निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान
काठमाडौँ । गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको संलग्न विनोद विक शनिवार साँझ झापाबाट पक्राउ परेपछि हत्याको उद्देश्य लुटपाट नै रहेको खुलेको हो ।
गत वैशाख ७ गते अपराह्न निराको हत्या उनकै पसलमा भएको थियो । धारिलो चक्कु प्रयोग गरी करिब २० पटक आक्रमण गरी निराको हत्या गरिएको थियो । हत्या भएको ९ दिनपछि शुक्रबार राति मात्रै आरोपीको पहिचान भएको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद भएको खुलेको थियो ।
त्यसलगत्तै प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौँस्थित कोठामा छापा मारी हत्यामा समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो । काठमाडौँबाट भागेर झापा पुगेका विकलाई प्रहरीले झापा नै पुगेर पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो । सोही समितिले शुक्रबारदेखि अनुसन्धान तीव्र पारेको थियो । घटनामा विनोदको संलग्नता रहेको आशङ्कापछि प्रहरीले विनोदको खोजी गरेको थियो । सोही क्रममा विनोदको डेरामा पुगेको प्रहरीले डेराबाट रगत लागेको कपडासमेत बरामद गरेको प्रहरी स्रोतको दाबी छ ।
विनोदको संलग्नता पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)का दुई डीएसपी विनोदको खोजीमा शनिवार अपराह्न झापा गएका थिए । शनिवार नै विनोदलाई झापामा रहेको साथीको कोठामा लुकिबसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
घटनाको छानबिन गरी दोषी पत्ता लगाउने जिम्मा पाएको समितिका एक सदस्यका अनुसार आरोपितले आफ्नो अपराध कबुल गरिसकेका छन् । हत्याको अन्य कुनै कारण नभएर लुटपाटको उद्देश्यमात्रै रहेको प्रारम्भिक बयान दिएको पनि समितिका एक सदस्यले रातोपाटीलाई बताए ।
आरोपित पहिले क्लबको बाउन्सर थिए
हत्यामा संलग्न भनी आरोपित गरिएका विक पहिले ठमेलको एक क्लबमा बाउन्सरको रूपमा काम गर्ने गरेको पत्ता लागेको छ । तर पछिल्लो समय उनी बेरोजगार रहेको र खर्चका लागि निराले घाँटीमा लगाएको सुनको सिक्री लगायत नगद लुटपाट गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा निराको हत्या नै गर्ने उद्देश्य नभए पनि लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि निराको हत्या गरी सुनको सिक्री लिएर भागेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले निराको सुनको सिक्री पनि बरामद गरिसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण