सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठकमा कसले के भने ?

बुधबार, ०६ वैशाख २०८०, १६ : ३२
बुधबार, ०६ वैशाख २०८०

 काठमाडौँ । सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन् ।   

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी तीन वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन् ।   

उनले शिक्षा नागरिकको मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि सोअनुसार निजी क्षेत्रको व्यवस्था गर्न सरकारले नसकेको भन्दै आपत्ति जनाइन् ।   

सांसद माझीले शिक्षा नागरिकको मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिएको तर शिक्षा सहज र सम्मानजनक ढंगले बालबालिकाहरुले सहज रुपमा नपाएको गुनासो गरिन् ।  उनले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाउने र कयौँ मानिसहरू गरिबिको खाडलमा जाकिँदै गइरहेको दाबी गरिन् । 

उनले निजी विद्यालयहरूमा प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गर्नुपर्ने बताइन् । उनले वर्षैपिच्छे नयाँनयाँ किताब फेर्ने कामको अन्त्य गरी न्यूनतम तीन वर्षमा किताब फेर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले नेपालमा पहिलो पटक दूरदराजका विद्यालयहरुमा शैक्षिकसत्र अघि नै पाठ्यपुस्तक पु¥याउन सफल भएकोमा नेपाल सरकार प्रधानमन्त्रीलाई धन्यवाद दिइन् ।  

त्यस्तै, सांसद अनिशा नेपालीले बालविकास शिक्षक संगठनले राख्दै आएका माग तत्काल सम्बोधन गर्न माग गरिन् । उनले विद्यार्थीहरुको पहिलो विद्यालय घर र दोस्रो विद्यालय  भएको भन्दै बालविकासमा पठाउने शिक्षकहरु आन्दोलन गर्नुपर्ने अवस्था रहिरहँदा त्यसको असर बालबालिकालाई पर्ने  बताइन् । उनले तल्लो तहमा विद्यार्थीहरुले जस्तो शिक्षा पायो त्यसको प्रभाव माथिल्लो कक्षाहरुमा जाँदा पनि रहने भन्दै बालबालिकाहरुले घर प्राथमिक तहमा पाइरहेको शिक्षाले विद्यार्थीहरुको भविष्य निर्धारण हुने बताइन् । उनले नेपाल बालविकास शिक्षक संगठनले विभिन्न माग राख्दै आन्दोलन गर्ने र शिक्षामन्त्रीले सम्झौता मात्रै गर्ने तर माग सम्बोधन नहुने अवस्थाले राम्रो संकेत नदेखाएको बताइन् ।  

त्यस्तै सांसद सञ्जयकुमार गौतमले सरकारले देशको उच्च शिक्षामा सुधार गर्नेगरी अहिलेसम्म काम नभएको बताए । उनले नेपालका विश्वविद्यालयहरुप्रति नेपाली विद्यार्थीहरुको आकर्षण घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले बिस्तार विश्वविद्यालयहरु खालि हुँदै गइरहेको बताए ।   

सांसद गौतमले विद्यालय र विश्वविद्यालयहरुमा विद्यार्थीहरुको संख्या कम हुँदै गइरहेको बताए ।   उनले नेपालका विद्यालय र विश्वविद्यालयहरुको शैक्षिक गुणस्तर र संख्यामा समेत कमी हुँदै आएको उल्लेख गरे । उनले २०७५ सालमा जम्मा ७० हजार विद्यार्थीहरुको स्नातक पास गरेकोमा २०७७÷७८ मा आउँदा घटेर ३० हजार विद्यार्थी मात्रै पास भएको बताए । उनले उच्च शिक्षाको लागि विद्यार्थीहरु विदेश जाँदा देशको बुद्धि, पैसा ,भविष्य र सम्भावना समेत विदेशमा गइरहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप