शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

तनहुँ–१ उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान जारी

आइतबार, १० वैशाख २०८०, ०७ : ५२
आइतबार, १० वैशाख २०८०

तनहुँ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२  मतदान केन्द्र छन् । 

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरे। 

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार डा स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ ।  

मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका दमौली ल्याइनेछ । देवघाट गाउँपालिकाको कोटा, बैदीलगायतका केही विकट ठाउँबाट मतपेटिका दमौली आइपुग्न केही बढी समय लाग्छ । मतपेटिका सङ्कलनपश्चात् सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि कांग्रेसबाट  भट्टराई, एमालेबाट  खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा  वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् । उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता  छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप