शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा, ६५ मतदानस्थल अति संवेदनशील

शनिबार, ०९ वैशाख २०८०, १२ : ००
शनिबार, ०९ वैशाख २०८०

बारा । बारा निर्वाचन क्षेत्र नं २ मा आइतवार हुने निर्वाचनका लागि ६५ वटा निर्वाचन स्थललाई अति संवेदनशिल सूचीमा राखिएको छ । बारा –२ का ५ वटा पालिकामा ८२ वटा मतदानस्थल र १३७ वटा मतदान केन्द्र तोकिएको छ । जिल्ला सुरक्षा समितिले भूगोल, पूर्वाधार, मतदाताको संख्यालाई मध्यनजर गर्दै मतदान स्थलको वर्गाीकरण गरेको हो ।
मतदानस्थललाई वर्गीकरण गर्दै सुरक्षा समितिले सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने रणनीति बनाएको छ । बारा २ को उपनिर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी २ हजार ६ सुरक्षाकर्मी  खटाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जनाएका छन् । यता निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गाीकरण आधारमा सुरक्षा व्यवस्था परिचलान गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । ‘हामीले निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउन हरसम्भव प्रयास गरेका छौ’ प्रजिअ सापकोटाले भने ‘मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण बनिसकेको छ । त्यसैअनुसार सुरक्षा व्यवस्था परिचालन गरिसकेका छौ ।’

उपनिर्वाचनलाई लक्षित गरेर बिहिवार रातीदेखि भारतसँग जोडिएको सीमा नाका पूर्णरुपमा बन्द गरिएको छ । भारतीय पक्षसँग सहकार्य गरेर सीमा नाका बन्द गरिएको र उक्त क्षेत्रमा सुरक्षाकर्मीको सक्रियता बढाएको प्रजिअ सापकोटाले बताए । निर्वाचन क्षेत्रमा प्रवेश गर्ने नाका, मतदान स्थललगायत सबै ठाँउमा प्रहरी परिचालित भइसकेको र मतदानको दिन अति संवेदनशील स्थलमा १२ जना र सामान्य मतदानस्थलमा ८ जनाका दरले प्रहरी परिचालन हुने जनाइएको छ ।

यसैगरी निर्वाचन क्षेत्रमा तीनजना प्रहरी नायव उपरीक्षक र १३ जना प्रहरी निरीक्षकको कमाण्डमा नियमित गस्ती हुने जनाइएको छ । एउटा स्थानीय तहमा प्रहरीका तीनवटा गाडीले गस्ती गर्ने प्रहरी उपरीक्षक बोगटीले जनाएका छन् । मतपेटिकाको सुरक्षाको लागि विशेष निर्देशन दिएकोले मतपेटिका असुरक्षित हुने गतिविधि भएमा बुथमा खटिएका प्रहरीलाई गोली चलाउन समेत अधिकार दिइएको जनाइएको छ ।

निर्वाचन क्षेत्र प्रवेश गर्ने सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैयालगायतका नाकामा प्रहरी परिचालन गरिएको र मतदानको दिन अन्य क्षेत्रका पैदल यात्रु समेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिने उनले बताए । ‘मतदानको दिन निर्वाचन क्षेत्र पूर्णरुपमा सुरक्षा घेराभित्र रहन्छ, अनुमति प्राप्त सवारी साधन र अति आवश्यक बाहेकका कुनै पनि व्यक्ति निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पाउने छैनन् ’ बोगटीले भने ‘शंकास्पद गतिविधि र जबर्जस्ती गरेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाउनेछ । ’

उपनिर्वाचनमा नेपाल प्रहरीपछि दोस्रो घेराको कमाण्ड सशस्त्र प्रहरीले सम्हाल्नेछ । सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगीले करिब ६ सय सशस्त्र प्रहरी परिचालित हुने बताए । सीमा क्षेत्रमा खटिएका प्रहरीलाई त्यसै क्षेत्रमा खटाइएको र जिल्ला भित्र रहेका अन्य जनशक्तिलाई मतदानस्थल र निर्वाचन क्षेत्रमा परिचालन गरिएको डांगीले जानकारी दिए । बारामा मुसर्वा, मटिअर्वा, कवही, पिपरपाती, सिम्रौनगढ लगायतका नाका छन् । यसैगरी निर्वाचन क्षेत्रमा तीनसय बढी  नेपाली सेना खटिनेछन् । तेस्रो घेरामा परिचालित हुने सेनाले निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्त राख्नेछ ।

८२ मतदान स्थलमा ६८५ जना कर्मचारी परिचालित

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६ सय ८५ जना कर्मचारीलाई परिचालन गरेको छ । ८२ मतदान स्थलमा सोही अनुरुप मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी परिचालन गरिएको हो । निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले सबै मतदान स्थलमा कर्मचारी र निर्वाचन सामाग्री पुगिसकेको बताए । उनले शनिवारसम्म बुथ निर्माणको काम सम्पन्न हुने र सुरक्षासहित मतपत्र मतदान स्थलमा पुग्ने जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले एउटा मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाएको छ । ८२ मतदान स्थलमा एक सय ३७ मतदान (बुथ) केन्द्र छन् ।

एक लाख पाँच हजारभन्दा बढी मतदाता

बारा क्षेत्र नं. २ मा एक लाख पाँच हजार २४८ मतदाता छन् । जसमध्ये ५८ हजार नौ सय ३४ पुरुष छन् भने ४६ हजार तीन सय १४ महिला मतदाता छन् । यस निर्वाचन क्षेत्रमा कोहल्वी नगरपालिकाको एउटा वडासहित ५ वटा स्थानीय तहको ४४ वटा वडा पर्दछ । पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिकाका सबै वडा पर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप