शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीले मेस्सीको करार नवीकरण नगर्ने

बुधबार, २० वैशाख २०८०, १५ : ११
बुधबार, २० वैशाख २०८०

पेरिस । क्लबलाई जानकारी नदिई साउदी अरब पुगेपछि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सीको करार नवीकरण नगर्ने भएको छ । आइतबार लोरेन्टविरुद्ध ३–१ को अप्रत्यासित हारपछि ३५ वर्षीय खेलाडी साउदी पुगेका थिए । 

मेस्सी पयर्टन दूतका रूपमा आफ्नो जिम्मेवारी पुरा गर्न त्यहाँ पुगेको अनुमान गरिएको थियो । तर मंगलबार उनी क्लबको अनुमति बिना नै त्यहाँ पुगेको खुलासा भएको थियो । यसका लागि क्लबले उनलाई दुई हप्ताका लागि बेतलबी रूपमा निलम्बन गर्ने निर्णय गरिसकेको छ ।

तर एल’एक्युप पत्रिकाले भने मेस्सीले यो घटनाका लागि थप मूल्य चुकाउनु पर्ने देखिएको उल्लेख गरेको छ । पीएसजीले यो सिजनको अन्त्यपछि उनको करार नवीकरण नगर्ने निर्णय गरेको पत्रिकाको दाबी छ । 

अर्जेन्टिनी खेलाडीको करार यो सिजनको अन्त्यमा समाप्त हुँदैछ । क्लबसँग थप एक वर्षका लागि उनको करार थप गर्ने सुविधा रहेको थियो । हुन त क्लबका केही शीर्ष अधिकारीहरू यसअघि नै मेस्सीको करार नवीकरण नगर्ने पक्षमा रहेका थिए । तैपनि उनको करार नवीकरणका लागि क्लबले मेस्सीसँग छलफल जारी राखेको थियो । साउदीको भ्रमणपछि भने मेस्सीले यो सिजनको अन्त्यमा क्लब छाड्ने पक्का पक्की भएको बताइएको छ ।

दुई हप्ताको निलम्बनपछि अब मेस्सीले पीएसजीको खेलाडीका रूपमा तीन खेल मात्र खेल्न पाउनेछन् । यो समाचार मेस्सीलाई पुनः अनुबन्ध गर्ने प्रयास बार्सिलोनाका लागि सुखद् हुनसक्छ । तर, उनलाई अनुबन्ध गर्नका लागि बार्सिलोना आर्थिक संकटमा रहेको छ । बार्साबाहेक एमएलएस टोली इन्टर मियामी र साउदी क्लब अल–हिलालले पनि मेस्सीलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप