आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको बारेमा के छ जनमत पार्टीको योजना ?

मङ्गलबार, १९ वैशाख २०८०, १५ : ०१
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । संघीय सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाइसकेको जनमत पार्टी फेरि सरकारमा जाने तयारीमा छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले त्यसका लागि पार्टीभित्र र बाहिर परामर्श गर्न थालेका छन् ।

अध्यक्ष राउतले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । सरकारको विषयमा राउतले सत्ता गठबन्धन दलहरुसँग पनि छलफल गर्ने बताइएको छ ।

जनमत पार्टी यतिबेला सरकारमा जान तयार छ तर कुन मन्त्रालय पाउने भन्ने टुङ्गो छैन । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै दिन तयार रहेको बताए पनि सो पार्टी खानेपानी मन्त्रालय लिन तयार छैन ।

‘सरकारलाई दिएको समर्थन कायमै राखेका कारण हामीलाई सरकारमा सामेल हुन कुनै समस्या हुँदैन,’ जनमत पार्टीका एक नेताले भने, ‘खानेपानीबाहेक अरु जुनसुकै मन्त्रालय दिए हामी सरकारमा जान्छौं । खानेपानी मन्त्रालय चाहिएन भनेर छाडेको हुनाले फेरि त्यही मन्त्रालयमा जाँदा राम्रो सन्देश जाँदैन ।’

खानेपानी मन्त्रालयबाहेक अरु कुनै मन्त्रालय पाए आफूहरू सरकारमा सामेल हुन तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएका कुनै पनि दलले सरकारप्रतिको समर्थन फिर्ता नलियोस् भन्ने चाहेका छन् ।

सरकारबाट मन्त्री फिर्ता बोलाएका तर समर्थन कायम राखेका दल रास्वपा र जनमतलाई फेरि सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्री प्रचण्डले संवाद अघि बढाएका छन् ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले काम गर्ने मन्त्रालय पाए मात्र सरकारमा जाने बताए । उनले भने, ‘बारा–२ को उपनिर्वाचन सकेर काठमाडौँ फर्केका छौँ, अब सरकारको विषयमा छलफल हुन्छ ।’

केही दिनमै पार्टीमा छलफल गरेर सरकारको बारेमा निर्णय लिने उनले बताए । ‘जनमत पार्टी जनताका लागि काम गर्न आएको पार्टी हो, जनतालाई डेलिभरी दिन आएको पार्टी हो, यदि त्यही दिन सकिएन भने सरकारमा बसिरहनुको अर्थ रहँदैन,’ उनले भने ।

त्यसैले सरकारमा जानुभन्दा पहिले पार्टीमा बृहत् छलफल हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप