आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

अतिक्रमणको चपेटामा फिर्के खोला, अख्तियारमा उजुरी

मङ्गलबार, १९ वैशाख २०८०, १९ : ५२
मङ्गलबार, १९ वैशाख २०८०

पोखरा । पोखरा महानगरपालिका–१८ को अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला वडा नम्बर १७ र ६ को गौइघाटमा पुगेर फेवातालमा मिसिन्छ । पोखराको बीच भागबाट बग्ने फिर्केको लम्बाई करिब ८ किलोमिटर छ तर, चौडाइ भने निरन्तर घट्दै गएको छ ।

२४ मिटरसम्म फराकिलो यो खोला यतिबेला कतै देखिन्छ, कतै देखिँदैन । खोला नदेखिनुमा मुख्यकारण मानवीय अतिक्रमण नै हो । खोला आसपास र खोलामाथि समेत मानवीय अतिक्रमण देखिएको छ ।

फिर्के किनारदेखि दायाँबायाँ १० मिटरभित्र कुनै संरचना बनाउन पाइँदैन । तर, निरन्तर खोला अतिक्रमण गरेर संरचना बनाउने क्रम रोकिएको छैन ।

खोला आसपासमा व्यापार, व्यवसाय प्रयोजन र सुकुमबासी बस्ती बढेर अतिक्रमण परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको हो । अतिक्रमणको चपेटामा परेर दुर्गन्धित भएको भन्दै नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान तर्फबाट मंगलबार उजुरी परेको हो ।

समाजका संयोजक नरेन्द्रमान लालचन र महाअभियानका संयोजक रामबहादुर पौडेलले संयुक्त उजुरी दिएका हुन् । उनीहरुले अख्तियारको पोखरा कार्यालय प्रमुख बद्री कुमार कार्कीलाई पत्र बुझाएका हुन् ।

कार्यालय प्रमुख कार्कीले अतिक्रमणका विषयलाई आफ्नो कार्यालयले गम्भीर भएर हेरिरहेको बताए । ‘अतिक्रमण कसले गरेको छ भन्ने प्रमाण भए अझ सहज हुन्छ,’ उनले भने, ‘तपाईंहरुको  निरन्तर खबरदारीले हामीलाई थप सचेत र जिम्मेवारी बनाइरहेको छ ।’

उजुरीमा २०३२ सालको नक्साअनुसार फिर्केखोलाले चर्चेको झन्डै १५० रोपनी जग्गा विभिन्न व्यक्ति, शक्तिकेन्द्र, शिक्षण संस्था, सामाजिक संस्था लगायत जातीय संघ–संस्थाबाट निर्वाधरूपमा अतिक्रमण परेको उल्लेख छ ।

‘भोगचलन गरेकालाई आवश्यक कारबाहीका लागि पटक–पटक लिखित ध्यानाकर्षण गराउँदा समेत स्थानीय सरकार, स्थानीय प्रशासन लगायत सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएकाले अख्तियार कार्यालय पोखराको तर्फबाट गम्भीरतापूर्वक छानबिन गरियोस् भन्दै यो निवेदन पेस गरेका छौं,’ पत्रमा भनिएको छ ।

पत्रमा नागरिक समाज कास्कीको पहलमा विश्व वातावरण दिवसका अवसरमा खोलाको मुहानदेखि फेवाताल किनारसम्म सरसफाइ अभियान सञ्चालन गर्दै आएको उल्लेख छ ।

२०७३ जेठ २२ गतेदेखि असोज मसान्तसम्म तीन वटै सुरक्षा निकाय, तत्कालीन स्थानीय निकाय, विभिन्न संघ–संस्था, पोखरेली जनता, तत्कालीन उपमहानगर तथा स्थानीय प्रशासनको सहयोग र सहकार्यमा फिर्के– बुलोदीखोला सफाइ अभियान सञ्चालन गरिएको संयोजक पौडेलले बताए ।

‘सार्वजनिक सम्पत्ति दुरुपयोग गरेर बनाइएका संरचनालाई प्रोत्साहन होइन, दुरुत्साहन गर्नुपर्छ, भत्काउनुपर्छ,’ पौडेलले भने ।

खोला अतिक्रमण गरी केही संरचना बन्ने तरखरमा रहेको पनि खुलेको छ ।  हिउँद याममा सुक्खा हुने फिर्के बर्खामा उर्लिन्छ । बेला बेलामा आसपासका घर जलमग्न हुने गरेका छन् । प्राकृतिक बहाव छेकेर संरचना निर्माण गरिँदा वर्षामा ठूलो दुर्घटना हुने खतरासमेत रहेको संयोजक रामबहादुर पौडेलले बताए ।

अतिक्रमण नगर्न आग्रह गरे पनि उल्टै धम्की दिने गरेको जनप्रतिनिधि सुनाउँछन् । एक जनप्रतिनिधिले भने, ‘मापदण्ड मिच्नेहरुले के गर्न सक्छस् गर भन्ने चेतावनी दिन्छन् । कारबाहीमा पर्नुहोला, यस्तो मापदण्ड विपरीतका काम नगर्नू भनेकै छौं । यस्तो गर्दा पनि रातारात काम हुन्छ ।’

पोखरालाई कुरुप हुनबाट बचाउन र विपद्बाट जोगिन खोला अतिक्रमण रोक्नुपर्ने नागरिक समाजको माग छ । फिर्के दोहनले पोखरा प्रदूषित हुँदै गएको पौडेलले सुनाए । उनले भने, ‘पोखरा निरन्तर राम्रो बनाउन खोला दोहन रोक्नुपर्छ ।’

पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफूहरुको कार्यकाल अघिदेखि नै खोला अतिक्रमण भएको बताए । बरालले भने, ‘खोला आसपासमा अनुमति बेगर संरचना ठडिएका छन् । केही हामी निर्वाचित हुनु अघिदेखिकै छन्, हामीले निरन्तर खबरदारी र रेखदेख गर्दै आएका छौं ।’

पोखरा महानगरले फिर्के किनारामा फुट ट्रयाक बनाउने योजना बनाए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । फुट ट्रयाकसँगै साइकल ट्रयाकसमेत बनाउने महानगरको दीर्घकालीन योजना कागजमै सीमित छ ।

महानगरका प्रवक्ता मोती तिमिल्सिनाका अनुसार फिर्के खोलाको उपल्लो तटीय क्षेत्र अँधेरीकुनामा मापदण्ड विपरीत निर्माण भइरहेको पक्की पर्खालमाथि डोजर लगाइएको छ । महानगरले पोखरा–४ मा पनि डोजर लगाएको उनको भनाइ छ । ‘खोला अतिक्रमण गर्नेमाथि हामी निर्मम भएर लाग्छौं । अतिक्रमण रोक्न हाम्रो ध्यान केन्द्रित छ,’ उनले भने ।

महानगरले आउँदो कार्यपालिका बैठकमा फिर्के खोला लगायतको मापदण्ड तोक्ने तयारी गरेको उनको भनाइ छ । ‘अहिले खोलादेखि दायाँबायाँ १०/१० मिटर मापदण्ड छ । यो विज्ञ टोलीले दिएको सुझाव अनुसार आउँदो बैठकले मापदण्ड तोकेर जान्छ । अतिक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउँछ,’ उनले भने । 

ujuri

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप