बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

मङ्गलबार, ०३ असार २०८२, १६ : ०५
मङ्गलबार, ०३ असार २०८२

म्याग्दी । यहाँको बेनी नगरपालिका वडा नम्बर १ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा वि.सं.१९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । 

उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौँको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए । 

“कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पुर्‍याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौँ ।”

चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको योजनाबाट दुई वटा च्याम्बर र १२५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताए । 

उनका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा आजदेखि १६८ मिटर लामो २५० मिलिलिटर क्षमताको पाइप जडान गर्न थालिएको छ । 

यसअघि वि.सं. २०५१/५२ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत मर्मत भएको नहर जीर्ण बनेको थियो । बेनी नगरपालिका र स्थानीयवासीको साझेदारीमा मुहान निर्माण भएको छ । 

यो योजनाबाट १८० कृषकको २१९ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापामगरले बताए । आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले रु ५० लाख लागत अनुमानसहित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ ।

थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समिति सदस्य थापाले बताउनुभयो । सिँचाइ सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यावसायिक बेमौसमी तरकारी खेती गरेर आयआर्जन गर्न सकिने उहाँको भनाइ छ । 

महत्त्वपूर्ण र आवश्यक योजना भएकाले जनप्रतिनिधिहरूसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप