० लाख जरिवाना असुलिएको थियो ।

यस्तै आर्थिक २०७७-०७८मा यो संख्यामा वृद्धि भई ५८ हजार १ सय ८४ सवारी साधनलाई कारबाही गर्दा ५ करोड ७३ लाख राजस्व जरिवाना स्वरूप संकलन भएको छ । यस्तै, आर्थिक वर्ष २०७८-०७९ मा ६५ हजार ९ सय ५० वटा सवारीसाधनलाई कारबाही गर्दा ६ करोड ९१ लाख राजस्व संकलन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप