बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जथाभाबी बोल्ने र लेख्ने नेतालाई एकीकृत समाजवादीले कारबाही गर्ने

आइतबार, २४ वैशाख २०८०, १७ : २७
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय अनुशासन आयोगले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले पार्टीको सिद्धान्त, आचरण र पार्टी विधानको विपरीत हुने गरी सञ्चार माध्यमहरू र सामाजिक सञ्जालमा अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको छ ।

केही नेताहरूले गैह्रजिम्मेवारीपूर्ण अभिव्यक्तिहरू दिएको र तिनै कुराहरूलाई प्रतिगामी तत्त्वहरूले उछालिरहेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अध्यक्ष शिव बहादुर देउजाले जारी गरेको विज्ञप्तिमा आफ्ना फरक मत र विचारहरूलाई पार्टीको आफू संगठित रहेको कमिटीको बैठकमा राख्ने, छलफल र बहस चलाउन समितिले आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एउटा जीवन्त र क्रियाशील पार्टीमा आफ्ना फरक मतहरू हुन सक्छन् । आफ्ना फरक मत र विचारहरूलाई पार्टीको आफू संगठित रहेको कमिटीको बैठकमा राख्ने, छलफल र बहस चलाउने र त्यहाँबाट टुङ्गिएको निर्णयलाई इमानदारीपूर्वक पार्टी निर्णयको रूपमा कार्यकर्ता तथा जनतासम्म पुऱ्याउने कम्युनिष्ट पार्टीको सर्वमान्य लेनिनवादी साङ्गठनिक सिद्धान्त स्थापित नै छ । यही विधि र पद्धतिलाई कडाइका साथ पालन गर्न गराउनु माथिल्लो कमिटीदेखि तल्लो कमिटीसम्मका सबै नेताहरूको महत्त्वपूर्ण जिम्मेवारी हुन्छ ।‘

यसलाई गम्भीरतापूर्वक नलिई पार्टी विधान विपरीत आफ्ना अभिव्यक्ति र क्रियाकलापहरू कसैले पनि गर्न नपाइने विज्ञप्तिमा भनिएको छ। ‘यसलाई अटेर र बेवास्ता गर्ने प्रवृत्तिले पार्टी नै कमजोर हुने हुँदा आगामी दिनहरूमा आफ्ना कमी कमजोरीहरूलाई सुधार्नका लागि सचेत गराइन्छ । अन्यथा पार्टी विधान अनुरूप आवश्यक कार्यबाहीको अघि बढाइने कुरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ ।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप