बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कपनमा निराको हत्या : आरोपीको पहिचान नै भएन

घटनास्थलमा दिनभर प्रदर्शन
आइतबार, १० वैशाख २०८०, २० : २६
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । कपनस्थित सरस्वती नगरमा भाँडा पसल चलाउने निरा पाण्डे आचार्य वैशाख ७ मा मृत भेटिइन् । सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरिदिइन् । 

निराले चलाएको ‘निरु किचेन’बाट करिब ३ सय मिटर पर निराका श्रीमान् योगेन्द्र आचार्यले इलेक्ट्रिक सामग्री पसल चलाएका छन् । योगेन्द्र पुग्दा निरा मृत अवस्थामा पल्टिरहेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुको डोब देखिएको छ ।

योगेन्द्र र निराकी १० वर्षीया छोरी छिन् । निराको हत्या भएको थाहा हुनुभन्दा करिब १ घण्टाअघि छोरीले उनलाई चिया लगिदिएकी थिइन् । ३ जनाको परिवार त्यहाँ नजिकै डेरामा बस्दै आएका थिए । 

निराको हत्या भएको ४ दिन भएको छ । तर, प्रहरीले हत्यामा संलग्न आरोपीबारे कुनै सुराक पाएको छैन । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले आरोपी पहिचान हुन नसकेको बताए । उनले भने,‘आरोपी सम्म पुग्नेगरी अनुसन्धान भइरहेको छ ।’ 

‘निरु किचेन’मा क्लोज सर्किट (सिसि) क्यामेरा जडान गरिएको थिएन । सिसि क्यामेरा नहुँदा अनुसन्धानमा बाधा परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

सरस्वती नगर निकै व्यस्त ठाउँ देखिन्छ । वरपर घर र पसल बाक्लै छन् । तर, त्यस्तो अवस्थामा कसरी ‘गुपचुप हत्या’ भयो भन्ने रहस्यमा छ । 

घटनाको अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले डिएसपी गोविन्द पन्थी र जिल्ला प्रहरी परिसर काठमाडौँले इन्स्पेक्टर राजन लामाको नेतृत्वमा टिम परिचालन गरेको छ । घटनास्थलमा कार्यक्षेत्र पर्ने प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेत पनि अनुसन्धानमा खटिएका छन् । तर, प्रहरी आरोपीसम्म पुग्न सकेको छैन । 

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार घटना स्थल वरपर देखिएका एकजना शंकास्पद व्यक्तिबारे अनुसन्धान केन्द्रित गरिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने,‘घटनास्थल देखिएका एकजना पुरुष व्यक्तिमाथि अनुसन्धान केन्द्रित गरेका छौ तर, उनको पहिचान खुल्न सकेको छैन ।’ 

दिनभर प्रदर्शन 

निराका आफन्त र कपनका स्थानीयले आइतबार दिनभर सरस्वतीनगरमा प्रदर्शन गरेका छन् । ‘हत्यारालाई पत्ता लगाऊ, पीडितलाई न्याय देऊ’ भन्ने प्लेकार्ड सहित पीडित पक्षले घटनास्थल अगाडी सडकमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शन गर्नेहरुले हत्यारालाई छिटो सार्वजनिक गर्न माग गरेका छन् । निरा बाग्लुङको बडीगार्ड गाउँपालिकाकी स्थानीय हुन् । हत्या हुनुभन्दा एक दिनअघि निराले लामखुट्टे मार्ने इलेक्ट्रिक ब्याट आफ्नो पसलमा उपलब्ध भएकोबारे भिडियो बनाएर टिकटक र फेसबुकमा पोष्ट गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप